असिनाले विउँ नै बाँकी राखेन

जाजरकोट , गएराती परेको असिनाले जिल्लाको बारेकोट गाउँपालिका , कुशेगाउँपालिकामा गहुँको विउँ नै नरहने गरि क्षति भएको छ ।
गएराती लगातार दुई घण्टा परेको असिनाले गहुँ, अन्य तरकारी वाली , जंगलमा रहेको काफल लगाएमा क्षति भएको बारेकोट गाउँपालिका वडा ५ का स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिनुभयो । गहुँ पाकेर भित्र्याउन ठिक्क भएका किसानहरु असिनाले क्षति बनाए पछि किसानहरु पीडामा रहेको शाहीको भनाई छ । बारेकोट गाउँपालिकाका करिव ५ हजार घरधुरीले लगाएको गहुँ र तरकारी बालीमा क्षति भएको हो । वर्षेनी खाद्य संकट पर्ने यो क्षेत्रमा यो पटक भित्र्याउन ठिक्क भएको अवस्था रहेको गहुँमा क्षति भएपछि किसानहरु खाद्य अभावको चिन्तामा परेका छन् ।
वर्षेबाली भण्डारण गरेको अन्न सकिएको र नयाँ अन्न असिनाले नष्ट गरेपछि यहाँका किसानहरु मर्कामा परेका हुँन् । अहिले सम्मकै ठुलो असिना परेको कुशेगाउँपालिकाका स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । कुशेका केही क्षेत्रमा मात्र गहुँबालीम क्षति भएको स्थानीयले बताएका छन् । थापाका अनुसार गहुँको नल समेत असिनाले बाकी राखेको छैन् । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले क्षतिको समाचारले आफु निकै चिन्तित भएको बताउनुभयो । स्थानीय वजारमा खाद्यान्न नपाईने र नेपाल खाद्य संस्थानको घाट डिपोमा चामल नभएका कारण समस्या भएको स्थानीयवासीको गुनासो छ । असिनाकै कारण बारेकोटकै चौथारी पाटनमा ४० भन्दा वढी भेडाहरु मरेको किसानले जानकारी दिएका छन् ।
जाजरकोटका प्रतिनिधीसभा सांसद तथा वन मन्त्री शक्तिवहादुर वस्नेतले असिनाले गहुँमा पारेको क्षतिका विषयमा चिन्तित भएको बताउँदै खाद्य संकट टार्न पहल गरिने बताउनुभयो । क्षतिको विवरण लिन स्थानीय गाउँपालिका र प्रशाषणलाई निर्देशन दिएको र विवरण आउँन वितिकै राहत प्याकेजका लागि गृहकार्य हुँने उहाँको भनाई छ ।










