शिक्षक पदपूर्ति आन्तरिक र खुला प्रतिस्पर्धा सँगसँगै

काठमाडौँ — शिक्षकको आन्तरिक र खुला प्रतिस्पर्धा एकैचोटि गर्ने गरी शिक्षक सेवा आयोगले तयारी अघि बढाएको छ । आयोगका अनुसार खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षक नियुक्त गर्न करिब साढे १२ हजार पदमा विज्ञापन खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोगका अध्यक्ष ताना गौतमले प्राथमिक तहमा मात्रै १० हजार पदमा विज्ञापन गर्ने गृहकार्य भइरहेको जनाए । निम्न माध्यमिक र माध्यमिक तहका लागि २ हजार ५ सय पदमा विज्ञापन गरिने उनको अनुमान छ । ‘तयारी गरिराखेका छौं, यो अनुमानित तथ्यांक हो,’ गौतमले भने, ‘छिट्टै खुलाको विज्ञापन गर्छौं ।’ शिक्षा विभागले रिक्त दरबन्दीको विवरण दिएलगत्तै विज्ञापन गर्ने गृहकार्य आयोगले थालेको हो ।

२०६९ पछि प्राथमिक तहका लागि स्थायी शिक्षक छनोट गर्न परीक्षा हुन लागेको हो । ‘लामो समयपछि प्राथमिक तहका लागि परीक्षा सञ्चालन गर्न लागिएकाले धेरै संख्या आवश्यक भएको हो,’ उनले भने । निम्न माध्यमिक र माध्यमिक तहका लागि भने ०७१ र ०७२ सालमा पनि आयोगले परीक्षा लिएर शिक्षक नियुक्त गरेको थियो । स्थगित अस्थायी शिक्षकको परीक्षा पनि एकै समयमा गर्ने गरी तयारी भइरहेको आयोगले जनाएको छ । यसअघि आन्तरिक र खुला प्रतिस्पर्धा एकैचोटि गर्ने भन्दै आयोगले अस्थायी शिक्षकको गत चैत २३ गते तोकिएको परीक्षा स्थगित गरेको थियो ।

आन्तरिक प्रतिस्पर्धाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका २२ हजार ७६ पदमा विज्ञापन गरिएको थियो, जसमा २३ हजार ३ सय अस्थायी शिक्षकले आवेदन दिएका छन् । ‘खुलाको विज्ञापन गरेर स्थगित आन्तरिक परीक्षाको पनि मिति तोक्छौं,’ अध्यक्ष गौतमले भने । अस्थायी शिक्षक र विद्यार्थी संगठनले छुट्टाछुट्टै आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुवै परीक्षा एकै दिन गर्ने गरी तालिका सार्वजनिक गर्न आयोगलाई सुझाव दिएको स्रोतले जनायो । आयोगले भने आन्तरिक व्यवस्था मिलाएर खुलातर्फ सबै पदमा प्रतियोगीहरू सहभागी हुन पाउने गरी परीक्षा तालिका बनाउने जनाएको छ ।

आन्तरिकतर्फ ०७२ अघि अस्थायी सेवामा प्रवेश गरेका शिक्षकको दरखास्त लिएर परीक्षा लिन लागिएको हो । अस्थायी शिक्षकले भने परीक्षा लिएर बिदाइ गर्न लागिएको भन्दै सामान्य प्रक्रियाबाट स्वतस् स्थायी गर्नुपर्ने माग राख्दै आएका छन् ।

विद्यार्थी संगठनहरूले अस्थायी शिक्षकलाई सामान्य परीक्षाबाट स्थायी गरिन लागिएको भन्दै खुला प्रतिस्पर्धा माग गर्दै आन्दोलन गरेका थिए । शिक्षक र विद्यार्थीको दुईतर्फी आन्दोलनका कारण परीक्षा रोकिएको थियो । ‘आन्तरिक परीक्षा भए पनि योग्य शिक्षक छनोट हुने गरी परीक्षा लिन आयोगलाई भनेको छु,’ शिक्षामन्त्री पोखरेलले भने, ‘परीक्षाका लागि मात्र परीक्षा हुुनु हँुदैन ।’ यस पटक आन्तरिक परीक्षा लिएपछि अस्थायी शिक्षकको समस्या सधैंका लागि समाधान हुने विश्वास उनको छ । ‘पास हुनेले स्थायी भएर अध्यापन गराउनुहुन्छ,’ उनले भने, ‘फेल हुनेहरूलाई गोल्डेन हयान्डसेक गरेर बिदाइ गरिन्छ ।’ अध्यापन अनुमतिपत्र लिएर बसेका विद्यार्थीले खुला प्रतिस्पर्धा गर्न पाउनेछन् ।





error: Content is protected !!