आठबीसकोट नगर अस्पतालको सेवा सुरु

रुकुमपश्चिमको आठबीसकोट नगर अस्पतालले आइतबारबाट सेवा सुरु गरेको छ । आठबीसकोट नगरपालिकाले राडिबजारमा संचालनमा ल्याएको २५ शैयाको नगर अस्पतालले विभिन्न सेवाहरु प्रवाह गर्न सुरु गरेको हो ।

नगर प्रमुख गोर्खवहादुर केसीका अनुसार पहिलो दिन १ सय १६ जना विरामिले सेवा लिएका छन् । अस्पतालबाट एक्सरे, अल्ट्रासाउण्ड, ल्याब टेस्ट, फार्मेसी, इसिजि, प्रसुति, एम्बुलेन्स सेवाहरु प्रवाह भैरहेको उनले बताए ।

नगरको आग्रहमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस चिकित्सक अस्पतालमा पठाएको छ । नगरले दुई जना हेल्थ असिष्टेन्ट, दुई जना स्टाफ नर्स, दुई जना अहेव, पाँच जना अनमी, ल्याब टेक्निसियन र ल्याब असिष्टेन्ट एक÷एक जना, रेडियो ग्राफर एक जना, रिसेप्सनिष्ट दुई जना र स्विपर चार जना गरी २० जना स्वास्थ्यकर्मी तथा कर्मचारी नियुक्त गरिएको हो ।

जिल्लाकै ठुलो अस्पताल
आठबीसकोट नगर अस्पताल जिल्लाकै ठुलो हो । सदरमुकाम मुसीकोटमा रहेको जिल्ला अस्पताल मात्र १५ शैंयाको छ । स्थानीय सरकार संचालन ऐनले नगरपालिकाले २५ शैंया सम्मको अस्पताल संचालन गर्न पाउने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार अस्पताल खोलेको नगरपालिकाले जनाएको छ । अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म एक करोड बढी खर्च गरेको छ । विशेष गरी औषधि तथा सामाग्री खरिदका लागि यो रकम खर्च गरिएको हो ।

२० लाखमा ल्याबका सामाग्री, ६ लाखमा बेड र अन्य सामाग्रीका लागि ६० लाख खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीले जानकारी दिए । उनका अनुसार भौतिक व्यवस्थापनका लागि २० लाख खर्च भएको छ ।

अस्पतालको भवन भने निर्माण हुन बाँकी छ । हाल भवनको डिपिआरको काम भैरहेको बताईएको छ । हाल अस्पतालका लागि साविकको स्वास्थ्य चौकी र एक बिद्यालयलाई प्रयोग गरिएको छ ।

तीन नगरपालिका र तीन गाउँपालिका मध्येमा सबैभन्दा दुर्गममा रहेको यस नगरपालिकाले अस्पताल संचालनमा ल्याएपछि नागरिकहरुले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन् । यसअघि नजिकमा भरपर्दो स्वास्थ्य संस्था थिएन ।




सम्बन्धित समाचार


error: Content is protected !!