शिक्षकहरु परीक्षा दिन गएपछि वडाध्यक्षले गरे यस्तो प्रशंसनीय काम

जाजरकोट । जाजरकोटका एक वडाध्यक्षले विद्यालय पढाउन थालेका छन् । उनले शिक्षकको तलव खाने गरी वा वडाध्यक्षबाट राजीनामा दिएर शिक्षणमा लागेका होइनन् ।

विद्यालयमा कार्यरत शिक्षकहरु शिक्षक सेवा आयोगको परीक्षा दिन गएपछि विद्यार्थीको पढाई प्रभावित नहोस् भनेर कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपालीले पढाउन शुरु गरेका हुन् । विद्यालयमा कार्यरत शिक्षकहरु परीक्षा दिएर नआउन्जेलसम्म पढाउने नेपालीले बताए ।

उनले आफ्नै वडामा रहेको तपोधेनु माध्यामिक विद्यालय प्रस्तावित काफलपाटामा पढाइरहेका छन् । उनले आफूसहित गाउँमा रहेका शिक्षित युवाहरुलाई समेत पढाउन लगाएका छन् । पढाईसँगै अतिरिक्त क्रियाकलाप पनि गराइएको वडाध्यक्ष नेपालीले  जानकारी दिए ।

 

तपोधेनुको प्रावि तहमा १ जना राहतसहित ३ शिक्षक कार्यरत छन् । आधारभूत तहमा अंग्रेजी विषयको एक जना शिक्षक कार्यरत छन् । विद्यालयमा नीजि स्रोतबाट २ र अनुदानमा १ जना शिक्षक कार्यरत छन् । हाल गाउँपालिकाबाट आधारभू तहमा २, यसैगरी, मावि तहमा १ वटा दरबन्दी सिर्जना गरिएको वडाध्यक्ष नेपालीले बताए ।

अहिले विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये प्रावि तहका १ र बाल विकास कार्यकर्ता १ जनाबाहेक सबै शिक्षक सेवा आयोगको परीक्षा दिन गएका छन् । विद्यार्थीको पढाईमा असर नपुगोस् भनेर आफूले पढाएको वडाध्यक्ष नेपालीले बताए । राजनीतिमा आउनुपूर्व नेपालीले केही समय शिक्षण समेत गरेका थिए । तत्कालीन एमालेबाट निर्वाचित उनी स्नातकोत्तर पास हुन् ।





error: Content is protected !!