सडक नपुग्दै नगरपालिकाको नाममा मोटसाइकल

सुकमाया थापा
डोल्पा ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले पल्सर मोटरसाइकल किनेर नेपालगन्जमा थन्क्याएको पाइएको छ । नगरपालिकामा बाटो नपुग्दा पनि महँगो मोटर साइकल किनेर थन्क्याएको पाइएको हो ।
नगरको कार्यकारी अधिकृत नरबहादुर बुढा मगरले दुई लाख ३९ हजार रुपैयाँमा किनेको भे १ ब ९०१ नम्बरको मोटरसाइकल नेपालगन्जस्थित आफन्तको घरमा राखिएको नगरपालिकाका नायब सुब्बा चन्द्रप्रसाद बुढाथापाले बताए ।
नगरपालिकामा मोटरसाइकल गुडाउने सडक नभए पनि नेपालगन्ज जाँदा कार्यालयको काम गर्न कर्मचारीलाई सजिलो होस् भनेर मोटरसाइकल किनेको नायव सुब्बा वुढाथापाको भनाई छ ।
यो वर्ष मोटर बाटो पुग्ने भएपछि मोटरसाइल किन्न सस्तो पर्ने भएकाले अहिले नै किनेर राखिएको नगरपालिकाका कर्मचारीले जनाएको छ । नगरपालिकाले असार १६ मा सम्पन्न गरेको दोस्रो नगर सभामा अधिकांशले सडक नभएको ठाउँमा मोटरसाइकल किनेको भन्दै चर्को बिरोध गरेका थिए ।
यसैगरी नगरपालिकाले विकासमा आफ्नै स्रोतसाधन भन्दै एक करोडको लगानीमा हुन्डाई कम्पनीको डोजरसमेत खरिद गरेको थियो ।










