भदौ पहिलो हप्ताभित्र एकता सक्ने यस्तो छ नेकपाको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९ने क पा०ले भदौ पहिलो हप्ताभित्र एकता सक्ने तयारी गरेको छ । नेकपाले प्रदेश र जिल्ला तहमा एकीकरणको प्रारम्भिक खाका तयार पारेको छ । सातमध्ये पाँचवटा प्रदेशको अन्तिम खाका तयार भइसकेको छ । गण्डकी, कर्णाली तथा प्रदेश २, ५ र ७ मा कार्यदलले खाका तयार पासिरसकेका छन् अब प्रदेश १ र ३ को खाका बन्न बाँकी छ ।
कार्यदलले प्रदेश र जिल्ला कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीले पाउने संख्यात्मक हिस्साको टुंगो पनि लगाएका छन् । संख्या टुंग्याएर जिल्ला नेतृत्वको सम्भावित नाम केन्द्रीय सचिवालयलाई बुझाउने अन्तिम तयारी छ । प्रदेश १ को २ सय ७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २२ तथा पूर्वमाओवादीबाट ८५ जना रहने टुंगो लागेको छ । प्रदेशका १४ जिल्लामध्ये इलामको १ सय ४५ सदस्यीय जिल्ला कमिटीमा पूर्वएमालेबाट ९४ र माओवादीबाट ५१ जना रहने टुंगो लागेको छ ।
त्यस्तै, मोरङको १ सय ८५ सदस्यीय कमिटीमा पूर्व एमालेबाट १ सय १० र पूर्वमाओवादीबाट ७५ जना रहने टुंगो लागेको छ । तेह्थुममा पनि संख्या टुंगो लागिसकेको छ । तिनवटै जिल्लामा पूर्वएमालेको नेतृत्व रहनेछ । प्रदेश १ का १४ जिल्लामध्ये पूर्वमाओवादीले कम्तीमा ४ जिल्लामा नेतृत्व पाउनुपर्ने अडान राख्दै आएको छ ।
प्रदेश नम्बर २ का प्रदेश कमिटी र जिल्ला कमिटीमा ५०–५० प्रतिशतको भागवण्डा भएको छ । २ सय १५ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट १००–१०० जना रहनेगरी बाँकी पछि मनोनित गर्ने करिब–करिब समझदारी भइसकेको छ । प्रदेश २ का ८ जिल्लामध्ये सबै जिल्लामा १५ जना रिक्त राखेर अहिलेलाई ७५–७५ रहनेगरी जिल्ला कमिटी बनाउने समझदारी जुटेको छ ।
प्रदेश ३ का रसुवा, सिन्धुली, रामेछाप र उद्यमी व्यवसायी जिल्ला कमिटीको संख्या टुंगो लागेको छ । १३ भूगोल र ४ विशेष जिल्लासहित १७ जिल्ला कमिटी रहेको यो प्रदेशमा दोलखा र सिन्धुपाल्चोकमा पूर्वएमालेले नेतृत्व गर्ने सहमति भएको छ ।
यसैगरी गण्डकी प्रदेशमा नेकपाले प्रदेश कमिटीसहित ९ जिल्लामा पूर्वपार्टीका तर्फबाट कसको कति संख्यात्मक हिस्सेदारी रहने अन्तिम टुंगो लगाएको छ । १ सय ८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादीबाट ८५ जना रहनेछन ।
प्रदेश ५ र अन्तर्गतका जिल्ला कमिटीहरूमा पूर्वएमाले र माओवादीको संख्यात्मक हिस्सा कति–कति रहने टुंगो लागेको छ । २ सय ३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेका १ सय ६ र माओवादीका ९७ जना रहने टुंगिएको छ । त्यस्तै, प्रदेशका १२ जिल्लामध्ये ८ वटामा पूर्वएमाले र ४ जिल्ला अध्यक्षमा पूर्वमाओवादी अध्यक्ष हुने भएका छन् ।
१७५ सदस्यीय कर्णाली प्रदेश कमिटीमा पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना रहने टुंगो लागेको छ । प्रदेशका ५ जिल्लामा अध्यक्ष र सचिव पनि ५–५ जना रहने गरी बाँडिएको कार्यदल सदस्य मायाप्रसाद शर्माले जानकारी दिएका छन् ।
१७५ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेका ८७ र पूर्वमाओवादी ८८ सदस्य रहने टुंगो लागेको छ । कूल ९ जिल्लामध्ये सुर्खेत, दैलेख, डोल्पा, सल्यान, मुगुमा पूर्वएमालेले नेतृत्वसहित बढी हिस्सा पाएको छ । यसैगरी जाजरकोट, कालिकोट, पश्चिम रुकुम, जुम्ला, हुम्लामा पूर्वमाओवादीले नेतृत्वसहित बढी हिस्सा पाएको छ । जिल्ला कमिटीको संख्या समानताका आधारमा रहने गरी नाम प्रस्ताव गरिएको कार्यदल सदस्य मायाप्रसाद शर्माले बताए ।
प्रदेश ७ को एकीकरण कार्यदलले प्रदेश कमिटी र जिल्ला कमिटीहरूको संख्या बाँडफाँट टुंगो लगाएको छ । जसअनुसार १ सय ८३ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमालेबाट १ सय र माओवादीबाट ८३ जना रहनेछन् । प्रदेश कार्यालयमा पूर्वएमालेबाट ४ र माओवादीबाट ३ जना रहने कार्यदल सदस्य कर्ण थापाले बताए ।
त्यस्तै, प्रदेशका ९ जिल्लामध्ये बाजुरा, अछाम, डोटी, कैलाली र बैतडीको अध्यक्ष पूर्व एमाले तथा बझाङ, डडेलधुरा, दार्चुला र कञ्चनपुरको अध्यक्ष पूर्व माओवादीबाट रहने समझदारी भएको छ । जिल्ला नेतृत्व गर्ने पक्षको बहुमत रहनेगरी जिल्ला कार्यालयमा ७ मध्ये ४ सदस्य रहनेछन् ।










