प्रधानमन्त्रीको उपस्थितिमा जुम्लामा सिनेट वैठक सम्पन्न एम विविएस अध्ययन सहित, दश अर्बको बहुबर्षिय गुरु योजना पारित

हेमन्त के सी जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सिनेटको छैटौ वैठक सम्पन्न भएको छ ।
साविकको कर्णाली अञ्चलको मुकाम जुम्लामा रहेको केन्द्रीय कार्यालयमा बसेको छैटौ वैठकले कर्णाली प्रतिष्ठानमा उच्च स्तरको प्राविधिक स्वास्थ्य क्षेत्रको कार्यक्रमहरु एमविविएस, एमडिएमएस, एमडिजिपी अध्ययन गर्ने औपचारिक बाटो खुलेको छ । सिनेटले प्रतिष्ठानको उच्च स्तरको एमविविएस पढाईको योजना र बजेट पारित सहित वैठकमा प्रस्ताव गरेका ७ वटै निर्णयहरु पारित भएका छन् ।

यसैगरी सिनेट वैठकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दश अर्व बराबरको पञ्च बर्षिय योजना पारित भएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । दश अर्व बजेट सरकारले उपलब्ध गराएमा एमविविएस अध्ययन गर्ने अत्याधुनिक भौतिक संरचना वन्ने र मेडिकल सामग्रीहरु समेत उपलब्ध हुने भएका छन्् । अहिले स्टाफनर्स र एचए अध्ययन भईरहेको छ ।
सिनेटमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला नेपालको महत्वपूर्ण धरोहरको स्वास्थ्य संस्था भएको र उच्च स्तरको काम शुरु गरेको भन्दै प्रतिष्ठानलाई सरकारले सधै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सिनेट वैठकमा जुम्लामा निर्माण भएको ३०० सैयाको भवन निर्माणमा अपुग भएको रकम उपलब्ध गराउने, आर्थिक बर्ष २०७५।०७६ का लागि प्रस्तावित बजेट पारित, कर्णाली प्रतिष्ठानको केन्द्रीय कार्यालयलाई केन्द्र बनाएर कर्णाली प्रदेशका १० जिल्ला र पिछडिएको प्रतिष्ठानको ऐनले तोकेका अछाम, बझाङ र बाजुरामा शैक्षिक कार्यक्रमहरु संचालन गरिने, प्रतिष्ठानको शैक्षिक कार्यक्रम संचालन गर्न आवश्यक दरवन्दी स्विकृत, प्रतिष्ठानमा मेडिकल तथा नर्सिङ विधाका कार्यक्रमहरु संचालन गर्न कर्णाली अनुकुल काउन्सिलहरुवाट विशेष व्यवस्था गरिनु पर्ने र पिछिडिएको जिल्ला सँगै कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान र पश्चिम रुकुममा समेत पढ्न छात्रवृत्ति कोटा गरिनुपर्ने लगायतका प्रस्तावहरु पारित भएको प्रतिष्ठानका सिनेट सदस्या सत्य पहाडीले जानकारी दिनुभयो ।
पञ्च बर्षिय योजनानै पारित भएपछि प्रतिष्ठान कोशेढुंगाको रुपमा स्थापित हुने प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले बताउनुभयो । उहाँले अव कर्णाली प्रदेशका १० र अछाम बझाङ, बाजुराका जिल्ला अस्पतालहरु सँगको समन्वयमा विशेषज्ञ सेवा संचालन गरिनुपर्ने बताउनुभयो ।
रारा कर्णाली पर्यटन बर्षको अवसरमा जुम्ला आईपुग्नु भएका प्रधानमन्त्री सहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पुर्व सभामुख सुभाषचन्द्र नेवाङ, पूर्व गृह मन्त्री जर्नादन शर्मा सहितको उच्च स्तरको टोली जुम्लामा पुगको थियो ।
हेमन्त के सी ———









