देउवा सरकारमा सहभागि मन्त्रीलाई माओवादीले अहिलेको सरकारमा नदोहोर्याउने

काठमाडौं । नेकमा आओवादी केन्द्रले यसअघिको शेरबहादुर देउवा सरकारमा सहभागि आफ्नो पार्टीका मन्त्रीहरुलाई अहिलेको सरकारमा नदोर्याउने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमल्टारमा बिहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्री हुन चाहने आकांक्षी धेरै भएपछि अघिल्लो सरकारमा सहभागि भएकाहरुलाई अहिलेको सरकारमा नपठाउने गरी मापदण्ड निर्धारण गरेको हो । मन्त्री छनोट गर्दा समावेशी र समानुपातिक पक्षलाई आधार मान्ने र नयाँ र योग्य व्यक्तिलाई प्राथमिकतामा राखेर सरकारमा पठाउने निर्णय गरेको हो । मन्त्री छान्ने जिम्मा भने मुख्य तीन नेताहरु प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई दिइएको केन्द्रीय कार्यालयका सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । मन्त्रालय भागबण्डामा एमालेसँग कुरा मिलेलगत्तै माओवादीले मापदण्ड निर्धारण गरेको हो । एमाले माओवादीबीच भएको छलफलले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसहित १८ मन्त्रालय बनाउने निर्णय गरेको छ । उक्त निर्णयलाई शुक्रबार मस्ने मन्त्री परिषद्को बैठकले अनुमोदन गर्दैछ ।

भागबण्डाअनुसार एमालेको भागमा अर्थ तथा योजना, रक्षा, भौतिक पूर्वाधार यातायात, सूचना सञ्चार तथा विज्ञान प्रविधि मन्त्रालय, शिक्षा खेलकुद तथा संस्कृती, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन तथा न्याय संसदीय मामिला, परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालय परेको छ । माओवादी केन्द्रको भागमा गृह, उर्जा जलविद्युत तथा नविकरणीय, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन वातावरण जलवायु परिवर्तन, श्रम रोजगार तथा महिला बालबालिका जेष्ठ नागरिक, कृषी, सिँचाइ खाद्य सुरक्षा सहकारी तथा भूमिसुधार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय भागमा परेको छ । बैठकले पार्टी एकता प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै विरोध गरिरहेका तीन नेतालाई पार्टीबाट निष्काशन गर्ने पनि निर्णय गरेको छ । नेताहरु गोपाल किराँती, विश्वभक्त दुलाल आहुती र लोकेन्द्र विष्ट मगरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

बैठकले एमालेसँग एकताका लागि भएको ७ बुँदे सहमतिलाई अनुमोदन गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन । एकताअघि आन्तरिक रुपमा आफ्ना कार्यकर्ताहरुलाई संगठित गर्दै प्रशिक्षण दिने पनि बैठकले निर्णय गरेको छ । प्रवक्ता भुसालका अनुसार, बैठकमा सहभागी कार्यलय सदस्यहरुले पार्टी एकताका लागि नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सात बुँदे समझदारीका बारेमा जिज्ञासा राखेका थिए । पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित दुबै कार्यदलको बिहीबारको बैठकको प्रगतिका बारेमा समेत छलफल भएको थियो ।





error: Content is protected !!