युद्ध कविता सुन्दा रोए दर्शक–श्रोता

लण्डन–नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले वर्षेनी आयोजना गर्दै आएको लोकप्रिय कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को एघारौँँ संस्करणमा युद्धसाहित्यका परिकल्पनाकार, आख्यानकार तथा कवि गणेश राई आफ्ना एक दर्जन युद्ध कवितासहित प्रस्तुत भए ।

पूर्वी नेपालको खोटाङ स्थायी घर भई हाल लन्डनमा बस्दैआएका राईले युद्धसाहित्यबारे संक्षेपमा प्रकाश पारिसकेपछि कविता लेखनबारे आफ्नो धारणा सहित कविता वाचन आरम्भ गरे ।

२२ सेप्टेम्बरमा लन्डन नजिकै हाईवेकमको क्लिनउड कम्युनिटी हाउसमा आयोजित भव्य समारोहमा कवि राईले आफ्ना युद्धसम्बन्धी कविता सुनाउँदा श्रोता तथा दर्शक भावुक बने ।

घरिघरी उत्तेजित पनि भए । ‘राईफलले फलाकेको जिन्दगी’ नामक युद्ध कवितासहित छ वटा कृतिका सर्जक समेत रहेका पूर्व ब्रिटिस गोर्खा सैनिक समेत रहेका राईका कविता सुनेपछि कार्यक्रमका प्रमुख अतिथि बीबीसी नेपाली सेवा युकेका पूर्व प्रमुख खगेन्द्र नेपालीले राईका कविता सुनेपछि आफू स्क्रिप्ट हराएको रेडियो प्रस्तोताजस्तो भएको प्रतिकृया दिए ।

युद्धकवि राईद्वारा वाचित कवितामाथि प्रतिष्ठानका संरक्षक, डायास्पोरा सिद्धान्तकार, कवि तथा आख्यानकार रक्ष राईले समिक्षा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष दयाकृष्ण राई, उपाध्यक्ष टंक वनेम, कोषाध्यक्ष देवेन्द्र खेरेस र सहसचिव अञ्जु अञ्जलीले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा जानु काम्बाङ लिम्बू, भावना परिष्कृत सुनुवार, अग्निप्रसाद लिम्बू, दीपक लिम्बू र उमाकान्त गुरुङलाई प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिएको थियो ।

प्रतिष्ठानका महासचिव मिजास तेम्बेका अनुसार बेलायतमा रहेका नेपाली स्रष्टाहरूको सम्मान र उनीहरूका सिर्जनाहरूको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००८ देखि सुरु गरिएको ‘अभिव्यक्ति शृङ्खला’मा यसअघि गायक तथा सङ्गीतकार चोक गुरुङ, कवि दयाकृष्ण राई, कवि टंक वनेम, सङ्गीतज्ञ किशोर गुरुङ, गजलकार अञ्जु अञ्जली, गायक तथा सङ्गीतकार नोर्देन तेन्जिङ भुटिया, कवि तथा गीतकार शशी थापा सुब्बा, कवि रक्ष राई, गीतकार निर्मला परिवेश राई र कवि डा। रूपक श्रेष्ठ प्रस्तुत भइसकेका छन् ।

तीन चरणमा सम्पन्न कार्यक्रममा बेलायत भ्रमणमा रहेका कवि मदन राई ‘लामाखुले’ले नेपाली साहित्यमा बेलायतमा रहेका नेपाली भाषी साहित्यकारको उल्लेखनीय योगदान रहेको उल्लेख गरे । कार्यक्रममा डा। रुपक श्रेष्ठ, भावना परिष्कृत सुनुवार, चोक गुरुङ, भगवान चाम्लिङ, जानु काम्बाङ लिम्बू र सेमन्त राईले आ–आफ्ना रचना सुनाएका थिए ।

रातोपाटी साभार

 

 




सम्बन्धित समाचार


error: Content is protected !!