डोल्पाका ज्येष्ठ नागरिकले अझै पाएनन् सामाजिक सुरक्षाभत्ता

सरकारले प्रत्येक वर्ष उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता यो चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा समेत डोल्पाका जेष्ठ नागरिकहरुले अझै पाउन सकेका छैनन् । पहिलो किस्ता मंसिरको पहिलो साता, दोस्रो किस्ता फागुनको पहिलो साता र तेस्रो किस्ता असारको पहिलो सातामा सामाजिक सुरक्षा भत्ता बापतको रकम बुझदै आएकोमा यो आर्थिक वर्षको तेस्रो किस्ता लागि सक्दा समेत सुरक्षाभत्ता नपाएपछि जेष्ठ नागरिकहरुमा निराशा छाएको छ ।
सरकारले प्रत्येक वर्ष ७० वर्ष पुगेका बद्धबद्धा नागरिकलाई प्रतिमहिना दुई हजारका दरले वर्षमा चौबिस हजार, ६० वर्ष उमेर पुगेका नागरिकलाई प्रति महिना एक हजारका दरले वर्षमा बाह्र हजार, एकल महिला, जनजाती र दलितका जेष्ठ नागरिकलाई प्रतिमहिना एक हजारका दरले वार्षिक बाह्र हजार, अपाङ्ग ९क० बर्गलाई प्रति महिना दुई हजारका दरले वार्षिक चौबिस हजार र अपाङ्ग ९ख० बर्गलाई प्रतिमहिना ६ सयका दरले बार्षिक सात हजार दुई सय सामाजिक सुरक्षा बापत भत्ता उपलब्ध गराउँदै आएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–१ का ७८ वर्षीय रबिप्रसाद न्यौपाने भने‘बिगतमा त सुरक्षाभत्ता चार चार महिनाको पाइन्थ्यो यो वर्ष त जेठ लाग्नै थालिसक्यो अझै भत्ता पाएका छैनौँ, कतै भत्ता कटाएको त होइन सरकारले, वडा सचिवलाई सोध्यो आउँछ आउँछ भन्छन् तर अहिले सम्म आउँदैन’ ।
न्यौपाने मात्र होइनन् त्रिपुरासुन्दरी नपा–१० का नारायण गिरीले पनि सामाजिक सुरक्षा भत्ता नपाएकोमा दुखेसो पोखे । उनले भने‘चुनाव ताका त भोट माग्नआउँदा नेताहरुले खाइपाइ आएको भत्ता बढाएर प्रतिमहिना पाँच हजार बनाउने भन्थे तर यो वर्ष त अहिले सम्म पाँच हजार त के बिगतमा पाइरहेको भत्ता समेत पाएका छैनौँ ।’
त्यस्तै त्रिपुरा सुन्दरी नगरपालिका १ बस्ने ज्येष्ठ नागरिक पुना देबी न्यौपाने पनि भत्ता पाउने वा नपाउने भन्नेमा बेखवर छिन् । गाँउमा कोही नयाँ मान्छे आउने बित्तिकै हाम्रो भत्ता कहिले पाईन्छ भन्दै सोध्छिन् । ‘पहिला पहिले त समयमै भत्ता पाईन्थ्यो, अहिले त तीन पटक बुझिसक्ने बेला एक पटक पनि पाईएको छैन्, संघीयता आएपछि खाईपाई आएको सेवा सुविधा पनि कटौटी हुने रहेछ’ उनले दुखेसे पोखिन् ।
सरकारले उपलब्ध गराउँदै आएको समाजिक सुरक्षाभत्ता मात्र होइन बालबालिकाहरुले पाउँदै आएको पोषण बापतको भत्ता समेत डोल्पाका बालबालिकाहरुले यो चालु आव ०७४।०७५को तेसा्रो चौमासिक लाग्नै थाल्दा समेत अहिले सम्म पाउन सकेका छैनन् । सरकारले कर्णालीका पाँच वर्ष सम्मका बालबालिकाहरुलाई प्रतिमहिना चार सयका दरले बार्षिक चार हजार आठ सय रुपैयाँ पोषण भत्ता बापत उपलब्ध गराउँदै आएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटका निमित्त कार्यकारी जयशंकर धितालले प्रत्येक वार्डबाट जेष्ठ नागरिक तथा बालबालिकाहरुको नयाँ डाँटा नगरमा नआइसकेकाले डाटा संकलन भइरहेकाले सामाजिक सुरक्षाभत्ता र बालबालिकालाई उपलब्ध गराउँदै आएको पोषण बापतको भत्ता बितरणमा ढिलाई भइरहेको बताए । उनले भने‘प्रत्येक वडामा कर्मचारी खटाएर बृद्धबृद्धामा जेष्ठ नागरिक तथा दलित अपाङ्ग एकल महिला र बालबालिकाको एकिन डाटा संकलन भइरहेको र जेष्ठको दोश्रो साता सम्ममा बितरण गरिने छ ।’
त्रिपुरासुन्दरी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता र बालबालिको पोषण भत्ताको लागि एक करोड चौरासी लाख बराबरको बजेट प्राप्त भएको र वडावडाबाट तथ्यांक बिवरण आउन ढिलाइ भएकाले अपुग हुन गएमा थप बजेट माग गर्न भने समस्या पर्ने नगरपालिकाले जनाएको छ ।
पहिलो र दोश्रो किस्ता बितरण गरेको भए तेस्रो किस्तामा अपुग भएको रकम थपको लागि माग गर्न सजिलो हुन्थ्यो तर पहिलो र दोश्रो किस्तानै बितरण नभएकाले अन्तिम किस्तामा एक्कासी संख्या बढेर आएमा के र कुन आधारमा थप रकम माग गर्ने भन्ने समस्या हुने निमित्त कार्यकारी जयशंकर धितालले बताए ।










