डोल्पाका दुई पुराना बिद्यालय डिजिटल बन्दै

बि पी डोल्पाली
१ असोज
हिमाली जिल्ला डोल्पाका दुई ओटा पुराना बिद्यालय डिजिटल बिद्यालयको रुपमा संचालन हुने भएका छन ।
जिल्लाकै पुरानो बिद्यालय त्रिपुरा माद्यमिक बिद्यालय काईगाउँ र सरस्वती नमुना माद्यमिक बिद्यालय दुनै लामो समयपछि डिजिटल बिद्यालयको रुपमा संचालन हुने भएका हुन ।
कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेशको अबधारणा अनुरुप पहिलो चरणमा प्रदेश अन्तरगतका केहि बिद्यालय डिजिटल बनाउने निर्णय गरे संगै डोल्पाका दुई पुराना बिद्यालय डिजिटल बन्ने भएका हुन ।
कर्णाली प्रदेश सरकारले प्रदेश अन्तरगतका २४ ओटा बिद्यालय छनौट गरेर डिजिटल बिद्यालयको रुपमा संचालन गर्ने निर्णय गरेको थियो ।
डोल्पाका त्रिपुरा माद्यमिक बिद्यालय काईगाउँ र सरस्वती नमुना माद्यमिक बिद्यालय दुनै डिजिटल बिद्यालय बनाउनको लागि जिल्लास्तरबाट निर्णय गरि छलफल अगाडि बढाइएको छ ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बालबालिकाले शैक्षिक प्रबिधिमा विश्वमा भए गरिएका नयाँ अनुकरणीय कार्यबारे जानकारी लिन सकुन भनेर बिद्यालयलाई डिजिटलाईज गर्न थालिएको बताएका थिए ।
अवलोकन भ्रमणमा केहि समय अघि मात्र डोल्पा आएका बेला मन्त्री भण्डारीले डिजिटल प्रबिधि अनुसार शिक्षकले पनि अध्यायन गरेर पढाउन मिल्ने गरि शिक्षण क्रियाकलापमा सहयोग गरिने बताएका हुन ।
खाली समयमा बिद्यार्थीले पनि खोजमुलक अध्यायन गर्ने बातावरण निमार्ण हुने गरि अभियानको रुपमा छलफल थालिएको छ ।
त्रिपुरा माद्यमिक बिद्यालय काईगाउँको ल्याब निमार्ण तथा उपकरण खरिद र ब्यवस्थापनको लागि १९ लाख रुपैयाको आर्थिक सहयोग हुने बताइएको छ ।
त्रिपुरा माद्यमिक बिद्यालय काईगाउँका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दलबहादुर महताराले संचालनमा ल्याईन थालिएको यो खालको नयाँ प्रबिधिले अहिलेको नयाँ पुस्तालाई नयाँ प्रबिधिको ज्ञानमा नजिक बनाई सुचना प्रबिधिमा अब्बल बनाउने बताए ।
जिल्लामै पहिलो पटक माद्यमिक तहको पढाई सम्म कम्प्युटर बिषयको पढाई हुदै आएको त्रिपुरा माद्यमिक बिद्यालय जिल्लाकै नमुना प्रबिधिमैत्री बिद्यालय हो ।
सदरमुकाम दुनै देखि ६० किलो मिटर पश्चिममा पर्ने जगदुला गाउँपालिका स्थित काईगाउमा रहेको त्रिपुरा माद्यमिक बिद्यालयमा छात्र १६३ र छात्रा १६१ गरि ३ सय २६ जना बिद्यार्थी अध्यायनरत रहेको बिद्यालयका प्रधाना अध्यापक जयबहादुर बस्नेतले जानकारी दिए ।







