बाईकाँडाको दलित प्राविमा दलित विद्यार्थी मात्र

जाजरकोट , नलगाड नगरपालिका–१२ को बाईकाँडा दलित समुदायको मात्र बस्ती हो । उक्त बस्तीमा सञ्चालन गरिएको दलित प्राथमिक बिद्यालयमा दलित समुदायका बालबालिकाहरुले मात्र अध्ययन गर्दै आएका छन् । २०५० सालमा स्थापना भएको दलित प्राथमिक विद्यालयमा अध्ययन गर्ने पहिलो चरणका विद्यार्थीहरुमा सोही बस्तीका तेजबहादुर विक, चन्द्रबहादुर विक हुन् ।
आईएडसम्मको पढाई पुरा गरेर चन्द्रबहादुर विक सोही दलित प्राविको ब्यबस्थापन समितिका अध्यक्ष बनेका छन् भने, तेजबहादुर विकले पनि आईएडसम्मको पढाई पुरा गरेर गाउँको सामाजिक सेवाका काममा लागि परेका छन् । विद्यालय स्थापना कालमै शिक्षक नियुक्ति लिएर त्यसै विद्यालयमा शिक्षण गरिरहेका गुल्मीका हरिप्रशाद ज्ञवाली हालसम्म प्रअ भएर विद्यालय सञ्चालन गरिरहेका छन् । नियमित पुजापाठ गर्ने बाहुन भएता पनि त्यस विद्यालयमा आएर शिक्षण गर्न थाले देखि ज्ञवालीले कहिले पनि जातिय भेदभाव नगरेको स्थानीय तेजबहादुर विकले बताउनुभयो ।
शिक्षण पेशाका लागि त्यस गाउँमा पुगेका शिक्षक ज्ञवालीले सुरुदेखिनै दलित समुदायको हातको पानी खान थालेको बताउदै उहाँले भन्नुभयो –‘दलित समुदायले छोएको पानी खाना थालेपछि मलाई पुजापाठको लागि पुजामा बोलाउन पनि छोडियो, पुजामा मलाई बोलाउन छोडेकोमा मलाई कुनै दुख लागेको छैन, मेरो शिक्षणवाटै निरक्षर बस्तीलाई साक्षर बनाउनुको साथै समुदायकै अगुवा बनाउन सफल भएकोमा म निकै खुशी बनेको छु ।’
दलित प्राविमा प्रथम चरणमा अध्ययन गरेका तेजबहादुर विक साविकको भगवती गाविसवाट एसएलसी पास गर्ने पहिलो दलित विद्यार्थी हुन् । भक्खरै सुरु भएको नयाँ शैक्षिक सत्रमा त्यस विद्यालयमा बाल शिक्षामा अध्ययन गर्ने बालबालिकाहरुको संख्या जम्मा ४४ रहेको प्रअ ज्ञवालीले जानकारी दिए । प्रअ ज्ञवालीले दिएको जानकारी अनुसार कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने जम्मा विद्यार्थीहरुको संख्या ९८ रहेको छ ।
त्यस विद्यालयमा अध्यापन गरिरहेकी सारदा श्रेष्ठ दरबन्दीका शिक्षिका हुन् भने, कमलबहादुर विक निजी श्रोतका शिक्षक हुन । सुनिता शाही उक्त विद्यालयको बाल शिक्षा सहयोगी कार्यकर्ता हुन् ।
पूर्वाधार विकासमा निकै पछाडी परेको उक्त दलित प्राविमा नलगाड नगरपालिकाको नगर सभावाट विनियोजन गरिएको ८६ हजार ४ सयको बजेटवाट यस बर्ष विद्यालयको शौचालय मर्मत गरिएको छ । ७५ हजार नलगाड नगरपालिकाको अनुदान र बाँकी रकम बैकल्पिक उर्जाको अनुदानमा हजार वाट क्षमताको सोलार सेट जडान गरिएको छ ।
पुर्वाधार विकासमा खेलमैदान, टेवुल, बेन्च लगाएतको बाताबरणिय विकास अभावमा उक्त विद्यालय सञ्चालनमा रहेको छ । ९८ घरधुरी रहेको बाईकाँडामा एक घर बोहरा र एक घर गुरुङ्ग समुदायको मात्र रहेको छ भने, ९६ घरधुरी दलित समुदायकै रहेका छन् । उक्त बस्तीको कुल जनसंख्या ६ सय ३७ रहेको छ । जिल्ला सदरमुकाम खलंगा देखि बाईकाँडा ३५ कोष टाढाको दुरी पुर्वमा रहेको छ ।








