नेपाल एयरलाइन्सको चरम लापरबाही , दुबई उड्नुपर्ने जहाज पुग्यो मलेसिया

काठमाडौं– नेपाल एयरलाइन्स व्यवस्थापनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दर्जनौं कर्मचारीले राजनीनामा दिइरहेएकै बेला एयरलाइन्सले अर्को वितण्डा मच्चाएको छ ।
गल्तीहरुलाई सच्याउँदै अघि बढ्नुपर्नेमा एयरलाइन्स व्यवस्थापन कुन हदसम्मको मनपरि ढंगले चलिरहेको छ भन्ने उदाहरण पछिल्लो यो घटनाले पुष्टि गरेको छ ।
प्रसंग हो– एयरलाइन्सले सोमबारको उडान । एयरलाइन्सको विमान आइतबार राती संयुक्त अरब इमिएट्स ९युएई० उड्नुपर्ने सेड्युल थियो । तर एकाएक निगम व्यवस्थापनले सो उडान रद्द गरेर सोमबार बिहान मलेशियाकोराजधानी क्वालालम्पुरका लागि उडाए ।
निगमका एक उच्च अधिकारीका अनुसार एक आईएनजीओको मलेशियामा हुन लागेको कार्यक्रमका लागि दुबई उड्न लागेको विमानको तालिका रद्द गरेर मलेसियातर्फ उडाइएको हो ।
उनका अनुसार सो कार्यक्रममा भाग लिन निगमकै कर्पोरेट विभागका निर्देशक रवीन्द्र श्रेष्ठ र कर्मशिलय विभागका निर्देशक गोपाल जोशी समेत मलेशिया पुगेका छन् । उनीहरुबाहेक सो टोलीमा अरु ३५ जना पनि रहेको बताइएको छ ।
१ सय ५८ सिट क्षमताको न्यारो बडी एयर बस विमानमा आयोजक टोलीबाहेक अन्य ६५ जना गरी कुल १०२ जना टिकट काटेका थिए । सोमबार बिहान काठमाडौंबाट साढे ९ बजे मलेशियाको लागि उडेको सो विमान पी ओल्ट्रा र सुदीप रिजालले उडाएको बताइएको छ ।
दुबई उडान रद्द हुँदा यात्रु सकसमा
यता पूर्वनिर्धारित तालिकाअनुसार विमान दुबई नउडेर मलेशियाका लागि उडेपछि नेपाल र मलेशियातर्फका २२० जनाको हाराहारीमा रहेका यात्रुहरु समस्यामा परेको बताइएको छ ।
निगम स्रोतका अनुसार आइतबार राती दुबईको उडान रद्द भएपछि ६३ यात्रुलाई सिनामंगलको होटलमा राखियो । उता दुबईतर्फपनि यही विमानको टिकट काटेका १५० भन्दा बढी यात्रुलाई स्थानीय होटलमा राखियो । यसरी विमान तालिका अनुसार नउड्दा यात्रुको होटल शुल्क, अपरेशन चार्ज लगायत गरी निगमलाई करोडौंको नोक्सान हुन पुगेको छ ।
निगम नेतृत्वकै संलग्नतामा उडान रद्द भएको भन्दै निगमका एक अधिकारीले यस विषयमा व्यवस्थापनभित्र नै मतभेद रहेको स्वीकारे । निगमलाई सुधार गरेर अघि बढ्नुपर्ने पक्षका केही सञ्चालक समितका सदस्यले पहिला दुबईको उडान भरेर फर्किएपछि मलेशियाको लागि उडान गर्दा ठीक हुने धारणा राखेका पनि थिए । तर सो कुराको सुनुवाई नगरी मलेशिया उडान भर्ने काम भएको भन्दै ति कर्मचारीले नेतृत्वको अपरिपक्क निर्णयले अनावश्यक आर्थिक भार बहन गर्नुपरेको बताए । स्मरण रहोस् निगम अहिले ३३ अर्बरुपैयाँ भन्दा बढी ऋणमा रहेको छ ।
यस विषयमा प्रतिक्रिया लिन निगमका प्रवक्ता रविन्द्र श्रेष्ठलाई पटक पटक सम्पर्क गर्दा मोबाइल अफ थियो भने प्रवन्ध निर्देशक सुगतरन्त कंसाकार सम्पर्कमा आउन चाहेनन् ।
सोमबार मात्रै नेपाल एयरलाइन्सका कर्मचारीले व्यवस्थापनसँग असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिन थालेको खबर रातोपाटीले प्रकाशित गरेको थियो ।
पछिल्लो समय व्यवस्थापनपक्षले संस्थालाई सुधार गर्नुको साटो थप धराशयी बनाउने बाटोमा अघि बढेको असन्तुष्ट कर्मचारीहरुको गुनासो बढ्दै गएको छ ।
यसविषयमा भने कंसाकारले १५ सय कर्मचारीमा एक दुईजना कर्मचारीले आफूलाई फेल गराउन लागिपरेको प्रतिक्रिया दिएका थिए ।
उनले ती कर्मचारीले जथाभावी आफ्नो र कम्पनीको बारेमा नराम्रो हल्ला फैलाएको दाबी गर्दै भनेका थिए ‘एक जना कर्मचारी पीआरवालाले जागिर छाडेको हो । अर्को दुईजनाले दुईरचार बर्ष बाँकी रहेपनि अहिले आफ्नो घरायसी कामको समस्या देखाउँदै छाडेका हुन् । अर्को एक जनाले प्रमोशन भएन भनेर जागिर छाडे । प्रमोशनपनि उहाँलाई लिएको परीक्षामा फेल भएपछि रोकिएको हो । हामी व्यवस्थापनको कुनै दोष छैन ’ रातोपाटीमा खवर छ ।
कंसाकारले कर्मचारीमाथि खनिएर उम्किने प्रयास गरेपनि पछिल्लो समय उडानै रद्द गरेर नयाँ गन्तब्यमा उडान भरिनुले निगममाथि राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।










