मंगलसेनमा ट्रयाक्टर दुर्घटना,एकको मृत्यु, ३७ घाइते

अछाम,
अछामको मंगलसेनमा ट्रयाक्टर दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा मंगलसेन–४ नागातोलाकी ३५ वर्षीया मैनादेबी केसी रहेकी छिन् ।
बान्नीगडी जयगढ गाउँपालिका ४ तिमिल्सैन स्थित बरदादेबी मन्दिरमा मेला हेर्न जान स्थानीयहरु ट्रयाक्टर चढेका चढेका थिए ।
जयगढ तर्फ जाँदै गरेको लु १ त ५१०१ नम्बरको ट्रयाक्टर बुधबार अनियन्त्रित भएर दुर्घटना भएको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए । उनका अनुसार मंगलसेन–कैलासखोला सडक खण्ड अन्र्तगत पर्ने डाडाघर भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा केसीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते मध्ये मंगलसेन ४ की १४ वर्षकी कमला केसी र १७ वर्षकी पवित्रा केसीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको बयलपाटा अस्पतालका चिकित्सा शिक्षा निर्देशक विकास गौचनले बताए । दुर्घटनामा घाइते भएका २७ जनाको बयलपाटा अस्पताल र १० जनाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको डीएसपी शाहीले बताए ।
चालकले ट्रयाक्टरमा नचढ्न भन्दापनि जवरजस्ती ट्रयाटरमा चढ्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रयाटरमा क्षमताभन्दा धेरै भार भएका कारण ओरालोमा धान्न नसकेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात फरार रहेका ट्रयाटर चालक हेमराज केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










