एक टन कार्बनमा बस्नुहोस्’ अभियान सुरु

काठमाडौँ — जलवायु परिवर्तन न्यूनिकरण गर्नका लागि जनचेतना जगाउने उद्देश्यसहित मंगलबारदेखि ‘एक टन कार्बनमा बस्नुहोस्’ अभियान सुरु गरिएको छ ।
पारिवारिक निजी वन संघ, वन्यजन्तु संरक्षण संघ र जीवन केन्द्र नेपालको संयुक्त आयोजनामा अभियान सुरु भएको हो । काठमाडौंको वसन्तपुर डबलीमा एक कार्यक्रमबीच वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले एक टन कार्बनको बेन्चमा बसेर अभियान उद्घाटनको घोषणा गरे।मन्त्री बस्नेतले अभियान मौलिक र रचनात्मक भएको भन्दै अझै दुरुस्त बनाउनु पर्नेमा जोड दिए ।
अरु देशले निम्त्याएको समस्याको सिकार नेपाल भएको भन्दै अन्तर्राष्ट्रियजगत समक्ष यसको क्षतिपूर्ति माग्नुपर्ने उनको भनाइ थियो । मन्त्री बस्नेतले भने, ‘हामीले कार्बन सञ्चित गरी जलवायु परिवर्तन निर्मूल र अनुकुलनमा पुर्याएको योगदानमार्फत अन्तर्राष्ट्रिय समुदायसँग कार्बन व्यापार गर्नसकिन्छ। ’
उनले सन्तुलित रुपमा वन विस्तार, संरक्षण एवं उपयोगमा विचार पुर्याई काठमा आत्मनिर्भरता र कार्बन व्यापारमा बढोत्तरी हुने आश व्यक्त गरे । रुखले मात्र नभई काठजन्य पदार्थले पनि कार्बन सञ्चित गर्ने पारिवारिक निजी वन संघका अध्यक्ष जोगराज गिरीले बताए।
कार्यक्रममा वक्ताहरुले काठबाटबनेका वस्तुको उपभोग र रुख संरक्षण गर्नुपर्ने जोड दिएका थिए ।










