जसको मन सिरिया देख्दा भकान्छि ?

काठमाण्डौँ । सम्भवतः दाजु हुन्, तस्बिरमा देखिएका यी बालक, जसले आफ्नी बहिनीलाई स्नेहको अँगालोमा बेरेका छन् । ‘जाऊँ त कहाँ जाऊँ, पुकारौँ त कसलाई पुकारौँ रु जुन राज्यमा फैलिएको क्रूरताले घरसंसार ‘खरानी’ बनाएको छ । सहारा दिने अभिभावको हात र स्नेहको ओत दिने आमाको कोख भत्किएको छ’ सायद यही पीडाबोधमा होलान् उनी, टाउको छियाछिया भएकी बहिनी च्यापिरहँदा । त्यसैले लेखे होलान् कवि राबतलेः
मेरो स्यानु साथी
चुम्बन मात्र धान्न सक्ने
तिम्रो कपासे निधारमा
थपक्क आएर बस्यो चट्टान
हो, सिरियाको पूर्वी सहर गुटामा चर्किएको गृहयुद्धमा उछिट्टिएको त्यही चट्टानले तस्बिरमा देखिएकी बालिकाको निधार निर्ममतापूर्वक थिचेको प्रतीत हुन्छ । विडम्बना यो त्रासदीपूर्ण क्षणले भोगाएको अव्यक्त पीडामा चुम्बन पनि धान्न नसक्ने उनको निधारमा स्नेहको चुम्बन ओइर्याउने उनकी आमा होलिन्(नहोलिन् १ बाबालाई सायद युद्धले बाँकी राख्यो कि राखेन १
करिब १० दिनदेखि मुटु काँप्ने गरी चर्र्किको पूर्वी सिरियाको गुटा क्षेत्रको गृहयुद्धले सिंगो संसारको मन काँपेको छ । दुखेको छ । पीडाले चसक्क घोचेको छ । हेर्नै नसकिने तस्बिर सामाजिक सञ्जालमा पीडाको ऐना बनेर आइरहेका छन् । त्यसैले सात समुद्रवारि नेपाली मनहरू पनि रोइरहेका छन् । राबतले प्रतिनिधि भावनास्वरूप लेखेको कवितामा अगाडि भनेका छन् स्
हावाले कुल्चिँदा पनि बिझाउने
तिम्रो नौनी छातीमाथि
बारुदले खेल्यो होली
काँ‘चो दूधको
स्वाद पनि नउडेको तिम्रो गिजाले
ओ‘हो
कस्तरी चपाउनुपर्यो मृत्यु
साँच्चै निर्दोष, निश्चल नीला आँखा लिएर मुस्कुराइरहेको अबोध बालक १ झट्ट देख्दा जो–कसैलाई ऊप्रति स्नेह जागेर आउँछ । टपक्क टिपेर काखमा खेलाउन मन उद्वेलित हुन्छ । जीवनका सारा थकान, भागदौड र रफ्तारलाई एक निमेष थाती राखेर कञ्चन मन बोकेका बालबालिकासँग हराउन मन लाग्छ । १० दिनको दौरानमा सिरियामा मारिने करिब पाँचसय निर्दोष नागरिकमध्ये झन्डै डेढसय त्यस्तै अबोध बालबालिका ‘गहुँको घुन’ बनेका छन् । हावाले पनि बिझाउने उनीहरूको कोमल निधार मात्र होइन, मुटु, कलेजो र छातीलाई रासायनिक हतियारले छेडेर छियाछिया पारेको छ । मृत्यु पनि सोच्न बाध्य हुने यी निर्दोष असंलग्न अनुहारलाई युद्धमा संलग्नहरूले छुट्याउन सकेनन् । र, नाघिरहेको छ अमानवीयताको पराकाष्ठा । अनि चपाए, काँचो दूधको स्वाद नउँडेका ती गिजाले अञ्जान अवस्थामै मृत्युलाई ।
पीडाबोधले आक्रान्त रक्ताम्य अवस्थामा देखिएकी यी नानीको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै कसैले लेखेका छ, ‘पख १ म तिमीहरूको सबै कुरा ‘भगवान्’लाई भनिदिनेछु ।’ उनको यो वाक्यांशको मर्म महसुस त गर्न सकिएला, वर्णन गर्नु दुस्साहस मात्रै हुनेछ । किनकि कसैसँग उनको प्रतिस्पर्धा छैन । वा भनाँै सांसारिक रस्साकस्सी, जित र हारको गणितमा सामेल हुने उमेरमा उनी आफैँ छैनन् । उनलाई यत्ति थाहा छ, ‘गृहयुद्ध’ नामको वज्रपातले उनका अभिभावकलाई पनि बाँकी छाडेको छैन । गुनासो गर्न ‘दुख्यो आमा १’ भन्न पनि सायद उनकी आमा बाँकी छैनन् र त उनले सबै कुरा भगवान्लाई भनिदिने अबोधपन व्यक्त गरिन्, होला ।
कहिलेकाहीँ ‘नखाएको विष पनि लाग्छ’ भनेझैँ आज नलागेको घाउ पनि सात समुद्रवारि बसेका हामी नेपालीलाई दुखिरहेको छ । सन् २०११ मा सिरियाली राष्ट्रपति वसर अल असदविरुद्ध त्यहाँका विपक्षीले सुरु गरेको विद्रोह आज गृहयुद्धमा परिणत हुँदा यो घाउ नेपालसम्म दुखेको हो । दुई सातायता उग्र बनेको युद्धमा भएको घुसपैठले यो विदीर्णता थपिदिएको हो । युद्धका नाममा मानवसँगै मानवीयताको निर्मम हत्या भइरहँदा विश्वव्यापी रूपमा मानवता काँपिरहेको छ । अनि त साहित्यकार नयनराज पाण्डेले लेखेका छन्, ‘सिरियामा दादागिरी गर्नेहरू १ सिरियामामा बगिरहेको निर्दोषहरूको रगत र आँसुको भेलले एक न एक दिन तिम्रो अस्तित्वलाई पनि नामेट पार्नेछ । तिम्रो उन्मादले तिम्रो सर्वनाशको पनि संकेत गरिरहेछ । इतिहास पल्टाएर हेर, मानवताको मजाक उडाएर आजसम्म कोही पनि चैनले बस्न सकेको छैन ।’ हो, मान्छे दुखे निको हुन सक्छ । फकिन सक्छ । मान्छेको आत्मा र मानवता नै दुखे त्यसको कम्पन मापनहीन भूकम्पजस्तै बन्न सक्छ । सामाजिक सञ्जाल यतिवेला राष्ट्रको राजनीतिभन्दा पर छ । व्यक्तिगत तर्क र आदर्शभन्दा माथि उठेको छ । धर्म, जात र संस्कारलाई बिर्सेर मानवताको सिँढीमा उक्लिएको देखिन्छ ।
अनि त होला साहित्यकार सरस्वती प्रतीक्षाले लेखेकी छिन्, ‘शक्तिको नृशंस खेलसामु मानवीयता रोइरहेछ । यस्तो हृदयविदारक दृश्यको चाँडै अन्त्य होस् ।’ हो हामीले गर्न सक्ने कामना यत्ति हो । कतै भगवान्, खुदा, जिसस वा कुनै अदृश्य शक्ति छ भने भन्न सकिने यत्ति हो, सिरियाको शक्ति अहंकारको अन्य होस् । निर्दोष, नाजुक, कलिला मानवरूपी कोपिला फेरि नचुडियून् । नखोसियून् युद्धमा असंलग्न उनीहरूका अभिभावक । अनि जागून्, मानवताका हिमायतीहरू । पंक्तिकारले पनि कवि राबतका अन्तिम हरफ सापटी माग्दै भन्न सक्ने यत्ति हो –
मलाई माफ गर
मेरो स्यानु साथी
सात समुद्रपारिको देशबाट
तिम्रो यो अंकलले
एक थोपा आँसुबाहेक
दिन केही सकेन ।।










