सरकारलाई काम गर्न नदिने दुस्मनको प्रतिकार गर्नुपर्छः प्रचण्ड

काठमाडौं ः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूहरू आक्रामक अवस्थामा रहेको बताएका छन्। साथै उनले समग्र अंशमा रक्षात्मक अवस्थामा भएको समेत बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले क्रान्तिले जित्ने हो कि प्रतिक्रान्तिले भन्नेमा फैसला भइनसकेको बताए। ‘हाम्रो पार्टी र सरकारविरुद्ध निकै ठूलो षड्यन्त्र भएको छ, त्यसका केही शुरुवाती स्थिति देखापरेका छन्,’ प्रचण्डले भने, ‘मान्छेहरुलाई निकै ठूलो छटपटी छ, कम्युनिस्ट सरकारलाई अपदस्त गर्ने ।’ दुई तिहाइको सरकार भएकोले विपक्षीहरुलाई छटपटी भएको उनले बताए। ठूलो त्याग र बलिदानबाट अप्ठ्यारो अवस्थामा आफ्नै बुताबाट यो स्थिति सिर्जना गरेको समेत प्रचण्डले बताए। उनले नयाँ संकल्प गर्नका निम्ति अपिल गर्दै आफ्नो ऐतिहासिक मिसनमा खरो उत्रने वा नउत्रने भन्नेमा प्रश्न उठेको उनले बताए। ‘कलम, बन्दुक र मादलको संयोजनबाट युद्ध अगाडि बढ्छ भन्थ्यौ युद्धका बेला,’ प्रचण्डले भने, ‘अब बन्दुक होइन कलमलाई प्राथमिकता दिनैपर्छ भन्ने संकल्प हाम्रो छ।’ भर्खरै बनेको सरकारलाई कामै गर्न नदिएर राजनीतिक रंग दिने काम गरिएको समेत उनले बताए।
अहिले देशमा भइरहेको षड्यन्त्र राष्ट्रिय आयाम मात्र होइन अन्तर्राष्ट्रिय आयाम पनि भएको उनले बताए। सरकारलाई कसरी अलोकप्रीय बनाउन सकिन्छ भनेर बुर्जुवा वर्ग प्रतिक्रियावादमा उत्रिएको प्रचण्डले आरोप लगाए। विरोधी दुश्मनको प्रहारको प्रतिकार सशक्त रुपमा गर्नुपर्ने समेत प्रचण्डले बताए। दुश्मनहरुले नभएको कुरा गरेर सरकार र पार्टीलाई अप्ठ्यारो पारेको समेत उनले बताए।










