प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दो

दिलमाया शाही जुम्ला ,
जुम्ला जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाउने भएपछि पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ह्वात्तै बढेको हो ।
एउटा नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय अवधिमा चारवटा गाउँपालिकाले प्राविधिक शिक्षा सञ्चालनमा ल्याउने तयारी गरेका छन् । कनकासुन्दरी, तातोपानी, गुठिचौर र पातारासि गाउँपालिका अन्तर्गतका विद्यालयमा प्राविधिक विषयको तयारी थालिएको हो । योग्यता र क्षमताको आधारमा रोजगारको अभाव हुने समस्या बढेसँगै आम विद्यार्थीको ध्यान प्राविधिक शिक्षालयले तान्न थालेको हो । विशेष गरी, स्वास्थ्य, कृषि लगायत प्राविधिक शिक्षातर्फ विद्यार्थीको ध्यान केन्द्रित हुँदै गएको पाइन्छ । घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा यस क्षेत्रका विद्यार्थी खुशी भएका छन् ।
जुम्लाको गुठिचौर गाउँपालिका अन्तर्गत त्रिभुवन मावि झारज्वालाले पातारासी गाउँपालिका अन्तर्गत सरस्वति मावि रिनीले , तातोपानी, कनकासुन्दरी र सिंजा गाउँपालिकामा प्राविधि शिक्षाको तयारीलाई तिब्र पारिएको हो । यो भन्दा पहिले सिंजा गाउँपालिकाको भैरव मावि नराकोटमा विगत सात वर्षदेखि कृषि जेटिए पढाई भइरहेको छ । उक्त विद्यालयबाट सातवटा ब्याजीले कृषि जेटिए पास गरि सकेको विद्यालयका प्रधानाध्यापक मानवहादुर रोकायाले बताउनु भयो । उहाँले भन्नुभयो, यसै शैक्षिक सत्रबाट ष्ब्ऋब्न् को तयारी पुरा भइ सकेको छ । ४० जना विद्यार्थीले भर्ना फार्म समेत भरि सकेका छन् ।
यस शिक्षालयमा अध्ययन गर्ने विद्यार्थी कोही पनि बेरोजगार बसेका छैनन, उहाँले भन्नुभयो, अध्ययन पूरा गरेलगत्तै खाली बस्नु नपर्ने भएपछि माथिल्लो योग्यता भएका विद्यार्थी पनि प्राविधिक शिक्षा लिन आउने गरेका छन् । गाउँ गाउँमै फरक फरक खालका प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा आउने भएपछि अन्यत्र पढ्न जाने झन्झटबाट यहाँका विद्यार्थी मुक्त हुने भएका छन् । अभिभावकलाई पनि आर्थिक भार कम पर्ने भएको छ । विद्यार्थीले प्राविधिक विषय रुचाएकाले हाल जिल्लाका सामुदायिक विद्यालयहरुले प्राविधिक शिक्षालाई जोड गरि रहेका छन् । हरेक बिद्यायले प्राविधिक शिक्षा अध्यापन गराउने तयारी थालिएको जनाएका छन ।
२०३७ सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षाले हाल डिप्लोमा तहका विषयहरु पनि पढाई सुरु गरि सकेको छ । प्राविधिक शिक्षा पढाई भएबाट कर्णालीका विद्यार्थीको लागि राहत भएको बिद्यार्थिहरुले बताएका छन ।










