नगरपालीको केन्द्र विवादले विकासका काम ठप्प

लेख बुढा डोल्पा
डोल्पाको सदरमुकाम दुनैकै स्थानीय तह ठुलीभेरी नगरपालिकाको केन्द्र विवाद अझै सुल्जना नसक्दा यो नगरपालिका वडा नं. ३ दुनैका कुनै पनि विकासका काम हुन सकेका छैनन् । ठुलीभेरी नगरपालिकाको केन्द्र रहेको यस नगरपालिकाको वडा नं. ३ दुनैमा रहेको अस्थायी केन्द्रलाई राजपत्रमा प्रकाशन गरी जुफाल कायम गरिए पछि यस वडाका विकास निर्माणका योजनाहरु कुनै पनि अगाडि बढ्न सकेका छ्रैनन् ।
डोल्पो क्याम्पस, हरियाली योजना, सडक लगायतका विभिन्न योजनाहरु पास भएको भए पनि सुरुमा वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले आफ्नो पार्टीका मान्छेलाई मात्र निर्माण उपभोक्ता समितिमा राखेको र आफ्नो पार्टीलाई पाखा लगाएको भन्दै एमालेका नेता कार्यकर्ताहरुले विरोध गरेकाले सम्झौता समेत हुन नसकेको अवस्थामा फागुन १४ गतेको राजपत्रमा प्रकाशित सूचनाबाट कुनैको अस्थायी केन्द्रलाई जुफालमा कायम गरिए पछि नगर प्रमुख र दुनैबासिहरुका बिचमा दुरि बढेकाले हालसम्म कुनै पनि योजनाको सम्झौता हुन नसकेको वडा सचित धर्म शाहीले बताए ।

साविकको दुनै र रह गाविसमा विनियोजन गरिएको बजेट अनुसारका योजनाहरु मध्ये वडा नं. ३ तल्लोदुनै, मेहलसेरा र उपल्लोदुनै गाउंका स्थानीयहरुको माग अनुसारका ७ वटा विभिन्न योजनाहरु नगर परिषदले पास गरेको थियो । बजेट समेत विनियोजन भैसकेका यी योजनाहरु तेस्रो चौमासिकको पहिलो महिना वितिसक्दा पनि कुनै पनि योजनाको निर्माण सुरु त के सम्झौता समेत हालसम्म नभएको नगर कार्यपालिकाका सदस्य हरिप्रसाद डांगीले बताए ।
सुरुमा उपभोक्ता समिति गठनमा विवाद, त्यस पछि वडा अध्यक्षले उपभोक्ता समितिको विवाद सुल्झाउनतिर नलागेर काठमाण्डौं बसिराखेकाले र अहिले आएर नगरपालिकाको केन्द्र विवादले गर्दा कुनै पनि योजनाको सम्झौता नै नभएकाले यस वडाका विकासका काम सबै प्रभावित भएको ठुलीभेरी नगरपालिकाका लेखा अधिकृत सन्तोष खड्काले बताए ।
योजना सम्पन्न गर्नका लागि निर्विवादित निर्माण उपभोक्ता समितिहरु गठन गर्नु पर्नेमा वडा नं. ३ का वडा अध्यक्षले त्यही पनि गर्न नसकेको र उपभोक्ता समिति गठन गरी सम्झौतातिर लाग्नु पर्नेमा त्यता नलागि नगर विवादतिर लागेको र यो वडाको विकासका काममा वाधा वडाकै स्थानीयले गरिरहेको आरोप नगरपालिकाको छ ।
नगरपालिकाको केन्द्र प्रमुखले छलेर जुफाल लिएका कारण केन्द्र नआएसम्म कुनै पनि विकासका काममा सहभागि नहुने वडा नं. ३ का स्थानीयहरुको अडान रहेको छ । उनीहरु भन्छन् हामी विकास खान नपाएका हौं र । ढांट छल गर्ने नगर प्रमुखले दिएका विकास नलिन सक्छौं एक स्थानीयले भने । नगरपालिकाको केन्द्र विवाद सम्मानित सर्वोच्च अदालतसम्म पुगेर विचाराधिन अवस्थामा छ ।










