यातायात अवरुद्धपछि बिरामीलाई सास्ती

जाजरकोट — कुशे गाउँपालिका ५ की धनरूपा परियार मुटुरोगबाट पीडित छिन् । सोही गाउँपालिका ७ का पुथीबहादुर घर्ती पनि सिकिस्त बिरामी छन् । तर उनीहरूले उपचारका लागि अस्पताल पुग्न पाएका छैनन् ।
गत बुधबारदेखि खलंगा–पाँचकाटिया–जहरगाउँ सडकमा यातायात बन्द भएपछि परियार र घर्तीले उपचारका लागि अस्पताल पुग्न नपाएका हुन् । यातायातका साधन सञ्चालन नभएपछि उनीहरू दुवैजना कुशे ५, जहरगाउँमा अलपत्र परेका छन् ।
उक्त सडक चार दिनदेखि अवरुद्ध भएपछि कुशे र बारेकोट गाउँपालिकाका दर्जन बिरामीसहित सयौं यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् । सडक अवरुद्धपछि यात्रुहरू खलंगा, पाँचकाटिया, फूलचाउली, जहरगाउँ, खुर्पालगायत स्थानमा अलपत्र परेका छन् ।
व्यवसायीले भाडादर महँगो लिएको भन्दै स्थानीयले यातायात बन्द गरेका हुन् । ढिमे, खुर्पालगायत गाउँका स्थानीयले खलंगा पाँचकाटिया जहरगाउँ सडकमा भाडादर चर्को भएको भन्दै कुशे गाउँपालिका र प्रहरीसमक्ष उजुरीसमेत गरेका थिए । स्थानीय बासिन्दाको जनगुनासोअनुसार व्यवसायीलाई भाडा घटाएर मात्र यातायात सञ्चालन गर्न निर्देशन गर्दा उल्टै यातायात बन्द भएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । व्यवसायीले मनोमानी भाडा असुलेकाले स्थानीय बासिन्दाबाट गुनासो आएको अध्यक्ष बस्नेतले बताए । ‘व्यवसायीले भाडा घटाउन नमान्दा यातायात बन्द भएको हो,’ उनले भने ।
यातायात व्यवसायीले खलंगा पाँचकाटिया जहरगाउँ सडकमा भाडा प्रतियात्रु ८ सय लिने गरेका छन् । ३२ किमि लम्बाइको सडकमा ८ सय रुपैयाँ भाडा चर्को भएको अध्यक्ष बस्नेतले बताए । स्थानीयले उक्त भाडा आधा घटाउन माग गरेको उनले बताए । घुम्ती धेरै भएको, अप्ठ्यारो र कच्ची सडकमा चुनौती मोलेर गाडी गुडाउनुपर्ने हुँदा भाडा महँगो लिन बाध्य भएको व्यवसायी नेत्र बस्नेतले बताए । स्थानीयको मागअनुसारको भाडा घटाएर यस सडकमा यातायात सञ्चालन गर्न नसकिने उनले बताए । खलंगा पाँचकाटिया जहरगाउँ सडकमा यातायात सञ्चालन नहँुदा यात्रुलाई आवजावतमा सास्ती भएको छ ।
यात्रुलाई आवतजावतमा सास्ती हुँदा पनि सम्बन्धित निकाय बेखबर बनेका छन् । सडक यातायात नचल्दा ढिमे, पैंक, अर्छानी, पजारु, टालेगाउँ, नायकबाडा, रामीडाँडा, रोकायगाउँलगायत गाउँका बासिन्दालाई दिनभरको पैदल यात्रापछि खलंगा पुग्नुपर्ने बाध्यता छ । स्थानीयलाई आवतजावतमा सास्ती मात्र हैन, दैनिक उपभोग्य वस्तु ढुवानीमा पनि कठिनाइ भएको छ । यातायात अवरुद्ध हुँदा बिरामी, अपांग, बूढाबूढी, बालबालिका बढी मर्कामा परेका छन् । भाडा घटाएर छिटोभन्दा छिटो यातायात सुचारु गर्न कुशे गाउँपालिका र व्यवसायीबीच छलफल भइरहेको अध्यक्ष बस्नेतले बताए ।
करोडौं खर्च गरेर निर्माण गरेको उक्त सडकको स्तरोन्नति नहुँदा थप समस्या भएको हो । ट्रयाक खुलेको १२ वर्ष बित्दासमेत उक्त सडकको स्तरोन्नति हुन सकेको छैन । सडक विभागलगायत निकायको चरम लापरबाहीले यस सडकमा स्थानीयले यातायातको सहज सुविधा पाउन सकेका छैनन् । ट्रयाक ओपन भएको वर्षौं बित्दा पनि खलंगा पाँचकाटिया जहरगाउँ सडकको स्तरोन्नति हुन नसकेको स्थानीय खम्बप्रसाद सिंहले बताए । ‘दर्जनौं घुम्तीका साथै ग्रेडिङ नमिल्दा १५ करोड बढी खर्चेको ३२ किमि दूरीको सडकमा नियमित यातायात सुचारु हुन सकेका छैनन्,’ उनले भने । पर्यटन र कृषि उत्पादनका हिसाबले महत्त्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नति र निर्माण सम्पन्न हुनुपर्ने उनले बताए । सडकले खलंगा देखि पाँचकाटिया, पैंक, ब्याउली ढुंगा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्नेछ । सडकमा रेखांकनमिलाउने, नाली काट्ने, चौडा पार्ने, ग्रेडिङ मिलाउने, ग्याबिङ, मेसिनरी वाललगायत कार्य हुन सकेको छैन ।










