प्रदेश ६ मा यसरी चयन गरिनेछ सभामुख

डिलप्रसाद शर्मा
सुर्खेत–प्रदेश नम्बर–६ को आईतवार सम्पन्न पहिलो संसद बैठकबाट ‘प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४’ सर्वसहमत पारित गरिएको छ । प्रदेशसभा कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र अन्य कार्य नियमित सञ्चालन गर्नका लागि पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गरिएको हो । प्रदेश सरकार सञ्चालन नियमावली निर्माण नहुन्जेलसम्म लागु हुने गरी संविधानको धारा १९८ बमोजिम पारित भएको प्रदेशसभा सञ्चालन कार्यविधिले प्रदेश सरकार सञ्चालनका लागि बाटो खुल्ला गरेको छ ।
आईतबारदेखि नै कार्यान्वयनमा आएको कार्यविधिअनुसार यहि माघ २९ गते प्रदेश सभामुख चयन गरिदैछ । कार्यविधिको दफा ६ लाई कार्यान्वयन गर्दै बैठकका अध्यक्ष एवम् अस्थाई सभामुख हिमबहादुर शाहीले माघ २९ गते दिउँसो एक बजे प्रदेशसभाको दोस्रो वैठक बोलाएका छन् । ६ नम्बर प्रदेशसभा सचिव कृष्णहरी खड्काले आईतबार नै सूचना प्रकाशन गरी सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका छन् । कार्यतालिका अनुसार माघ २८ गते दिउँसो एक बजे प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यलाई प्रदेशसभाको सभामुख पदमा निर्वाचिन गरियोस् भन्ने दलहरुको प्रस्ताव दर्ता गर्नेछ ।
अन्तरिम कार्यविधि दफा ६ को उपदफा २ कमोजिम सभामुखको निर्वाचनका लागि तोकिएके दिनको निर्धारित समयभित्र कुनै सदस्यले अर्काे कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव सचिवालयमा दिनेछन् । सोही दिन अपरान्ह २ः३० बजे प्रदेश सभामुख पदका लागि क्रमसंख्या अनुसार दर्ता भएको प्रस्ताव बमोजिम प्रदेशसभा सचिवालयले नामावली प्रकाशन गरिनेछ ।
माघ २९ गते प्रदेशसभाको सभाकक्षमा बस्ने दोस्रो बैठकले अन्तरिम कार्यविधि दफा ६ बमोजिम सभामुखको निर्वाचन गराइनेछ । कार्यविधि दफा ६ को उपदफा ३ अनुसार सभामुख उम्मेदवारका प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ । तर, सभामुखका लागि एउटा मात्रै प्रस्तावको सूचना सचिवालयमा प्राप्त भएमा समर्थक सदस्यले बोलेपछि बैठकका अध्यक्ष शाहीले प्रस्तावित सदस्यलाई सभामुखमा निर्विरोध निर्वाचित घोषणा गर्नछन् ।
तर, सभामुखका लागि एक भन्दा बढि प्रस्ताव दर्ता भएमा प्रस्तावक सदस्यले दर्ता क्रमाअनुसार प्रस्ताव प्रस्तुत गर्ने छन् । र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावकहरु माथि छलफल हुनेछ । त्यसपछि अध्यक्ष शाहीले प्रस्तावहरुलाई क्रमश निर्णयार्थ प्रस्तुत गर्नेछन् । जसमा निर्णय दस्खतसहितको मत विभाजनद्धारा मतदान हुनेछ । मत विभाजन भएपश्चात अन्तरिम कार्यविधि दफा ६ को उपदफा ६ बमोजिम बहुमत प्राप्त प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिनेछ ।
प्रदेश नम्बर–६ को प्रदेश सरकार एमाले–माओवादी बीचको भागबण्डामा गठन हुने भएको छ । पार्टी एकिकरणको उद्देश्यले चुनावमा हुमिएको वाम गठबन्धनले करिव तीन महिना वितिसक्दासमेत पुर्णता पाउन सकेको छैन् । दुबै पार्टी एकता नहुँदै प्रदेश सरकार गठन गर्दा ६०÷४० को भागबण्डा मिलाएका छन् । सोही अनुसार माओवादी केन्द्रले यस प्रदेशमा मुख्यमन्त्री पाउनेछ ।
प्रदेशमा सबैभन्दा बढी सीट जितेको एमालेले भागबण्डाका कारण सभामुखसहित पाँच मन्त्रीमा चित्त बुझाउनुपर्नेछ । माओवादी केन्द्रले भने मुख्यमन्त्रीसहित एक मन्त्री पाउने पक्का भएको नेताहरु बताउँदै आएका छन् । मुख्यमन्त्री भाग पाएको माओवादी भित्र को मन्त्री बन्ने भन्ने रस्साकस्सी चलेको छ ।
कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारीले मुख्यमन्त्रीमा दावी गरेका छन् । प्रदेश नम्बर ६ का प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले मुख्यमन्त्रीका लागि केही दिनमा टुङ्गो लगाउने बताए । ‘करिव तीन जनाको नाम प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गर्छ । उनले भने,‘सोही अनुसार मुख्यमन्त्रीको टुङ्गो लग्छ ।’





error: Content is protected !!