नेकपाको आयोजनामा राजनीतिक जमघट

काठमाडौं,
नेपाल कम्युनिस्ट पार्टी नेकपाले ठूला चाडपर्वका अवसरमा शनिबार चियापान कार्यक्रम गर्यो । भृकुटीमण्डपमा भएको चियापानमा नेकपाका नेता–कार्यकर्ता, कूटनीतिक नियोगका अधिकारी, सरकारी उच्च अधिकारीदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरूसम्म सहभागी भए ।
कार्यक्रमको अन्तिमतिर पुगेको देउवा ५ मिनेटजति मात्रै कार्यक्रमस्थलमा बसेका थिए । केहीबेर नेताहरूसँग गफगाफ गर्दै कालो चिया पिएर उनी फर्किएका थिए । चियापान शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले मुलुकको समृद्धि र समाजवादको तयारीका निम्ति सांस्कृतिक पर्वहरूको विशेष महत्व रहेको बताए ।

राष्ट्रिय पर्वहरूमा आयोजना गरिने चियापान जमघटले उज्यालो भविष्यको सन्देश दिएकासमेत बताए । मध्यान्ह १२ बजेबाट सुरु भएको चियापान साँझ ५ बजेसम्म चलेको थियो । भृकुटीमण्डपको चियापानका लागि सर्बसाधारण र सो पार्टीका नेता–कार्यकर्ता पद्यमोदय मोडदेखि लाईन बसेका थिए ।
चियापानमा प्रमुख प्रतिपक्षी कांग्रेसबाट सभापति देउवासहित नेताहरू गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी सहभागी भए । कांग्रेसका दोस्रो पुस्ताका अधिकांश नेता उपस्थ्ति थिएनन् । त्यस्तै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष पशुपति समशेर राणा, संघीय समाजवादी फोरमबाट नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुर केहीबेरमात्रै चियापानमा रहे । उपप्रधानमन्त्रीसमेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादव भने उपस्थित थिएनन् । नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले भने फजुल खर्च भएको कार्यक्रममा सहभागी नहुने भन्दै चियापान बहिस्कार गरे ।
चियापानमै प्रचण्ड–नेपाल ठट्टा
बैठक कहिले बस्छ कार्यक्रम मिलाउनुपर्ने हुन्छ नेपाल
फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो प्रचण्ड
चियापानकै क्रममा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच राजनीतिक ठट्टा चल्यो । आगन्तुकलाई स्वागत गर्नमै व्यस्त रहेका प्रचण्ड र नेपालले केहीबेर पार्टीको केन्द्रीय सचिवालय र स्थायी समिति बैठकबारे छलफल गरे । छलफलकै क्रममा ठट्टा चल्यो । ‘सचिवालय र स्थायी समितिको बैठक बस्छ कि बस्दैन, के भइरहेको छ
नत्र मैले पूर्वनिर्धारित कार्यक्रमहरूको सेड्युल हेरेर मिलाउनुपर्ने हुन्छ’, नेपालले प्रचण्डसँग जिज्ञाशा राखे । ठट्टा गर्दै प्रचण्डले व्यंग्यात्मक जवाफ फर्काए, ‘होइन, तपाईं फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो प्रचण्डको ठट्टालार्य सहज रुपमा लिंदै नेपालले फेरि भने, ‘विदेश नै जानुपर्छ भन्ने छैन, स्वदेशमै पनि थुप्रै कार्यक्रम हुन्छन् । सेड्युल मिलाउन सजिलोका लागि सोधेको हुँ ।’
उनले १२ र १३ कात्तिकका लागि तोकिएको स्थायी समिति बैठक नबस्ने भए बाराको निजगढस्थित अन्तर्राष्ट्रिय बिमानस्थलको ‘फिल्ड भिजिट’ जाने योजना रहेको प्रचण्डलाई सुनाएका छन् । जवाफमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाअनुसार बैठकबारे निश्चित हुनसक्ने जवाफ फिर्काए ।
यसअघि नेता नेपाल विदेश भ्रमणमा रहेका बेला ५ असोजमा पार्टी केन्द्रीय सचिवालय बैठकले गरेको एकतासम्बन्धि निर्णयमा विवाद भएको छ । नेपालले उक्त निर्णयमा फरक मत राख्दै आएका छन् । त्यसैतर्फ इंगित गर्दै प्रचण्डले ठट्टा गर्दै व्यंग्य गरेका हुन् ।

अस्वस्थ भएपछि प्रधानमन्त्री अनुपस्थित
अस्वस्थ भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने चियापानमा उपस्थित हुन सकेनन् । शुक्रबारबाट रुघाखोकी लागेका प्रधानमन्त्रीलाई चिकित्सक भिडभाडमा नगई आराम गर्न सुझाव दिएकाले चियापानमा उपस्थित नभएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य इश्व पोखरेल र अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पनि चियापानमा उपस्थित थिएनन् । पोखरेल र श्रेष्ठ चीन भ्रमणमा छन् । सचिवालयका अन्य ६ सदस्य उपस्थित भए ।
भीआईपीलाई स्याण्डवीच, सर्बसाधरणलाई निम्की र केरा
नेकपाको चियापानमा आगन्तुकहरूका लागि दुईखाले मेन्यु राखिएको थियो । सर्बसाधरणका लागि चिया, निम्की, लड्डु र केराको व्यवस्था थियो । भिआईपीहरूका लागि भने बटरसहितको स्याण्डवीच, कचौरी, मिठाई, कफी र चियाको बन्दोबस्त थियो ।
नेपाली पाहुनलाई भारतीय नेता यचुरीको स्वागत
नेकपाले बोलाएको नेपाली पाहुनाहरूलाई स्वागत गर्न भृकुटिमण्डपमा भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरी सक्रिय देखिन्थे । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको बीचमा उभिएर यचुरीले झण्डै पौने घण्टा नेपाली पाहुनाहरूलाई स्वागत गरे । नेता नेपालले यचुरीलाई मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानसेनापती रुक्मांगद कटुवाललगायतसँग परिचय गराएका थिए ।

सहमति सत्ता पक्षको हातमा देउवा
चियापानको अन्त्यतिर प्रचण्डले कांग्रेस सभापति देउवालाई मिडियामार्फत् देशका नाममा केही बोलेर सन्देश दिन आग्रह गरेका थिए । तर, उनी बोलेनन् । पछि सञ्चारकर्मीको जिज्ञाशामा भने देउवाले जवाफ दिएका छन् । उनले संविधानसँग बाझिएका कानुन फागुनसम्म संशोधन गरिसक्नुपर्ने अवस्था रहेको र सहमति गर्नेरनगर्ने सत्ता पक्षको हातमा रहेको बताए ।
‘हामी तयार छौं, तर सहमति गर्ने कि नगर्ने कुरा सत्ता पक्षको हातमा छ,’ उनले भने । चियापानको अन्तिमतिर पुगेका देउवा ५ मिनेट मात्र कार्यक्रमस्थलमा बसेका थिए । कालो चिया खाँदै उनले केहीबेर अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग संक्षिप्त कुराकानी गरेका थिए ।
असन्तुष्टको बहिष्कार अपिलले होहल्ला
चियापान सुरु भएको करिब एक घण्टापछि नेकपाको असन्तुष्ट समुहको नाममा बाडिएको अपिलले कार्यक्रममा केहीबेर होहल्ला निम्त्यायो । चियापान स्थलमा छिरेर २,४ जनाको समूहले ५ बुँदे मागसहित चियापान बहिष्कार गर्न आग्रह गर्दै अपिल बाँडेका थिए ।
अपिलमा कसैको हस्ताक्षर नभए पनि नेपाल कम्युनिष्ट पार्टी नेकपा असन्तुष्ट समूह केन्द्रीय प्रचार विभाग लेखिएको छ । अपिलमा तत्कालीन एमाले र माओवादीबीच ५०्५० को सिद्दान्तअनुसार एकता हुनुपर्ने, विप्लवसहित अन्य साना सबै कम्युनिष्ट समूहलाई एकतामा ल्याउनुपर्नेलगायत माग छन् । अपिल बाँड्ने दुईजनालाई नेकपाका स्वयंसेवकले समाएर प्रहरीको जिम्मा लगाएका थिए ।










