वन्दै गरेका ६ नम्वर प्रदेशका मुख्य मन्त्री शाहीको यस्तो छ जीवनको कहानी

सुर्खेत – प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रको तर्फवाट महेन्द्रवहादुर शाहीलाई चयन भएका छ । सुर्खेतमा बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको माओवादी केन्द्र ६ नम्वर प्रदेश ईन्चार्ज शक्तिवहादुर वस्नेत ले जानकारी दिए ।
एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको थियो । अव संसदीय दलको नेता नै मुख्य मन्त्री वन्ने भएपछि शाही मुख्य मन्त्री वन्ने छन् । दलको वैठकले शाही संसदीय दलको नेता वन्ने भनी निर्णय समेत गरेको छ । शाही संगै मुख्य मन्त्रीको दावी जुम्लाका सांसद नरेश भण्डारीले गरेका थिए । भण्डारीलाई उचित स्थान दिने सहमती समेत सांसदीय दलले गरेको छ ।
को हुन् महेन्द्रबहादुर शाही = उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका शाही कर्णाली अञ्चलको कान्छो जिल्ला कालिकोटको पचालझरना गाउँपालिका ९साविकको नानिकोट गाविस मा जन्मेका हुन् शाही । दुर्गम कालिकोट, त्यसमा पनि सँधै सुख्खा रहने नानिकोटमा जन्मेका उनी पूर्व प्रमुख पञ्चका छोरा हुन् ।
आफूलाई पढाउने शिक्षकहरुको सल्लाह अनुसार उनले विस। २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए । पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रुपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाले । कतिबेला कहाँ गएर युद्ध लडौं भनेर रातो रगत तातेका बेलामा २०५२ सालमा जब माओवादीले जनयुद्धको सुरुवात ग¥यो, तब उनमा खुशीको सीमा नै रहेन । २०५२ सालबाटै जनयुद्धमा होमिएका उनी पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्न थाले ।
कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखिनै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेल्न थाले । पछि उनी कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरे । उनी युद्धमोर्चामा आफैं सहभागी हुन्थे । नेतृत्व गर्न देखि लड्नसम्म दोहोरो भूमिकाको निर्वाह गर्ने गरेका शाहीले संसदमा पनि अख्तियार प्रमुख लोकमान सिंह कार्की माथि महाअभियोग लगाएर निकै चर्चा बटुले ।

शैन्य नेतृत्व
२०५२ सालमा जनयुद्ध सुरु भएदेखि नै सेनामा आवद्ध भएका शाही कर्णाली अञ्चलको पहिलो सेनाको भूमिकाबाट भूमिगत जीवनको सुरुवात गरे । सुरुमा पाँचजनाको सैन्य टिममा उनी एक सदस्य थिए स्थापना हुँदाका दिनहरुमा । त्यसको केही समय पछि नै उनले कालिकोट जिल्लाको सैन्य इन्चार्जको भूमिका पाए । आफूले पाएको भूमिकालाई पार्टीमा अवसरको रुपमा लिने शाहीले त्यसपछिका विभिन्न मोर्चा हुँदै पार्टीको मध्य तथा सुदूुरपश्चिममा हुने जुनसुकै कारवाहीको पनि नेतृत्व गरे ।
पश्चिम नेपालमा बुटवलदेखि दार्चुलासम्म हुने जुनसुकै कारवाहीमा उनको नै कमाण्ड हुन्थ्यो । सेनाको हरेक फर्मेसनमा कमाण्डरको भूमिका निर्वाह गर्न सफल भएका थिए शाही । सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर सम्मको नेतृत्व गर्न सफल भएका शाहीले नेपाली सेनामा समायोजनका बेलामा सम्मानजनक पद नपाएपछि पार्टीको मूलधारको राजनीतिमा आएका थिए ।
सेना समायोजन पछि मूलधारको राजनीतिमा आएका शाहीले आफ्नो निर्वाचन क्षेत्र रहेको कालिकोट जिल्लाको संगठनलाई मजबुत बनाउनतिर ध्यान दिए । जिल्लामा संगठन मजबुत बनाएकै कारण संविधानसभाको दोस्रो निर्वाचनमा उनी विजयी हुन सफल भए । खुशीको अबीर लगाए । उनको विजय पश्चात कालिकोट क्षेत्र नं १ मा विजयी जुलुल निक्लियो । यो उनको मिहिनेतले पाएको सफलता हो । उनको संगठन मजबुद भएकै कारण स्थानिय तह निर्वाचनमा पनि ९ स्थानिय तह रहको कालिकोटमा ६ स्थानिय तह जित्दै पहिलो भएको छ माओवादी ।
माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका शाही प्रचण्ड सरकारमा नै मन्त्री बन्ने हल्ला थियो तर पछि त्यो हल्लाले सार्थकता पाउन सकेन । महाअभियोग प्रस्ताव संसदमा पेस गरेपछि भने उनको चर्चा एकाएक सतहमा आयो र अहिले महत्वपुर्ण मन्त्रालय पाएका छन् ।
मरेर बाँचेको पल
जनयुद्धको समयमा प्रहरीबाट भन्दा पनि बढी डर सिआईडीबाट हुन्थ्यो । सिआईडी गाउँकै भद्र भलाद्मीहरु हुन्थे । घरमा भेटघाट गर्न आएको वेलामा त्यस्ता सिआईडीहरुले प्रहरीलाई खबर गर्थे र प्रहरी आएर माओवादीहरुलाई अमानवीय किसिमले हत्या गर्दथे । यस्तो खालको घटनामा महेन्द्रवहादुर शाही पनि परेका छन् । एक चोटिको कुरा हो उनी भेटघाट गर्नको लागि नानीकोट गएका बेला प्रहरीले उनी बसेको घर घेरा हाल्यो । त्यो उनको घर थिएन, अर्कैको घरमा बसेका वेला पनि सिआइडीको मद्दतले प्रहरीले उनी बसेको घरमा घेरा हाल्न सफल भएको थियो । उनको साथमा दुई जना वडीगार्ड पनि थिए । उनीहरु तिनैजना एउटै घरमा बसेका थिए । तिनओटा राईफल सहित केहि ग्रिनेटहरु थिए उनहरुको साथमा । घर भित्रैबाट पनि उनले सकेसम्म लड्ने योजना बनाई सकेका थिए । साथीहरुलाई नडराउन उर्दी जारी गर्दै तयारी अबस्थामा रहन निर्देशन दिए । गाँउको सबै घर र उनी बसेको वरिपरिको सबै घरमा खानतलासि गरे । तर त्यो घरको आँगनबाट उनी भित्र पस्न सकेनन र फकिए । त्यहाँ भिडन्त हुनबाट बचे । प्रहरीहरु घरभित्र नपसी त्यत्तिकै फर्किए । त्यो घटनामा उनी बालबाल बाँचे । यदि त्यहाँ भिडण्त भएको भए सायद आज उनी यो देशको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने थिएनन् ।
त्यस्तै, शाही नेपाली सेनाको जम्काभेटबाट पनि वालवाल बाँचे घटनाहरुपनि छन् । घटना एक दिनको जनसेनाको एउटा टोली कन्चनपुरको बेलबारीमा थियो । त्यसको नेतृत्वकर्ता उनै शाही थिए । बेलबारीमा बसेको समयमा नेपाली सेनाले जनसेनालाई घेरा हालिसकेको रहेछ । आर्मीको घेरामा परेका जनमुक्ति सेना अताल्लिन थाले, के गर्ने कसो गर्ने, उनीहरु एकदमै डराए । धेरै ठाउँमा तितर बितर भए । कोही कता, कोही कता नेपाली सेना र जनसेना छुट्याउनै ग्राहो भयो । शाहीले भने, “हामी हामै्र सेना हो भनेर उनीहरु नजिक गयौँ र उनीहरु पनि आफ्नै सेना जस्तो मानेर हाम्रोतिर आए । नजिक पुग्दा त नेपाली सेना पो रहेछ । मसँग दुई जना बडीगार्ड पनि थिए । नजिकै जम्काभेट भयो । हतियार उठाउने ठाउँ पनि बाँकी रहेन । त्यहाँ हात हालाहालको स्थिति सृजना भयो । म सामान्य घाइते भएँ ।, साथीहरुलाई ठूलो चोट लाग्यो । हामीहरु आर्मीलाई छक्याउँदै भाग्न सफल भयौँ । त्यो एउटा महत्वपूर्ण घटना थियो मेरो लागि ।”
यस्ता दर्जनौँ घटनामा मरेर बाँचेका छन् शाही । उनको शरीरभरि गोली र छर्राहरु अहिले पनि छन् । उनले ती गोली तथा छर्राहरु अझै निकाल्न सकेका छैनन् । आफू मरेर बाँचेका महेन्द्रले एक पटक फेरि जनताको काम गरेर महान नेताको उपमा पाउने छन् भनेर नेपाली जनताले अशागरेका छन् ।










