कालोपत्रेमा चरम गुणस्तरहिन काम नसकिदै जिरा गिटटी सोरिएर सडक छेउमा थुप्रो

जाजरकोट खलंगा — डोल्पा सडक खन्ड अन्तरगत जाजरकोट सदरमुकाम खलंगा वजारमा हुदै गरेको कालोपत्रेको काम नसकिदै उम्किएको छ ।
निर्माण व्यावसायी र सडक डिभीजन कार्यालयको गैरजिम्मेवारीका कारण सदरमुकाम खलंगाको शान्तिचौतारा देखि कालेगाउँ सम्मको ६ किलोमिटर सडकमा गरिएको कालोपत्रमा प्रयोग गरिएका जिरा गिटटीहरु उम्किएर सडक छेउमा थुप्रिएका छन् । तर यस प्रति कुनै सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय जनताको गुनासो छ । स्थानीयवासीले चर्काे विरोध र आलोचना गरे पनि निर्माण व्यावसायी र सडक डिभीजन कार्यालय चौरजहारी रुकुमले कुनै वास्ता गरेका छैनन् ।
कारवाहि गर्ने निकाय मौन वसिदिदा पनि निर्माण व्यावसायी र सडक डिभीजन कार्यालयले गैरजिम्मेवारीपन देखाएको स्थानीयको आरोप छ । कालो पत्रेको जिम्मा राजेन्द्र जलजला कन्स्ट्रक्सन जेभीले लिएको छ । निकै गैरजिम्मेवार ढंगले गुणस्तरहिन काम भएपनि स्थानीय प्रशासन र नगरपालिकाले कुनै चासो र ध्यान नदिएको स्थानीय प्रवेश आर सीले बताउनुभयो । यति गैरजिम्मेवार काम हुदा पनि कुनै निकायले चासो नदिनु निकै दुखद भएको आरसीले बताउनुभयो । यो कालोपत्रेको काम हेर्दा लाज लागेर आउछ यो काममा निकै ठुलो अपराध भएको छ तर राज्यका निकाय मौन छन उनले आक्रोस पोख्दै भन्नुभयो । आरसी मात्र होइन अन्य स्थानीयहरु पनि सडक कालोपत्रेमा भएको चरम गुणस्तरहिन कामको विषयमा आक्रोसित वनेका छन् ।
यस्तै सोमवार प्रमुख जिल्ला अधिकारी समक्ष स्थानीय सरोकारवालाहरुले गुनासो गरेका छन् । सदरमुकामको सडकमा यस्तो गुणस्तरहिन काम हुदा पनि कसैले चासो नलिनु र सडक डिभीजन कार्यालयले पनि गतिलो अनुगमन नगर्नु भनेको हाकाहाकी भ्रष्टाचार भएको भन्दै अख्तियारको प्रतिनिधिको रुपमा केहि कदम चाल्न उनीहरुले प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतलाइ आग्रह गरेका छन् । स्थानीय पत्रकार र अन्य सरोकारवालाहरुले प्रमुख जिल्ला अधिकारीलाइ यस्तो आग्रह गरेका हुन् । शान्तिचौतारा देखि कालोगाउँ सम्म कालोपत्रे भएको भनिएपनि सवै स्थानमा जिरा गिटटीहरु उम्किएर सडक छेउमा सोरिएको र सडकको अवस्था विग्रदै गएको भन्दै उनीहरुले गुणस्तरहिन काम गर्ने गराउने सवैलाइ कारवाहि गर्न माग गरेका हुन् ।
जिरा गिटटीहरु सडकमा नजमेको, काम गतिलो नगरेको र सडक छेउमा गतिलो नाली र पहिरोहरुको उचित व्यवस्थापन नभएका कारण कालोपत्रे भएपनि सडकको अवस्था जिर्ण वनेको स्थानीयवासी वताउछन् ।कालोपत्रे चरम गुणस्तरहिन भएको प्रति भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले निर्माण व्यावसायी र सडक डिभीजन कार्यालय विरुद्ध अख्तियार र अदालतमा मुद्धा हाल्ने तयारी गरेको बताउनुभयो । उहाँले काममा अवरोध गरे नकरात्मक अर्थ लाग्ने भएकोले अव जनता ठग्ने व्यावसायीका विरुद्ध अख्तियार या अदालतमा मुद्धा हाल्नुको विकल्प छैन मेयर घतीले रासस संग भन्नुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी ललित कुमार वस्नेतले पनि गुणस्तरहिन कालोपत्रे गर्ने निर्माण व्यावसायीलाइ कारवाहिका लागि आफुले पहल गर्ने बताउनुभयो । कामको गुणस्तर हेरेर आवस्यक कारवाहिका लागि प्रक्रिया अघि वढाइने छ उहाँले भन्नुभयो । सडक कालोपत्रेका वारेमा निर्माण व्यावसायी र सडक डिभीजन कार्यालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । केहि समय पहिले निर्माण व्यावसायी र सडक डिभीजन कार्यालयले स्थानीयहरुको अवरोधका कारण सडक कालोपत्रेमा केहि कठिनाइ हुने गरेको बताएका थिए ।










