सडक निर्माणमा अवरोध

जाजरकोट — स्थानीयवासीले शान्तिचौतारा–रिम्ना सडक निर्माणको काम अवरुद्ध पारेका छन् । भेरी नगरपालिका १, ३ र ४ का स्थानीय बासिन्दाले जाजरकोट–डोल्पा सडक अन्तर्गतको शान्तिचौतारा–रिम्ना खण्डको करिब ६ किमि सडकको स्तरोन्नति कार्य बन्द गरेका हुन् ।
स्थानीयले सम्बन्धित पक्षसँग उक्त सडकको स्तरोन्नति कार्य गुणस्तरीय बनाउन माग राख्दै आए पनि बेवास्ता भएपछि बुधबारदेखि निर्माण कार्य रोकेका हुन् ।
सडक स्तरोन्नतिका क्रममा नाली निर्माण, मेसिनरी वाल, ग्यापिङ, ग्रेडिङ, चौडाइ, पहिरो व्यवस्थापन, होम पाइप राख्नेलगायत कार्य गुणस्तरीय नभएको भन्दै विरोध जनाएका हुन । व्यवसायीले निर्धारित मापदण्ड अनुसार सडकको चौडाइ पूरा नगर्नु, गत वर्षातमा खसेको पहिरोमा मेसिनरी वाल तथा ग्यापिङ र नाली नलगाएरै कालोपत्रे कार्य सुरु गर्दा विरोध स्वरूप निर्माण रोकेको स्थानीय भद्रबहादुर वलीले बताए । व्यवसायीले भेरी नगरपालिका ३ न्युरोडमा गत असारमा २ सय मिटर सडक भत्किने गरी गएको पहिरोमा मेसिनरी वाल तथा ग्यापिङको काम नगरेरै कालोपत्रे सुुरु गर्दा समस्या भएको उनले जनाए ।
न्युरोडलगायत पहिरोमा मेसिनरी वाल तथा ग्यापिङ, विभिन्न स्थानमा नाली, सडक चौडाइ पुर्याउने काम नभएसम्म सडक निर्माण कार्य अघि बढ्न नदिने ओलीको भनाइ छ । सडक भासिएको तथा पहिरो गएको दर्जन स्थानमा पुनर्निर्माण गर्न बजेट नभएको भन्दै व्यवसायी र सडक डिभिजनले आनाकानी गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । ओलीले सडकको स्तरोन्नतिका लागि भइरहेको कालोपत्रे कार्य अपूरो तथा गुणस्तरहीन हुँदा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न निर्माण कार्य बन्द गरेको ओलीले बताए ।
खलंगाका स्थानीयले गुणस्तरीय सडक निर्माणको माग गर्दै भेरी नगरपालिकामा मंगलबार ज्ञापनपत्रसमेत बुझाइसकेका छन् । गुणस्तरीय सडक निर्माणका लागि चौरजहारी सडक डिभिजन कार्यालय, सडक विभाग लगायत सरोकारवाला निकायले कुनै चासो नदेखाएको ओलीले बताए । सडकको स्तरोन्नतिको कार्य गत वर्षदेखि राजेन्द्ररजलजला कन्स्ट्रक्सनले थालेको थियो । सदरमुकामभित्रको धूलाम्य सडकमा आवत–जावत गर्दा हैरान भएका स्थानीय बासिन्दा कालोपत्रेको काम गुणस्तरयुक्त हुनुपर्ने माग गर्दै सरोकारवाला निकायको ढोका ढक्ढकाउन बाध्य भएका हुन् ।
शान्तिचौतारादेखि कालेगाउँसम्मको ६ किमि सडक अन्तर्गत भेलाले, न्युरोड, थाप्लेचौर, स्याँलालगायत स्थानमा गएको पहिरोको दीर्घकालीन व्यवस्थापन नगरी कालोपत्रको कार्य अधि बढाउन नमिल्ने भेरी नगरपालिका ३ का स्थानीय खेमराज नगरकोटीले बताए । गुणस्तरीय सामाग्रीको प्रयोग गरेर मात्र कालोपत्रे कार्य गर्नुपर्ने नगरकोटीले बताए । ‘सडक कालोपत्रे गरेको भोलिपल्टै भत्किन थाल्यो भने त्यसको जिम्मेवारी कसले लिने रु’ उनले भने ।
व्यवसायीसँगको ठेक्का सम्झौता अनुरूप सडक स्तरोन्नतिको कार्य गर्न–गराउन चौरजहारी डिभिजनलाई निर्देशन दिई सकेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । स्थानीयको माग जायज भएकाले सडक डिभिजनले तत्काल गुणस्तरीय कार्यका अनुगमन गर्नुपर्ने प्रमुख घर्तीले बताए ।
कालोपत्रेको कामलाई गुणस्तरीय बनाउन स्थानीय बासिन्दा लगायत सम्बन्धित सबैको चासो जरुरी रहेको उनले बताए । सडक चौडा नहुनुमा स्थानीय बासिन्दा बाधक भएको राजेन्द्र जलजला कन्स्ट्रक्सन जेभीका प्रोप्राइटर प्रजित लामाले बताए । ठेक्का सम्झौता तथा आदेश अनुसार कार्य गर्दै आएको लामाले बताए । ठूलो पहिरो गएको स्थानमा मेसिनरी वाल तथा ग्यापिङ निर्माणका लागि सडक विभागले थप बजेट व्यवस्था गर्नुपर्ने उनले बताए खलंगाका स्थानीय बासिन्दाले सडक निर्माणमा अवरोध गर्नु कानुनविपरीत भएको डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुशील पौडेलले बताए ।








