कर्णाली प्रदेशको डोल्पामा , से फोक्सुुन्डोमा रिसोर्ट खोल्न संभाव्यता अध्ययन

काठमाडौं । लगानी बोर्डले देशमै सिसा उद्योगको संभाव्यता बारेमा अध्ययन गर्न लागेको छ । संभाव्यता अध्ययन गर्नका लागि परामर्शदता कम्पनी छनौट गर्न बोर्डले मंगलबार सूचना निकालेको छ ।

त्यसैगरी लगानी बोर्डले हिमाली क्षेत्रमा स्की रिसोर्ट र से फोक्सुन्डो तालमा रिसोर्ट खोल्नको लागि पनि संभाव्यता अध्ययन गर्न लागेको छ ।

तीनवटै संभाव्यताको अध्ययन गर्न इच्छुक कम्पनीहरुले २१ दिनभित्र बोर्डमा आशयपत्र पेश गर्नुपर्नेछ । यसबाट उपयुक्त कम्पनीको छनौट गरी संभाव्यता अध्ययनको काम अघि बढाउने लगानी बोर्डको योजना छ ।

देशमा सिसा उद्योगबारे चर्चा हुने गरेपनि अहिलेसम्म यसबारे उपयुक्त अध्ययन हुन सकेको छैन ।

सिसा उद्योगको स्थापना गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्नका लागि कम्पनी छनौट गर्न लागेको लगानी बोर्डका प्रवक्ता उत्तम भक्त वाग्लेले जानकारी दिए । उनले भने, ‘राष्ट्रिय योजना आयोगले हामीलाई सिसा उद्योग अघि बढाउन जिम्मेवारी दिएसँगै यसको संभाव्यता अध्ययन अघि बढाएका हौं, संभाव्य देखिए यसको स्थापनाको लागि वैदेशिक लगानी पनि भित्राइनेछ ।’

यसअघिका प्रारम्भिक अध्ययनहरुबाट बाग्मतीको बालुवामा नै सिसाका कणहरु रहेको देखिएको वाग्ले बताउँछन् ।

बाग्मती बाहेक अन्य नदीमा समेत बोर्डले छानेको संभाव्यता अध्ययन गर्नेछ । देशका विभिन्न नदि र भुभागमा अध्ययन गरी सिसा उद्योग के कति सम्भव छ भनेर उक्त कम्पनीले अध्ययन गर्नेछ ।

डोल्पा जिल्लामा पर्ने से फोक्सुन्डो तालमा पनि रिसोर्ट निर्माण गर्न संभाव्य रहेको वा नरहेको बारेमा बोर्डले अध्ययन गर्न लागेको छ ।

सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा रिसोर्ट खोल्नको लागि अध्ययन गर्न लागिएको प्रवक्ता वाग्ले बताउँछन् ।

पर्यटक मन्त्रालयको आग्रह अनुसार यसको अध्ययन अघि बढाउन लागिएको हो । साथै बोर्डले हिमाली क्षेत्रमा बनाइने इस्कि रिसोर्टको बारेमा पनि संभाव्यता अधययन गर्ने कम्पनी छनौट गर्न लागेको छ । तर, यस्तो रिसोर्ट कुन स्थानमा बनाउने भनेर चाँही अहिले कुनै निश्चित भएको छैन ।





error: Content is protected !!