बिजनेस नपाउँदा कर्णाली संसद् अनिश्चित

सुर्खेत,
प्रदेश सभा तीन महिनादेखि बस्न सकेको छैन । सरकारले आवश्यक ‘बिजनेस’ नदिँदा प्रदेश सभा बस्न नसकेको जनाएको छ ।
कर्णाली प्रदेश सभा बैठक २५ साउनमा बसेको थियो । बिजनेस नहुँदा स्थगित गरिएको थियो । त्यसपछि दुई महिनासम्म प्रदेश सभाले बिजनेस पाएन । २४ असोजमा बोलाइएको बैठक पनि कांग्रेसले अवरोध गर्ने जनाएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
लामो समय स्थगित भएको प्रदेश सभा बैठक ११ कात्तिकमा बोलाइएको सभामुख राजबहादुर शाहीले बताए । विविध कारणले तीन महिनामा प्रदेश सभा बैठक बस्न नसकेपछि ११ कात्तिकमा बैठक बस्ने शाहीको भनाइ छ ।
‘सरकारले प्रतिपक्षीको मागबमोजिम मन्त्रालयको योजना पुस्तिका छापेको जानकारी आएको छ । प्रतिपक्षीका माग सरकारबाट सम्बोधन हुने र संसद् सुचारु हुनेमा म विश्वस्त छु,’ सभामुख शाहीले भने।
११ कात्तिकमा संसद् बैठक बोलाए पनि बिजनेस नभएको जनाएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले संसद्लाई बिजनेस दिन नसकेको बताए । ‘सरकारले संसद्लाई बिजनेस दिन सकेको छैन । बजेटको रातो किताब पनि ल्याउन सकेको छैन,’ शाहीले भने ।
के हो कांग्रेसको माग?
कांग्रेसले विरोध गर्ने जनाएपछि गत २४ असोजमा बोलाएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । कांग्रेसले रातो किताब प्रकाशन गर्न माग गरेको छ । बजेट एकमुष्ट मात्रै भएकाले टुक्र्याउनुपर्ने उसको माग छ । चालू आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा पनि प्रदेश सरकारले रातो किताब नल्याएको जनाउँदै कांग्रेसले विरोध गरेको थियो ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले माग पूरा भए संसद्मा विरोध नगरिने बताए । बहुमतको दम्भ देखाएर स्वैच्छाचारी बन्न खोजेकाले संसद् अवरुद्ध गरिएको उनको भनाइ छ ।










