अब रारामा आन्तरिक पर्यटकलाई पनि शुल्क

कालिकोट ,यस अघि विदेशी पर्यटकहरुबाट मात्र शुल्क लिने गरिएको रारा तालमा कार्तिक ६ देखि आन्तरिक पर्यटकलाई पनि शुल्क लाग्ने भएको छ ।
रारा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख यज्ञराज रोकायाका अनुसार निकुञ्ज कार्यालयले कार्तिक ५ गतेसम्म बाह्य पर्यटकबाट शुल्क लिने गरेको भएपनि ६ गतेबाट आन्तरिक पर्यटकलाई शुल्क लिन थालिएको बताए ।
नेपालीले रारा भ्रमण गर्दा प्रतिब्यक्ति एक सय रुपैयाँ तिर्नु पर्ने र विदेशीले प्रतिव्यक्ति तीन हजार शुल्क तिर्नुपर्ने छ । सार्क राष्ट्रका पर्यटकलाई एक हजार पाँच सय शुल्क लाग्नेछ ।
साथै, निकुञ्ज क्षेत्र भित्र हेलिकोप्टरको प्रतिअवतरण तीन हजार, चारपांग्रे गाडीले पाँच सय र मोटरसाइकलले दुई सय रुपैयाँ शुल्क छायाँनाथ रारा नगरपालिकालाई तिर्नुपर्ने छ ।
निकुञ्ज कार्यालयका अनुसार जुम्लाको बुलबुलेमा, मुगुको सल्लेरीमा र लामाचौरमा निकुञ्ज कार्यालयबाट शुल्क उठाउने भएको हो ।










