शहिदका बुवाले नेतालाई दिए सुझाव पार्टी फुटेर हैन, जुटेर देश चलाउनु पर्छ

दीपबहादुर घर्ती
जाजरकोट । उठ्न–बस्नलाई पनि गाह्रो पर्ने ८८ बर्षिय लहँका कर्णबहादुर रावल लठ्ठीको सहारामा आधा घण्टाको बाटो पैदल हिडेर दैनिक नलगाड नगरपालिकाका प्रमुखको निबास दल्लीमा पुग्ने गरेका छन् । नगर प्रमुख टेकबहादुर रावललाई भेटेर ८८ बर्षिय कर्णबहादुरले देश चलाउने पार्टी फुटेर हैन, जुटेर अगाडी बढ्नु पर्ने सुझाव दैनिक दिने गरेका छन् ।

नेकपा माओवादी पार्टीद्धारा विगतमा सञ्चालन गरिएको जनयुद्धका दोश्रो शहिद मानबहादुर रावलका बुवा कर्णबहादुर रावलले माओवादी केन्द्रवाट टिकट लिएर चुनाव जितेका नगर प्रमुख रावललाई भेटेर यस्तो सुझाव दिन थालेका हुन् । परिवर्तनका पक्षमा आफ्नो छोराले बलीदान गरेको वताउदै कर्णबहादुरले भने–‘मेरो छोरा यस धर्तीमा नभएता पनि मैले मेरो छोरा मानबहादुर जस्तै हजारौं छोराहरु देखि रहेको छु, देश चलाउने हिक्मत गरेका मेरो पार्टीका नेता तथा छोराहरु फुटेर हैन, जुटेर अगाडी बढ्नु पर्दछ ।’

पटक–पटक चुनाव गरेर राज्यको पैसा खर्च गर्न नहुने वताउदै उनले चुनावका लागि खर्च गरिने राज्यकोषको बजेटलाई देश बिकासमा लगाउनुपर्ने वताए । एकतर्फी रुपमा नलगाड नगरपालिकाका प्रमुखलाई सुझाव दिई रहेका कर्णबहादुरले पत्रकारलाई संकेत गर्दै भने–‘अस्ताउन लागेको सुर्य झै म बृद्ध अबस्थामा पुगीसकेको छु, आज हो कि रु भोली भनेर दिन गन्ती गर्ने अबस्थामा पुगेको मेरो भेट सबैसंग होला–नहोला हिजोसंगै युद्ध लडेका सबै मिलेर देश चलाऔं भन्ने मेरो सन्देश पत्रकारहरुले प्रचण्ड, किरण, बाबुराम र बिप्लवलाई सुनाई दिनु ।’

कुनै पनि ब्यक्तिगत आकांक्षा नभएका शहिद बुवा कर्णबहादुरले विगत जनयुद्धको बलमा भएको परिवर्तनमा जन निर्वाचित जनप्रतिनीधिहरुले देश विकासका लागि सु–शासनयुक्त तरिकाले सत्ता सञ्चालन गरुन भन्ने आकांक्षा ब्यक्त गरेका छन् । आफ्नो गाउँ–घरको चुलो–चौको–आगन–पिढीमा आईपुगेको सिंहदरवारले सबैका कुरा सुन्न सकोस, सबैका पीरमर्कामा एकाकार हुन सकोस भन्ने आफ्नो चहाना रहेको उनले वताए ।

कर्णबहादुर रावलका छोरा मानबहादुर रावलसंगै मानबहादुर ओलीलाई २०५२ साल फागुन १५ गते लहँकै मुलीपोखराको राँदेऊबाट तत्कालिन प्रहरीद्धारा गिरफ्तार गरि ग्रिनीको भीरबाट नलसिङ गाडमा धकेलेर हत्या गरिएको थियो ।

८८ बर्षिय कर्णबहादुर रावल शहिदको बुवा भए जस्तै नलगाड नगरपालीका–५ लविसाकी १८ बर्षिय गीता खड्का पनि शहिदकी छोरी हुन् । जनयुद्धका शहिद केशव खड्कालाई पनि तत्कालिन प्रहरीद्धारा २०५६ साउनमा गिरफ्तार गरि गोली हानेर हत्या गरिएको थियो ।

बुवा केशव खड्कालाई हत्या गरिदाको समयमा गीता खड्का ४ महिनाको गर्भाबस्थामा आमाको पेटमा थिईन् । हाल उनी १८ बर्षको उमेरमा पुगेकी छन् । त्रिभुवन मोडेल कलेज कोहलपुर–११ बाँकेमा डिप्लो कम्प्युटर ईन्जिनेरिङ पढी रहेकी गीताकी आमा श्रृष्टी खड्काले २०६९ सालमा दोश्रो बिबाह गरिसकेकी छन् । एक सदस्य पारिवारीक जीवनमा गीताले आफ्नो लेखाई–पढाईको कामलाई अगाडी बढाई रहेकी छन् । सुन्दर भबिश्य जीवनका लागि आत्ममा सजाईएका असिमित चाहानाहरुलाई गीताले आफ्नो आर्थिक अबस्थाको दायरा भीत्र राख्न खोजीरहेकि छन् ।

बुवाको नाममा नेपाल सरकारले आफुलाई दिएको राहतको पैसाले हालसम्मको पढाई खर्च धानिरहेको गीताको भनाई रहेको छ । डिप्लो कम्प्युटर ईन्जिनेरिङ कोर्ष पुरा गरिसकेपछि पढाइमा बिराम लगाएर जागिरीको खोजी गर्ने गीताले बताईन् । हालसम्म पार्टी राजनीतिको कुनै पनि जानकारी नपाएकी गीताले आफ्नो बुवाले गरेको बलीदानलाई कहिले पनि बिर्सिन नसकिने बताएकि छन् । बुवाको फोटा पनि हेर्न नपाएकि गीताले देश चलाउने जिम्मा लिएका सबै नेता तथा पार्टीहरु एकजुट भएर देश बिकास र नागरिक न्यायका पक्षमा काम गरिरहेको आफुले देख्न चाहको वताईन् ।

देशमा राजनैतिक संस्कारको बिकास हुन सके मात्र अन्य बिकासको सम्भव हुने उनको बुझाई रहेको छ । राजनैतिक संस्कारको विकास गर्नलाई राज्य सत्ताको संरचनामा शासित र शासकको संस्कारलाई अन्त्य गर्नु पर्ने उनको धारणा छ । राज्यसत्तामा सबैको समान बुझाई, समान भुमिका र समान जिम्मेवारी भएमा देश बिकासको कामले गति लिने आफ्नो बुझाई रहेको उनले वताईन् ।

डिप्लो कम्प्युटर ईन्जिनेरिङ कोर्ष पुरा गरेर खुल्ला प्रतिस्पर्दावाट जागिर खाने सोच बनाएकी गीताले जागिरको लागि आफुले कुनै पनि नेतासंग ज्यु हजुरी नगर्ने बताएकि छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!