सेनाद्वारा बम निस्क्रिय , अन्य वम हुँन सक्ने भन्दै जाँच गर्ने उपकरण केन्द्र संग

जाजरकोट, जिल्ला प्रशासन कार्यालय रहेको दरबारको छेउमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय पारेको छ । द्वन्द्वका बेला नेपाली सेनाले बिछाएको बम शनिवार वेलुका सेनाले नै निस्क्रिय पारेको हो। जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबारमा द्वन्द्वका बेला सेनाको गुल्म बसेको र सुरक्षाका लागि दरबार छेउमा बिछाइएको बम शान्तिकालमा उठाएर लिन बिर्सिएको थियो।
शनिवार वेलुका दरबार छेउमा घुम्दै गरेका एक स्थानीयले दरबारको उत्तरपट्टिको भिरालो भागमा बमजस्तो वस्तु रहेको भनी प्रहरीलाई सूचना दिएपछि सेनाको डिस्पोजल टोलीले उक्त बमलाई निस्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । उहाँले दरबार वरिपरीको क्षेत्रमा अरु पनि बम हुनसक्ने भन्दै सेनालाई आवश्यक अनुसन्धान गरेर दरबार क्षेत्र सुरक्षित बनाइदिन आग्रह गरिएको बताउनुभयो । सेनाले निस्क्रिय पारेको बम शक्तिशाली भएको र अन्य अवस्थामा विस्फोट भएको भए ठूलो मानवीय क्षति हुन सक्ने उहाँको भनाई थियो।
प्रशासनले स्थानीय सर्वसाधारणलाई दरबारको उत्तर पश्चिमपट्टिको भागमा होसियारी पूर्वक आवातजावत गर्न आग्रह गरेको छ। द्वन्द्वका बेला सेनाले छोडेको बम शनिवार दरबारको छेउमा भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन्। अझै पनि उक्त क्षेत्रमा बमहरु हुन सक्ने भन्दै उनीहरु त्यस क्षेत्रमा जान डराउन थालेका हुन्।
यता नेपाली सेनाको जाजरकोटस्थित ज्वाला दलक गणका गणपति प्रमुख सेनानी शैलेन्द्र कोइरालाले शान्तिकाल सुरु हुँदा सेनाको गुल्म उठेर जाने क्रममा बम छुटेको बताउनुभयो । उहाँले दरबार क्षेत्रलाई सुरक्षित बनाउनका लागि बम खोजी गर्ने यन्त्र र साधन आफूहरुसंग नभएकाले त्यसका लागि सेनाको बाहिनी हुँदै सैनिक मुख्यालयमा आग्रह गरिएको बताउनुभयो । ‘शनिवार नै पत्र लेखेर जाजरकोट दरबार क्षेत्रमा अरु बम भए नभएको अवस्था खोजी गरि आवश्यक सहयोग गरिदिन हेडक्वार्टरमा लेखापढी गरेका छौं’, प्रमुख सेनानी कोइरालाले भन्नुभयो । जिल्लामा भेटिएको बम निस्क्रिय पार्ने जनशक्ति भएको तर बम छ कि छैन भनेर पत्ता लगाउने उपकरण र जनशक्ति नभएको उहाँले बताउनुभयो ।










