विभागको लापरबाहीले पुल निर्माण अलपत्र

जाजरकोट — छिन्चु जाजरकोट सडकमा यातायात सञ्चालन भएको १० वर्ष बित्यो । उक्त सडक कालो पत्रे भएको पनि ५ बर्ष वितेको छ । तर सडकको पासागाड खोलामा पुल निर्माण हुन सकेको छैन । सडक विभागको लापरवाहीले पुल निर्माण ५ वर्षदेखि अलपत्र परेको छ ।

पासागाड खोलामा पुल नबन्दा वर्षात्मा यातायात अबरुद्ध हुँदा जाजरकोट, डोल्पा र जुम्लाका यात्रुलाई सास्ती हुने गरेको छ । वर्षात् हुनेबित्तिकै खोलाको बाढीका कारण यात्रुलाई आवजावतमा सास्ती हुने गरेको हो ।

सडक विभागको चरम लापरबाहीले खलंगादेखि ६ किमिको दूरीमा रहेको भेरी
नगरपालिका ४ स्थित पासागाड खोलामा पुल निर्माण हुन नसकेको हो । पासागाड खोलामा पुल निर्माणको सुरसारसमेत भएको छैन । विभागको गलत डिजाइनका कारण पासागाड खोलामा पुल निर्माण अलपत्र परेको हो । सडक विभाग र आईएमई आरसी कन्सलटेन्सी ललितपुरको चरम लापरबाहीको कारण पुल निर्माण अलपत्र परेको हो । २ वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने पुलको कार्य सुरुसमेत नभएको स्थानीय वीरबहादुर बस्नेतले बताए । पुल निर्माणमा ढिलाइ हुँदा आवतजावत तथा दैनिक उपभोग्य वस्तु आपूर्तिमा पटकपटक अवरोध आउने गरेको बस्नेतले बताए । ‘सडक कालोपत्रे भएकै ५ वर्ष बित्यो तर पुल निर्माण सुरु भएन,’ उनले भने । पुल नबन्दा बाढी आएको बखत रातभर सवारीसाधन खोला किनारमा राखेर बस्नुपर्ने बाध्यता भएको चालक भीम बुढाले बताए । जबरजस्ती खोलामा हाल्दा पटकपटक गाडी फस्ने र बिग्रने गरेको उनले बताए ।

परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माणको कार्य हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुशील पौडेलले बताए । पुल निर्माणका लागि ५ वर्षअघि विभागको सूचनाबमोजिम ३ करोड लागतमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौंको टेन्डर स्वीकृत भएको थियो । तर निर्माण स्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको पौडेलले बताए । रिडिजाइन नगरी पुल निर्माण गर्न असम्भव भएपछि समस्या भएको उनले बताए । सडक विभागले रिडिजाइन गर्न अलमल गर्दा पुल निर्माण ढिला भएको हो ।

‘पुल निर्माण स्थलको भौगोलिक अवस्था र डिजाइनले मेल नखाँदा निर्माण कम्पनीले निर्माण कार्य सुरु गर्न नसकेको हो,’ पौडेलले भने । सम्झौता अनुरुपको लागत र निर्माण कार्यको तालमेल नमिल्दा पुल निर्माण अघि बढ्न नसकेको पौडेलले बताए । परामर्श कम्पनीले ७ लाखको लागतमा पुलको डिजाइन कार्य गरेको इन्जिनियर पौडेलले बताए । ‘पुलको डिजाइन एक छ, निर्माण स्थलको लोकेसन अर्को छ । कसरी निर्माण सुरु गर्ने रु’ उनले भने । परामर्शदाताले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ । तर पासागाड खोलामा सर्भे गर्दा निर्माण स्थलको २५ मिटर भन्दा लम्बाइ बढ्दैन । कम लागतमा निर्माण हुने पुलको लागि पनि किन थप बजेट खेर फाल्ने ,’ उनले भने । ३ वर्ष अघि निर्माण कम्पनीलाई साइड देखाउने क्रममा गलत डिजाइनको खुलासा भएको उनले बताए । सडक डिभिजनले पुल निर्माणका लागि ३ करोड भुक्तानी नगर्ने भएपछि निर्माण कम्पनीले कार्य सुरु नगरेको उनले बताए । सडक विभागले ठेक्का सम्झौताअनुरुप भुक्तानी दिने भए तत्काल कार्य सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ । परामर्शदाताले पुलको सर्भे स्थलगत नगरेरै काल्पनिक डिजाइन बनाएको देखिन्छ । सडक विभागले पुलको हचुवा डिजाइन गर्ने परामर्श कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाएको उनले बताए । पुलको रिडिजाइन भएर लागत यकिन नभएसम्म निर्माण कार्य अघि नबढ्ने उनले बताए ।





error: Content is protected !!