नमस्कारै व्यंग्य ठान्छन्, दलित जनप्रतिनिधि

कालिकोट। स्थानीय सरकार गठन भएको डेढ वर्ष पुग्न लाग्दा पनि जननिर्वाचित दलित प्रतिनिधिहरूको व्यथा भने उस्तै छ । जनप्रतिनिधि बन्नुअघि उनीहरूले समाजमा जे जस्ता समस्या भोगिरहेका थिए, त्यसमा कत्ति पनि परिवर्तन आउन नसकेको उनीहरूको अनुभव छ । आफूजस्तै अन्य जनप्रतिनिधिको गाउँमा छुट्टै सम्मान प्रत्यक्ष देखेका उनीहरूलाई जनप्रतिनिधिबीच नै गरिएको विभेदले नरमाइलो अनुभव सँगाल्न बाध्य बनाइरहेको छ ।

आफूहरूले जनताको सेवामा काम गर्ने गरेको भए पनि गैरदलितबाट सम्मान नपाएको उनीहरूको अनुभव छ । कसैले आफूहरूलाई नमस्कार गरे पनि व्यंग्य मिश्रित हुने गरेको दलित जनप्रतिनिधिको अनुभव छ ।
तिलागुफा नगरपालिकाकी उपप्रमुख हुन् दन्ता नेपाली ९दर्शना० । गैरदलितले आफूलाई नमस्कार गरे पनि व्यंग्यात्मक तवरले गर्ने गरेको उनको अनुभव छ ।
जिल्लाका अन्य स्थानीय तहमा पनि वडाध्यक्षदेखि माथिका जनप्रतिनिधिहरूमा यो समस्या देखिन थालेको छ । पुरानै संस्कृतिबाट हुर्केको समाजमा जातीय रूपमा दलितहरूप्रति हेर्ने दृष्टिकोण फरक भएका कारण सम्मानमा कन्जुस्याइँ हुने गरेको हो ।

नरहरिनाथ गाउँपालिका–६ माल्कोटका वडाध्यक्ष तुलराज विकको पनि भोगाइ त्यस्तै रहेको छ । वडा कार्यालयमा बसेर काम कारबाहीमा सहभागी हुँँदा गैरदलित सेवाग्राही आएमा अवहेलना हुने गरेको छ ।
उनले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले आयोजना गरेको जातीय विभेदका घटनाहरू अदालत तथा प्रहरीसमक्ष पु¥याउने प्रक्रियामा सहकार्य गोष्ठीमा मन्तव्य दिँदै विश्वकर्माले आफूहरू पनि जनताको सेवा गर्ने भएकाले जातीय विभेद स्थानीय स्तरदेखि माथिल्लो तहसम्म सबैमा कायम रहेको बताए ।
सामाजिक अगुवा तथा नेपाली कांग्रेस कुमाल गाउँका सभापति देवराज उपाध्यायले दलितहरूमा आफैंमा हिच्किचावट कायम रहेकाले यसलाई हटाउनुपर्ने बताए । उनले आफैंमा हीनताबोध भएमा समाजमा अरूले हेप्ने प्रथाको सुरुवात हुने भएकाले आफैंमा सशक्त भएर लाग्नुपर्नेमा जोड दिए ।

कालिकोट जिल्लामा हुने हरेक खालका जातीय विभेदको समस्या समाधानका लागि दलित अगुवा अग्रसर हुनुपर्नेमा जोड दिँदै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटका वीर तिरुवाले समाजमा सबैको साझा प्रतिबद्धता भयो भने परिवर्तन हुने बताए ।
कालिकोट जिल्लामा दलित स्थानीय सरकार सञ्चालनमा समावेशी कोटाबाहेक उच्च तहमा जिल्ला समन्वय समिति कालिकोटकी उपप्रमुख लक्ष्मी विष्ट९नेपाली०, तिलागुफा नगरपालिका उपप्रमुखमा दन्ता नेपाली ९दर्शना०मात्र छन् । त्यसैगरी, जिल्ला समन्वय समिति कालिकोटका सदस्यमा दुई जना, जिल्लाभर वडाध्यक्षमा रास्कोट नगरपालिकाबाट एक जना, खाँडाचक्र नगरपालिकाबाट दुई जना, पचालझरना गाउँपालिकाबाट एक जना, पलाँता गाउँपालिकाबाट एक, सान्नी त्रिवेणी गाउँपालिकाबाट एक, नरहरिनाथ गाउँपालिकाबाट तीन जना गरी जम्मा नौ जना वडाध्यक्ष छन् ।





error: Content is protected !!