रुकुम पश्चिममा बाढी पहिरो पीडितलाई साढे ११ लाख बराबरको राहत वितरण

रुकुम।पश्चिमको आठबीसकोट नगरपालिकाका बाढि, पहिरो पीडितलाई राहत वितरण गरिएको छ । नगरपालिकाको पहलमा एक गैरसरकारी संस्थाले नगरपालिकाका दुई सय २८ घर परिवारलाई पाँच हजारका दरले राहत वितरण गरेको हो ।

नेपाल ख्रीष्टिय राहत सेवा भनीमण्डल ललितपुरले अन्तराष्ट्रिय गैर सरकारी संस्था सामरिटन पर्स क्यानडाको समन्वयमा खाद्यान्न सामाग्रीहरु वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका जनप्रनिधि र कर्मचारीको रोहबरमा प्रतिपरिवार २५ केजी चामल, तीन केजी दाल, एक लिटर तेल, एक केजी नुन, एउटा म्याट्रेस, एउटा ब्ल्यांकेट, एउटा झुल, एउटा त्रिपाल र ३१ परिवारलाई एक÷एक बण्डल जस्तापाता बाँढिएको हो । नेपाल ख्रीष्टिय राहत सेवा भनीमण्डल ललितपुरकी रोमी केसी र नगर प्रमुख गोर्खबहादुर केसी लगायतले राहात सामाग्री वितरण गरेका थिए ।

गत २७ साउनदेखि ४ भदौसम्म भएको अविरल बर्षाको कारण आएको बाढि, पहिरो र भू–क्षयबाट नगरपालिकाका विभिन्न ठाउँमा ६ करोड बराबरको क्षति भएको थियो । क्षतिको विवरण संकलनका लागि नगरपालिकाले निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय प्राकृतिक प्रकोप पीडित छानविन समितिले घर, खेत, घट्टसहितका अन्य संरचनामा गरी ६ करोड बराबरको क्षति भएको प्रतिवेदन तयार पारेको छ ।

नगरपालिकाका ३१ परिवार पूर्ण रुपमा विस्थापित भएका थिए भने अन्य परिवार आंशिक रुपमा प्रभावित भएका थिए । समितिले नगरपालिकाका सबै वडामा क्षति भएको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी वडा नम्बर ११ मा क्षति पुगेको छ । उक्त वडामा मात्र १७ घर परिवार बाढि, पहिरो र भु–क्षयका कारण पूर्णरुपमा बिस्थापित भएका थिए । पूर्ण रुपमा विस्थापित भएका कुनैपनि घर परिवार अझै पुर्नस्थापित हुन सकेका छैनन् ।




सम्बन्धित समाचार


error: Content is protected !!