गाउँमा बैंक नजाँदा सेवाग्राहीलाई सास्ती, दुई हप्तासम्म सदरमुकाममै बास

जाजरकोट, दुई दिन पैदल हिँडेर जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका ७ सुवाकोटबाट सदरमुकाम आएका हस्तबहादुर शाहीलाई एक योजनाको एक लाख रुपैयाँ भुक्तानी लिन दुई हप्ता कुर्न पर्यो । सुवाकोटी देउताको मन्दिर निर्माणको एक लाख रुपैयाँ समयमा भुक्तानी नपाउँदा उनी लामो समय होटलमा बस्न बाध्य छन् ।
उनी मन्दिर निर्माण समितिका अध्यक्ष हुन् । उनी सँगै कोषाध्यक्ष मकरबहादुर सिंह पनि भुक्तानी लिनकै लागि सदरमुकाममै आए । ‘ कहिले कर्मचारी भेटिएनन्, कहिले प्रक्रिया मिलेन भनेर कागजात फिर्ता गरिदिए । दुई हप्ताको होटल बसाई पछि बल्ल काम भयो’ अध्यक्ष शाहीले भने ‘सामान्य कामका लागि पनि सदरमुकाम धाउनु पर्ने बाध्यता कायमै छ ।’
सोही ठाँउकी विष्णु शाहीको काम पनि १२ दिन पछि मात्र भयो । बारेकोट ७ मा हेलिप्याड निर्माणको दुई लाख रुपैयाँ समयमा भुक्तानीका लागि उनी लामो समय सदरमुकाममै बस्न बाध्य छन् । समयमा भुक्तानीको काम नहुँदा निर्माण समितिकी अध्यक्ष शाहीका साथै समितिका सचिव दिलिप शाही र कोषाध्यक्ष नरजीत वि।क पनि उनी सँगै सदरमुकाममै बस्न बाध्य भए ।
कुशे ८ मा कृषि नर्सरी सेवा केन्द्र भवन निर्माणको लागि गाँउपालिकाले चालु आर्थिक बर्षमा चार लाख रुपैयाँ विनियोजन गरेको थियो । समयमा काम सकेर आएका निर्माण समितिका अध्यक्ष दीपबहादुर बस्नेत, सचिव सुर्यबहादुर रोकाय र कोषाध्यक्ष अमृता सिंह रोकाय १२ दिन होटलमा बसिसकेपछि मात्र भुक्तानी पाए । अध्यक्ष बस्नेतले भने ‘हामी आएको १२ दिन पछि मात्र भुक्तानी पायौँ । अध्यक्ष, उपाध्यक्ष , कार्यकारी प्रमुख र प्राविधिक नभेटिदा भुक्तानीमा ढिलाई भयो ।’
यी केही प्रतिनिधी मुलक घटना हुन् । यतिबेला जिल्ला सदरमुकाममा भुक्तानी लिने उपभोक्ताको घुईँचो लागेको छ । होटलहरु खचाखच भरिएका छन् । गाँउमा बैक नजाँदा गाँउ तथा नगर मार्फत संचालित योजनाको भुक्तानी सदरमुकामबाटै लिनु पर्ने बाध्यता छ । तर समयमा छिटोछरितो रुपमा भुक्तानी नपाउँदा सेवाग्राही निरास छन् ।
काम सम्पन्न गरेको विल भरपाई, आयोजनाको फोटो, अनुगमन समितिको सिफारिस लगायतका कागजात पेश गरे भुक्तानी दिने प्रावधान रहेको कुशे गाँउपालिकाका कार्यकारी प्रमुख बसन्ततबहादुर खत्रीले बताए । गाँउपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति रहेको छ । उनको सिफारिस सहित आवश्यक प्रक्रिया पुर्याएर आए एक दुई दिनमै भुक्तानी हुने उनको भनाई छ तर कार्यकारी प्रमुख र उपप्रमुख एक कार्यक्रमका लागि सुर्खेत जानु परेको फर्के लगत्तै उपाध्यक्ष रामछाया शाही गाँउ गएकाले गर्दा केही दिन भुक्तानीमा ढिलाई भएको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । कतिपय उपभोक्ता समितिले प्रक्रिया नपुर्याउँदा पनि ढिलाई हुने गरेको उनको भनाई छ ।
जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिका बाहेक अन्य ६ ओटा स्थानीय तहमा अहिलेसम्म बैंक पुगेका छैनन् । बैंक नहुँदा आर्थिक कारोबार सबै सदरमुकाममै हुने गरेको छ । नलगाड नगरपालिकाले मात्र सम्बन्धित नगरपालिकाको केन्द्र दल्लीमा सबै काम गर्ने गरेको छ । नलगाडले चेक काटेर भुक्तानीका लागि मात्र सदरमुकाम पठाउने गरेको छ भने अन्य गाँउ तथा नगरले आर्थिक कारोबार तथा प्रशासनिक कारोबार समेत सदरमुकामबाटै गर्ने गरेका छन् । खाता खोल्ने देखि योजनाको भुक्तानीका कागजात मिलाउने सब काम सदरमुकामबाटै गरिने भएकोले उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष जिल्ला सदरमुकाम धाउन बाध्य छन् ।
समितिका पदाधिकारी सदरमुकाम आउँदा जाँदा र बस्दा खाँदा लागेको खर्च सबै आयोजनाबाटै तिर्ने गरेको स्थानीयको भनाई छ । गाँउमा बैक नजाँदा र गाँउबाटै सेवा संचालन नहुँदा प्रत्येक आयोेजनाको २० देखि ५० हजार रुपैयाँसम्म आतेजाते र खानामा फजुल खर्च हुने गरेको छ । आयोजनाको रकमबाट फजुल खर्च हुँदा कामको गुणस्तरमा समेत ह्रास आउने गरेको छ ।










