सुर्खेतमा ५० वर्षपछि ठूलो विमान अवतरण, केन्द्रसंग जोडिँदै कर्णाली प्रदेश

सुर्खेत, कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा ५० वर्षपछि पहिलोपटक ४७ सीट क्षमताको विमान अवतरण गरेको छ । बुद्ध एयरको नाइन एन एआईएन विमान बुधबार वीरेन्द्रनगरमा अवतरण गरेको हो । विमान अवतरण भएपछि कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावललगायतले विमान चालक टोलीलाई विमानस्थलमा स्वागत गरेका थिए ।
आर्थिक मामिला मन्त्री ज्वालाले बुद्ध एयरको यो उडानले कर्णाली प्रदेशको राजधानीसँग प्रत्यक्ष सम्बन्ध जोड्न र पर्यटनको विकासमा टेवा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताए । ‘कर्णाली प्रदेशलाई समृद्ध बनाउने हाम्रो परिकल्पनामा बुद्ध एयरले ठूलो योगदान दिनेछ,’ उनले भने, ‘निरन्तरका उडानले पर्यटकको चाप बढ्ने र त्यसबाट कर्णाली प्रदेशको आयस्रोतमा वृद्धि हुने अपेक्षा छ ।’
होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले बुद्ध एयरको विमान सफल अवतरण भएकोमा सबैलाई बधाई दिए । ‘यो हामी सबै व्यवसायीहरूका लागि खुशीको कुरा हो,’ उनले भने, ‘यसबाट कर्णाली प्रदेशको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’
उक्त विमानमा दुई क्याप्टेनसहित १६ जनाको टोली वीरेन्द्रनगर आइपुगेको छ । क्याप्टेन नञ्जनकुमार शर्मा र क्याप्टेन आङ्गेलो शेर्पाले उडाएको विमानले वीरेन्द्रनगरमा तीन चक्कर लगाएर अध्ययन गरेको थियो । त्यसपश्चात क्याप्टेन शर्माले कम्तिमा पनि ४० जना यात्रुहरू ल्याउन र लैजान सकिने बताए ।
‘२५ डिग्रीभन्दा कम तापक्रम भए हामी ४७ जनालाई सहजे ल्याउन सक्छौं,’ उनले भने, ‘तर ३० डिग्रीभन्दा माथि तापक्रम भए ४० जनाको हाराहारीमा उडान भर्न सकिने हाम्रो अनुमान छ ।’ उनले विमानस्थलमा सहजै अवतरण गर्न सकिने बताउँदै अब कागजी प्रक्रिया मिलाउन मात्रै बाँकी रहेको र आगामी वैशाख १ गतेदेखि निरन्तर जहाज अवतरण गर्ने बताए ।
नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख विनोददेव पन्तले उक्त जहाज अवतरण गराउन विमानस्थल तयार रहेको बताए । यसकालागि आवश्यक भौतिक पूर्वाधार तयारी रहेको र थप पूर्वाधारहरूको विकास गर्र्दै लैजाने तयारी भएको उनको भनाई थियो । ‘१२५५ मिटर लामो रन वे छ । यसको चौडाइ ३० मिटर रहेको छ ।’ विमानस्थल बारे प्रतिक्रिया दिदैं उनले भने, ‘सुरक्षाका दृष्टिले पनि हामी अब्बल छौं ।’
उक्त विमानले आगामी वैशाख १ गतेदेखि नियमित उडान भर्ने तयारी गरेको छ । सुर्खेतबाट काठमाडौंको भाडादर ६ हजार ५ सय हाराहारीमा तोकिने वुद्ध एयरका निर्देशक खगेन्द्र बस्नेतले बताए । ‘आजको अवतरण यहाँको भौगोलिक अवस्थाको अध्ययन, विमान चलाउन सकिन्छ कि सकिँदैन वा कस्तो समस्या आउनसक्छ भन्ने बारेको अध्ययन हो,’ उनले भने, ‘अध्ययनपश्चात हामीले निरन्तर आवश्यकताअनुसार उडान भर्ने तयारी गरेका छौं ।’
२०२४ सालपछि वीरेन्द्रनगर विमानस्थलमा ठूलो जहाज अवतरण भएको हो । उनले रनवे पर्याप्त भए पनि विमानस्थल उत्तर–दक्षिण हुँदा ठूला जहाजहरू भने नआएका बताए । उनका अनुसार बुद्ध एयरको ठूलो जहाजले करीब ५० वर्षपछि विमानस्थलमा सफलतापूर्वक परीक्षण सम्पन्न गरेको छ ।
यसअघि वीरेन्द्रनगरबाट साना जहाजमा भाडा महंगो हुने भएकाले कर्णाली प्रदेश केन्द्रीय राजधानी र अन्य प्रदेशसँग हवाई सम्पर्कमा रहेको थिएन । सुर्खेतलाई केन्द्र बनाएर सिङ्गल इञ्जिनका जहाजहरू कर्णालीका पहाडी जिल्लाहरुमा कार्गोमा प्रयोग हुँदै आएका थिए भने अब ठूला जहाजबाट काठमाडौंसहितका ठूला सहरमा सीधा हवाइ सम्पर्क हुने भएको छ ।
यसबाट कर्णालीवासी खुशी देखिएका छन् ।
शेरवहादुर थापा लोकान्तर










