मापदण्डबिनै जतासुकै सडक

प्युठान , प्युठान नगरपालिका–६ माझकोट लम्छ्याङनेटादेखि नेपानेसम्म निर्माण गरिएका सडक अनुगमनका लागि नगरप्रमुख अर्जुनकुमार कक्षपतीसहितको टोली गाउँ पुगेका छन्। सडकलाई चालु आर्थिक वर्षमा मर्मत गर्न बजेट विनियोजन गरिएको छ। तर, लम्छ्यानेटाङदेखि नेटासम्म पुग्न नगरपालिकाको गाडीलाई धेरै सकस पर्‍यो। सडक निर्माणको अन्तिम विन्दुसम्म पुगेपछि फर्केर आउन हम्मे भयो। कारण थियो, साँघुँरो सडक।

गाउँमा जबर्जस्ती जथाभावी सडक निर्माण गरेपछि जोखिम बढेको छ। नगरपालिकाका चालक ध्रुव केसीले जसोतसो गाडी फर्काए। ‘कुनै पनि घुम्तीमा मोड पुग्दैन्’, उनले भने, ‘सडक पुर्‍याउन मात्रै खन्नु राम्रो होइन। थोरै होस् तर मापदन्डअनुसार घुम्तीमा मोड पुग्ने खाले सडक होस्।’ नयाँ सडक निर्माण गर्न नगपालिकाले भर्खरै मापदण्ड बनाए पनि सुरुमा निर्माण भएका अधिकांश सडक साँघुरा छन्।

साँघुरा सडकले गाउँको यात्रालाई कठिन बनाएको छ। यात्रुहरू जोखिम मोलेर जरर्जस्ती यात्रा गर्न बाध्य छन्। ‘सडक निर्माणका लागि सुरुमा मापदण्ड भएन’, नगरप्रमुख अर्जुनकुमार कक्षपतीले भने, ‘अब नयाँ मापदण्ड बनाइएको छ। जति सडक बन्नेछन् मापदण्डअनुसार हुनेछन्।’ नयाँ निर्माण गर्दा न्यूनतम ६ देखि १८ मिटर चौडाइको सडक हुनुपर्ने प्रावधान बनाइएको उनले जानकारी दिए। यसअघि निर्माण भएका साँघुरा सडकको समेत मर्मत गरी फराकिलो बनाउने योजनामा रहेको उनले बताए।

मापदण्डबिना गाउँगाउँमा निर्माण गरिएका धेरैजसो साँघुरा सडकले बर्सातमा जोखिम निम्ताउने सम्भावना बढी छ। हिउँदमा निर्माण भएका ग्रामीण सडकहरू बर्खामा बिग्रने गरेका छन्। यात्रुलाई पनि उत्तिकै सकस हुने गरेको छ। साँघुरा सडककै कारण बर्खामा नियमित सवारी सञ्चालन गर्न नसकिने स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिति बिजुवार प्युठानका महासचिव चन्द्रमान श्रेष्ठले जानकारी दिए। ‘पछिल्लो समय निर्माण भएका सडकका घुम्ती साँघुरा छन्। अगाडिबाट गाडी आएमा साइड दिन गाह्रो छ’, श्रेष्ठले भने।

जिल्लाका अधिकांश बजेट सडक निर्माणमै विनियोजन भए पनि जथाभावी निर्माण गर्दा त्यसको प्रत्यक्ष मार यातायात व्यवसायीलाई पर्ने गरेको महासचिव श्रेष्ठले बताए। स्थानीय जनप्रतिनिधि नयाँ सडक निर्माणमा बजेट विनियोजन गरी हिजोआज उद्घाटनमै व्यस्त देखिएका छन्। पहिलोपटक गाउँमा जिप, बस पुर्‍याएर उद्घाटन गर्ने चलन बढेको छ। झिमरुक गाउँपालिकाले लिवाङको टिमुरचौर, तोरवाङको मर्कावाङ र नवार हुँदै पुर्कोटदहका लागि नयाँ बससेवा सुचारु गर्नेगरी सडक निर्माण गरेको छ।

गाउँपालिकाले ६ करोड रुपैयाँ बजेट सडक निर्माणमा छुट्याइएको अध्यक्ष तिलकबहादुर जिसीले जानकारी दिए। ‘धेरै बजेट सडकमै विनियोजन गरिएका छ’, उनले भने, ‘धेरैजसो सडक नयाँ अनि अव्यवस्थित छन्।’ जिल्लाका नौवटै स्थानीय तहले बजेटको अधिकांश हिस्सा सडक सञ्जाल विस्तारमा विनियोजन गरेका छन्। बस्तीमा सडक पुर्‍याउने गरी बजेट जनप्रतिनिधिले पारेका छन्। यसअघि पनि स्थानीय निकायले समेत सडकमै धेरै बजेट विनियोजन गर्ने गरेको थियो।

झट्ट हेर्दा विकास निर्माण गरेजस्तो देखिने र बजेट खर्च गर्नसमेत सजिलो हुने भएपछि जनप्रतिनिधिको आँखा सडकमै पर्ने गरेको छ। तर, दीर्घकालीन असरलाई बेवास्ता गरी जनप्रतिनिधिले सडकमा बजेट हाल्ने गरेको नागरिक समाजका अगुवा सुनाउँछन्। हिउँदमा जिल्लाभर निर्माण भएका सडकले बर्सातमा धेरै क्षतिसमेत पुर्‍याउने गरेको छ।

गतवर्षको बर्सातमा गएको बाढी, पहिरोसमेत जथाभावी सडक निर्माण नै कारक बनेको सरोकारवाला निकायको भनाइ छ। जिल्लाका स्थानीय तहले करोडौं बजेट सडकमा छुट्टाएका छन्। केही गाउँपालिकाले नयाँ ट्रयाक निर्माणका लागि मापदण्ड बनाए पनि अधिकांशले यसलाई हेलचेक्रयाइँ गरेको पाइएको छ।

कतिपय स्थानीय तहमा निर्माण गरिएका नयाँ सडकको बजेट सकिएपछि बीचमै निर्माण कार्य रोकिएको छ। स्थानीय सामुदायिक वन मासेरसमेत सडक निर्माण गरिएको छ। वातावरण प्रभाव मूल्यांकनबिनै सडक सञ्जाल विस्तार भएको देखिएको छ। गाउँमा स्थानीय सरकार आएपछि जिल्लामा नयाँ डोजर, एक्साभेटरसमेत भित्रने क्रम बढ्दो छ। हेबी इक्युपमेन्ट महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष एवं युवा निर्माण व्यवसायी बालाजु श्रेष्ठका अनुसार स्थानीय तह आएसँगै करिब ४० वटा नयाँ हेबी इक्युपमेन्ट जिल्लामा भित्रिएका छन्।





error: Content is protected !!