चन्दा र राजिनामा माग्दा जनप्रतिनिधी हैरान

जाजरकोट (रासस)ः विप्लब नेतृत्वको नेपाल कम्यूष्ट पार्टीले जाजरकोटका स्थानीय तहका जनप्रतिनिधिलाई राजिनामा गर्न उद्धि जारी गरेको छ । भेरी कर्णाली स्वायत्त प्रदेश जिल्ला जनपरिषदको लेटर प्याडमा पत्र काट्दै राजिनामाको माग गरिएको हो ।
जिल्ला जनपरिषदका अध्यक्ष हरिचन्द्र जैसी अनुकुलद्धारा हस्ताक्षरित पत्रमा सिंहदरवार देखि स्थानिय गाँउ टोल सम्म भष्टाचारी, कालोबजारीया राजनिति तथा सामाजिक दलाली, गुण्डागर्दी, लुटपाट, आतंक तपाई र तपाईको सरकारको प्राथमिकतामा रहेको स्पष्ट छ । आफै सरकार प्रमुख आफै ठेकेदार, आफै ब्यवसायी तपाईहरुको चरित्र हो । यस्तो अवस्थामा जनताले राज्यबाट सेवा सुविधा पाउने भन्दा झन् प्रताडित बनाउने काम भएको उल्लेख गरिएको छ । राजिनामा माग संगै भारी मात्रामा चन्दा समेत माग गरेको जनप्रतिनिधीले वताएका छन् ।
पत्रमा अगाडी भनिएको छ । त्यसकारण, मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रिय स्वाधिनता, सामाजिक सुरक्षा सहितको विकास र समृद्धिको आधार तय गर्नका लागी तपाईले आफ्नो पदबाट राजिनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्र आग्रह गर्दछौ अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाई आफै हुनु पर्नेछ भनि चेतावनी समेत दिईएको छ ।
नेकपाले गठन गरेको जिल्ला जनपरिषदले जाजरकोटका सात ओटै तहका प्रमुखहरुलाई पत्र लेखेर राजिनामा गर्न आग्रह गरेको नेकपाका जिल्ला ईन्चार्ज प्रेम वली (धमिल)ले बताउनुभयो । उहाँले क्रमश वडा स्तरका सवै जनप्रतिनिधीलाई राजिनामा गर्न लगाएर जनसरकार चलाउने गरि देशैभर अभियान थाल्ने योजना रहेको बताउनुभयो । नेकपाले अहिले जनसरकार र जनअदालत स्थापना गरेर काम थालिसकेका छन् ।
उनीहरुले भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतारा, बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाह, कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, जुनीचाँदे गाँउपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र शाहीलाई राजिनामा गर्न लिखित पत्र बुझाएका हुन् ।
राजिनामाको पत्र आएसँगै स्थानिय तहका जनप्रतिनिधी असुक्षित महसुस गर्न थालेका छन् । उनीहरुले सरकारसँग सुरक्षाको माग गरेका छन् । तत्कालिन विद्रोही माओवादीले संचालन गरेको जनयुद्धको झझल्को दिने गरी काटिएको पत्रले जनप्रतिनिधी त्रसित बनेका छन् । चन्दा संगै राजिनामा माग्दा आफुहरु हैरान भएको जनप्रतिनिधीले वताएका छन् ।










