गाउँपालिकाले रकम निकासा नगर्दा विद्यार्थीले पुस्तक पाएनन्

हुम्लामा गाउँपालिकाको कार्यालयलले रकम निकासा नगर्दा प्राथमिक तहको कक्षा १ देखी ५ सम्मका पाठ्यपुस्तक किन्न समस्या भएको छ । पौष महिनामा नै हरेक विद्यालयको खातामा पाठ्यपुस्तकको रकम निकासा गर्नु पर्नेमा मध्य फागुनसम्म पनि रकम निकासा नुहँदा यस्तो समस्या भइरहेको छ ।
सरकारले प्राथमिक तहको पाठ्यपुस्तक विद्यालयले खरिद गरी निःशूल्क वितरण गर्ने प्रावधान भएको भएता पनि हाल बालबालिकाले पुस्तक पाउन सकिरहेका छैनन् ।
नयाँ शैक्षिक शत्र सुरु भएको १ हप्ता बढी वित्यो । तर, विद्यार्थीले पाठ्यपुस्तक सहज रुपमा पाउन सकिरहेका छैनन् । हुम्लालगायत कर्णालीका जिल्लामा मंसिरमा शैक्षिक सत्र अन्त्य हुने र फागुनबाट सुरु हुनुपर्नेमा हाल विद्यालय खुलेता पनि विद्यार्थीले पाठ्पुस्तक नपाउँदा पठन–पाठनमा असहजता भएको हो ।
७ वटा गाउँपालिका मध्ये सिमिकोट र खार्पुनाथ बाहेक अन्य गाउँपालिकाले विद्यालयको खातामा पाठ्यपुस्तकको रकम निकासा नगर्दा समस्या भएको छ ।
जिल्ला शिक्षा कार्यलय, हुम्लाले पाठ्यपुस्तक ढुवानीको लागि ३ जना एजेन्टमार्फत कामकारबाही अगाडि बढाएको भएता पनि हाल सिमिकोट र नाम्खा गाउँपालिकाको लागि मात्र रोकाया पुस्तकले पाठ्यपुस्तकको विक्रि वितरण गरिरहेको छ ।
जिल्लाको दक्षिणी भागको अदानचली, ताँजाकोट, सर्केगाड, चंखेलीका विद्यार्थीको लाििग सोही ठाउँबाट पाठ्यपुस्तक उपलब्ध गराउनको लागि स्थानिय पुस्तक एजेण्ट मानदेव शाही र लोकेन्द्र रावतलाई जिम्मा दिएको भएता पनि पुस्तक ढुवानी नगरेको स्थानियको आरोप रहेको छ ।
हुम्लाका सबै गाउँपालिकाका विद्यार्थीले २ देखी ६ दिनसम्म हिँडेर पाठ्यपुस्तक किन्न सिमिकोट आएको भएता पनि सिमिकोट र नाम्खा गाउँपालिकाको विद्यार्थीको लागि मात्र विक्रि गरिरहेको एजेण्ट धनजवा रोकायाले बताउनु भयो ।
उच्च हिमाली भेगमा हिउँको कारण दक्षिणी भेगेको कर्णालीको तिरै तिर हिँडेर पुस्तक किन्नको लागि ६ दिन लागेको मदानादेव माविका कक्षा ८ मा अध्ययनरत सविता बुढाले बताए । ‘मने लेकमा हिउँ छ, चिसोमा लेक लाग्ने जोखिम हुन्छ, चिप्लने डर पनि उत्तिकै छ, किताव किन्नकै लागि ज्यान जोखिममा राखेर साथीहरुसँग सिमिकोट आए,’ उनले भने ।
त्यसै गरी आफुहरुले ३ घण्टाको दुरीमा रहेको सर्केगाडबाट किताब किन्न पाउने शिक्षा कार्यलयले व्यवस्था गरेको भएता पनि हाल ४ दिनको बाटो लगाएर किताब किन्न आएको कोट मावि रोडिकोटका रामबहादुर रोकायाले बताए ।
सरकारले किताव ल्याउनको लागि स्थानीय व्यापारीलाई जिम्मा दिएको थाहा पाएका थियौं । फागुन ३ गतेबाट विद्यालय खुलिसक्यो, पढाई छुट्ला कि भनेर ४ दिनको पेदल हिँडेर सिमिकोट किताव किन्न आयौँ,’ उनले भने ।
किताव बेच्ने जिम्मा पाएका एजेण्ट मध्ये हाल सिमिकोटमा रहेको रोकाया पुस्तक पसलले मात्र पुस्तक जिल्लामा ढुवानी गरेको छ । सिमिकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाको विद्यालयको लागि मात्र आफूले जिम्मा पाएको भएता पनि जिल्ला भरीका विद्यार्थीको लागि किताब बेच्नु परेको रोकाया पुस्तक पसलका सञ्चालक धनजवा रोकायाले बताए ।
कक्षा ६ देखी १० सम्मका किताब आफूले बेच्ने गरेको र केही दिनमा सरकारले निःशूल्क वितरण गर्ने कक्षा १ देखी ५ सम्मका पाठ्युपुस्तक जिल्लामा ढुवानीको लागि सुर्खेत र नेपागञ्जमा राखिएको उनले बताए ।










