फेसबुकमा स्टाटस लेखेर कर्णालीको समृद्धि हुँदैन मुख्यमन्त्री शाही

सुर्खेत , कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फेसबुकमा स्टाटस लेखेर प्रदेशको विकास नहुने बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित एक कार्यक्रममा श्रमलाई घृणा गर्ने सोचमा परिवर्तन नभएसम्म विकास र सवृद्धिको सम्भावनासम्म नभएको बताएका छन्।
उनले कसैको विरोध वा समर्थन गरेर विकास र समृद्धि नहुने बताए। मुख्यमन्त्री शाहीले भने, ‘बोलेर केही हुनेवाला छैन, फेसबुकमा स्टाटस लेखेर कर्णालीको समृद्धि हुँदैन, समृद्धिका लागि अब काम गर्नुपर्छ।’ मुख्यमन्त्री शाहीले काम गरेर खाने मान्छेलाई घृणाको दृष्टिले हेर्ने गरिएको भन्दै श्रम र काम गर्नेहरूलाई सम्मान नगरेसम्म देशको विकास हुन नसक्ने बताए। नागरिक श्रमसँग जोडिनु पर्ने बताउँदै मुख्यमन्त्री शाहीले बसीबसी खाने मान्छेलाई घृणा गर्ने संस्कार बसाल्न आवश्यक रहेकोमा जोड दिए। यसअघि कर्णाली प्रदेश सरकारले प्रत्येक महिनाको १ र १५ गतेलाई श्रम दिवसका रुपमा मनाउने निर्णय गरेको थियो।
सरकारको श्रम दिवस मनाउने निर्णयको कार्यन्वयन स्वरुप सुर्खेतको बुलबुले उद्यानमा बिहीबार चैत्र १५ गते भएको सरसफाई कार्यक्रममा मुख्यमन्त्री शाही सहभागी भएका हुन्। सरसफाई कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू लगायत जनप्रतिनिधि र सर्वसाधरणको उपस्थिति रहेको थियो। सुर्खेतमा रहेको बुलबुले उद्यान भित्र कर्णाली क्षेत्रकै चर्चित पर्यटकीय बुलबुल ताल रहेको छ। बुलबुल ताल हेर्नका लागि दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।








