कर्णाली चिनाउने ५५ तस्बिर एकै ठाउँमा

सुर्खेत,
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली चिनाउने तस्बिर प्रदर्शनी गरिएको छ । कर्णाली प्रदेशको भाषा, कला, साहित्यलगायतका विभिन्न धार्मिक प्राकृतिक सम्पदाहरुको फोटो प्रदर्शनी गरिएको हो ।
सुर्खेत लाईन्स क्लव ईन्टरनेशनल डिस्टीक ३२५ वि २ को आयोजनामा पत्रकार भरतबन्धु थापाले नौ बर्षको अवधीमा खिचेका कर्णालीका विभिन्न सम्पदा झल्काउने ५५ वटा तस्बिरहरु प्रदर्शनीमा राखिएको छ ।
प्रर्दशनीमा विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती द्यो, नेपालको सबैभन्दा ठूलो ताल रारा, नेपालको सबैभन्दा गहिरो ताल से–फोक्सुण्डो, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दैलेखको दामुपालको अभिलेख, नेपाली भाषाको उद्गम थलो जुम्ला, नेपालको सबै भन्दा उचाईमा रहेको सदरमुकाम हुम्लाको सिमीकोटको खलंगा बजार, लोपोन्मुख अवस्थामा रहेको जाजरकोटको खुडा नाच तथा राउटेका साथै कर्णालीका विभिन्न पर्यटकीय स्थलहरुको तस्बिर छन् ।
दोस्रो लुम्बिनीका रुपमा परिचित सुर्खेतको काँक्रेविहार, कर्णाली प्रदेशको शक्तिका रुपमा पुजा गरीने देउती बज्यै मन्दिरलगायत कर्णाली प्रदेशका सबै जिल्लाको कला, संस्कृति झल्किने तस्बिरहरु प्रदर्शनीमा राखिएको बताइएको छ । पत्रकार थापाले यस अघि भक्तपुर, काठमाण्डौ, नेपालगन्ज, धनगढी , कास्की र सुर्खेत गरी नौ पटक फोटो प्रर्दशनी गरिसकेका छन् भने थापाले पश्चिम नेपालका पर्यटकीय स्थलहरुको फोटो किताब समेत प्रकाशन गरेका छन् ।
कर्णालीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरु, हिमाल तथा जैविक विविधताले भरीपूर्ण छ । कर्णालीको बिशेषतालाई उजागर गर्न फोटो प्रदर्शनी गरिएको पत्रकार थापाले बताए । शनिबार प्रदर्शन गरिएको फोटो झण्डै एक हजार बढीले अवलोकन गरेको आयोजकले बताए ।










