भेरी करिडोरमा एकै साथ दर्जन पुल बन्दै , बन मन्त्री वस्नेतद्धारा सडकको निरिक्षण


जाजरकोट , यहाँको भेरी करिडोर भित्र पर्ने छिन्चु — जाजरकोट सडक खण्डमा पर्ने सानाठूला खोलामा १२ वटा पक्की पुल निर्माण कार्य जारी रहेको छ । एक वषभित्र सबै पुल बनिसक्ने गरी काम अघि बढाइएको हो । सडक विस्तारसँगै लामो समयदेखि ओझेलमा परेको पुल निर्माणले पछिल्लो समय तीव्रता पाएको छ ।
यो सडकखण्ड दुई वर्षअघि नै कालोपत्रे भइसकेपछि पुल नहुँदा बर्खामा खोला बढेपछि यातायात सेवा अवरुद्ध हुँदै आएको थियो । एक सय सात किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत पर्ने बनगाड, राकम, काली, लुकइ, छेडा, सिम्लेलगायतका खोलामा पुल निर्माणको काम तीव्र पारिएको छ । यो सडकलाई भेरी करिडोरका रूपमा विकास गर्ने निर्णय गरेसँगै सरकारले पुल निर्माणमा तीव्रता दिएको हो। निर्माण कम्पनीका अनुसार यी पुल दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सडक विभाग पुल योजना र सडक डिभिजनले पुल निर्माणको काम अगाडि बढेको पुल योजना कार्यालय नेपालगन्जले जानकारी दिएको छ।
पुल निर्माणको जिम्मा लामा कन्स्ट्रक्सन र सूर्य कन्स्ट्रक्सन प्रालिले लिएका छन्। यस सडकखण्डको ७० किलोमिटरभित्र ६ ओटा पुल निर्माणका लागि लामा कन्स्ट्रक्सनले २७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर काम गरिरहेको छ । त्यस्तै सूर्य कन्स्ट्रक्सनले ७० देखि १ सय किलोमिटर क्षेत्रभित्र ६ ओटा पुल बनाउने गरी २२ करोड रुपैयाँमा ठेक्का लिएको छ । स्थानीय एवं सरोकारवाला निकायको सहयोग पाए अर्को वर्षको चैतसम्म सबै पुल निर्माण सक्ने सूर्य कन्स्ट्रक्सनका प्रोपाइटर सूर्यबहादुर खड्काले बताउनुभयो ।
गतवर्ष मात्र फेरा, गोजी, काली र बालीखोलामा पक्की पुल निर्माण सकिएको थियो । निर्माणाधीन पुल बनेसँगै यस सडकखण्डमा यातायात सेवा सहज हुनेछ। पुल निर्माणपछि जाजरकोट, डोल्पा र रुकुममा सडक सञ्जाल जोडिनेछ । यसले यातायात सेवा सञ्चालन नियमित हुने, मालसमान ढुवानीमा सहजता आउने, स्थानीय उत्पादनलाई जिल्लाबाहिर पठाउन सजिलो हुने र आवतजावतमा सहज पुग्नेछ।
पुल निर्माणपछि जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, डोल्पा, जुम्लालगायत जिल्लामा दैनिक उपभोग्य वस्तु ढुवानीमा सहयोग पुग्ने जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो । ‘जिल्लामा उत्पादित कृषिजन्य मालसामान निर्यातमा पनि सहजता आउनेछ । पुल निर्माण कार्य छिटो र गुणस्तरमा ध्यान दिन जाजरकोटका सांसद तथा बन मन्त्री शक्तिवहादुर वस्नेतले निर्देशन दिएको बताउनुभयो । खलंगा देखि रिम्ना सम्मको सडक स्तरउन्नती छिटो गर्न निर्माणमा जुटेको कम्पनीलाई मन्त्री वस्नेतले निर्देशन दिएको बताउनुभयो ।










