सुनसरीमा सशस्त्र प्रहरीविरूद्ध गाउँले खनिए स् ११ घाइते, सशस्त्रका सइसहित ५ बेपत्ता

धरान , सशस्त्र प्रहरीको कुटपिटबाट स्थानीय एक महिला सख्त घाइते भएपछि सिंगो गाउँ नै प्रहरीविरूद्ध खनिएको छ । सुनसरीको हरिनगरा गाउँपालिका–७ घुस्कीका स्थानीयसँग विवाद चर्किएपछि सशस्त्र प्रहरीविरूद्ध गाउँले खनिदा विवादले उग्ररुप लिएको थियो ।
तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई सेल अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । आन्दोलनकारीको भीड तितरवितर पार्न सशस्त्रले चलाएको गोली लागेर चारजना स्थानीय घाइते भएका छन् । उनीहरुको उपचार विराटनगरस्थित नोवल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्रको गोली लागी घाइते अन्सार अन्सारीका अनुसार बाख्रा चराएर घर फर्कदै गरेकी मैनाज खातुनलाई बाख्रा चोरी गरेको भन्दै सशस्त्र प्रहरीले निर्घात कुटपिट गरेका थिए । सोही विषयलाई लिएर स्थानीयले सशस्त्र प्रहरीमाथि आक्रमणमा उत्रिए । त्यसपछिको स्थिति तनावपूर्ण बनेपछि करिब ५ बजे सशस्त्र प्रहरीले एक्कासी चलाएको गोली प्रहारबाट घुस्कीका एयु मियाँ गम्भीर घाइते भएका थिए ।
गाउँलेहरुको आक्रमणबाट सात जना सशस्त्र प्रहरी पनि घाइत भएका छन् । घाइते हुनेमा सशस्त्रका हवल्दार सुवास यादव, जवान भीमसेन दास, कृष्ण तामाङलगायत रहेको प्रहरीले जनाएको छ ।
तयस्तै, घटनापछि सशस्त्र प्रहरीका नायव निरीक्षक दीलबहादुर तामाङ र चार जना स्थानीय सम्पर्क विहीन छन् । घुस्की बजार स्थानीयहरुले चोकचोकमा टायर बालेर आन्दोलन गरिरहेका छन् । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको समन्वयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण चिमोरिया, सशस्त्र प्रहरी निरीक्षक नवराज बिष्टसहित दुई पक्षिय वार्ता जारी छ ।










