सन्दर्भ फेसबुके जुहारीको

विसं १८४६ पूर्वको शक्तिशाली खस साम्राज्यको राजधानीका रुपमा रहेको कर्णाली बहादुर शाहको फौंजद्वारा आजसम्म भग्नावशेष बाहेक अन्य संरचना नरहनेगरी ध्वस्त बनाईयो । जसको ईतिहास अहिले पनि राज्यले उत्खनन्गरी त्यसलाई संरक्षण सम्वद्र्धनमा चासो दिन कञ्जुस्याई गरिरहेको छ । राज्यले गर्ने यो कञ्जुस्याईको प्रमुख कारकतत्व हामी नै हो भन्ने कुरा अहिले म बुझ्दैछु । हामीमा भएको आडम्बर, दम्भ, द्वेष भाव, बक्र दृष्टि, विभाजन, दरिद्र मानसिकता र प्रतिषोधको भावना नै हुन् । सहसम्बन्ध, सहकार्य, समन्वय, सभ्यता र सामरिक महत्वका विषयमा कहिल्यै गम्भीर तरिकाले बुझैनौं र त्यसलाई फर्केर स्मरण गरेपनि सिकाईका रुपमा प्रयोगमा ल्याउन अभ्यासमा कहिल्यै गएनौं । जुन तुषका रुपमा अहिले पनि देखिरहन्छ ।
प्रविधि प्रयोगका नाममा अहिलेपनि यिनै तुषहरु फेसबुकका वालहरुमा छताछुल्ल हुनेगरी पोखिएका छन् जसको स्वाद अकैले लिईरहेको छ । मूलत ः “आफू बिग्रेकोमा ध्यान नदिई अरु सप्रेकोमा बढि डाह एवम् चिन्ता गर्ने संस्कारको ज्वलन्त उदाहरण हो, यो फेसबुके जुहारीको ।”
कर्णालीका हुनेखाने मान्छेहरुको बसोबास छ, काठमाडौैं लगायत देशका केही सुगम सहरमा । यद्यपि सबैको पहुँच छैन त्यहाँ । सामान्यत ः तिनै हुने खानेहरुले गर्ने राजनीति र तिनको स्वार्थ पूतिको खास माध्यम बन्दै आएका यहाँका जनताहरु । मिलेर भन्दा चिलेर कामगर्ने शैलीले निश्चित व्यक्तिहरुको अभिष्ट पुरा नभएको होला तर सदियौंदेखि पिडाको सागरमा पौडी खेलिरहेका यहाँका हजारौं नागरिकहरु । सिमित व्यक्तिहरुको स्वार्थपूर्ति नहुँदा उब्जेको द्वन्द्व र विवादका कारण आजका दिनसम्म पनि उनीहरु चरम चपेटामा छन् । जुन कुरा प्रष्ट्याई राख्नु पदैन् ।
कसैलाई उक्साउने र निच्याउने खेलमा पोख्त हामी कसरी चालक सिटको कल्पना गर्छौं । अरुलाई गिराउन पाएकोमा र पराजित भएको हेर्नमा तल्लिन खलनायकी चरित्र चित्रण गर्नु सिंगो कर्णालीबासीका लागि अभिशाप हो । धैर्यताको बाँध टुटाएर कर्णाली प्रदेशको राजधानी जुम्ला हुनुपर्छ भन्ने सवालमा फागुन १२ गते शनिबार बसेको प्रदेश सभाको बैठकमा जुम्ला या कर्णालीबाट निर्वाचित सांसदहरु कसैले मत राखेनन् भन्ने विषयलाई भाईरल बनाएर पोष्ट गरिएका स्टाटसहरुमा कसैले अफेन्स र कसैले डिफेन्स गरेको देखिन्छ ।
यहाँ कसैले कसैलाई डिफेन्स र अफेन्स गर्ने कुरा महत्वपूर्ण होइन । महत्वपूर्ण कुरा त्यो हो जहाँ कर्णालीको अस्थित्व, स्वाभिममान संकटमा परेको छ । शनिबारको प्रदेश सभा बैठकमा कर्णाली राजधानी हुनुपर्ने भन्ने मत दर्ज गर्नेहरुलाई ईतिहासले कुनैबेला मूल्याङ्कन गर्ला त्यो आफ्नो ठाउँमा छ, तर नेपालको संविधान २०७२ को धारा २८८ को उपधारा २ ले प्रष्ट व्यवस्था गरेको कुरामा हामी कहाँ छौं । यो अवस्थामा ल्याउन अप्रत्यक्ष भूमिका कसको रह्यो र कसैलाई रद्दीको टोकरीमा फाल्ने नाउमा भएका घिन लाग्दा प्रयासहरु हाम्रा सच्चा कर्म थिए र गलत हर्कत रु समीक्षा विषय बनाउन जरुरी छ ।
तसर्थ आफैबीच लड्नेहरु खराब चरित्रको पहिचानका कारण अरुको भलादमी कहिल्यै बन्न सक्दैनन् भन्ने हेक्का सतहमा मात्र देखियो, हामीमा । जुन परिणाम साविकको कर्णाली अञ्चलको अञ्चल सदरमुकाम जुम्लाले आज भोगिरहेको छ । यही प्रवृति, पात्र र आदत एवम् व्यवहारहरु रहिरहे कर्णालीबासीको भोलिको भविश्य सुन्दर नरहने कुरामा शंका गर्नु पर्दैन ।

सुरजवहादुर सिंह
रासस ६ नंम्वर प्रदेश प्रमूख





error: Content is protected !!