प्रदेश २ को प्रमुख विपक्षी नेताका लागि एमालेमा चुनाव हुने


प्रदेश २ को प्रदेशसभामा मधेसी गठबन्धनपछि दोस्रो ठूलो दलको रुपमा उपस्थित भएको नेकपा एमालेको संसदीय दलको नेताका लागि निर्वाचन नै हुने भएको छ ।
१०७ सदस्यीय प्रदेशसभामा एमाले २१ सिट सहित तेस्रो ठूलो दल हो । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम र २५ सिटसहित दोस्रो दल बनेको राजपाको गठबन्धनले सरकार बनाउने भएपछि एमालेले प्रमुख विपक्षी दलको हैसियत पाउनेछ ।
प्रमुख विपक्षी दलको नेता बन्न एमालेमा दुई नेता प्रतिस्पर्धामा छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश २ का संयोजक सत्यनारायण मण्डल र पोलिटव्यूरो सदस्य सत्रुघन महतोबीच चुनाव हुने देखिएको प्रदेशसभा सदस्य मन्जु यादवले बताइन् ।
सहमतिको प्रयास असफल भएपछि चुनाव हुन लागेको हो । सप्तरीबाट निर्वाचित प्रदेशसभामा सदस्य मण्डल पार्टीको संस्थापन पक्षका हुन् भने धनुषबाट निर्वाचित महतो माधव नेपाल पक्षका हुन् ।
मण्डलले आफू बरिष्ठ नेता र प्रदेश संयोजक समेत भएकाले सर्वसम्मत हुनुपर्ने प्रस्ताव राखेका छन् । तर, महतो पक्षले मण्डलकै गलत शैलीका कारण प्रदेश २ का तीनै तहका निर्वाचनमा पार्टीले क्षति भोग्नुपरेको भन्दै उनलाई स्वीकार नगर्ने प्रष्ट पारेको छ ।
जनकपुरको रामानन्द चोकमा भेटिएका दलको नेताका उम्मेदवार महतोले आफू प्रतिपस्पर्धाबाट पछि नहट्ने बताए ।
उनले भने, ‘प्रदेश संयोजकका हिसाबले मण्डलजी सम्पूर्ण रुपमा असफल भइसक्नुभएको छ । अब पनि उहाँलाई नै नेतृत्व सुम्पिनु भनेको मधेसमा एमाले अझ कमजोर बन्नु हो, हामी पार्टीलाई बलियो बनाउन पनि अब नेतृत्व उहाँबाट खोस्न चाहान्छौं ।’
पार्टी नेतृत्वले टिकट वितरण र सिट बाँडफाँटमा विवेक पुर्याएको भए तीनै तहमा एमालेको नतिजा पहिलो वा दोस्रो आउने उनको दाबी छ । उनले भने-हामीलाई मधेसी जनताले होइनन्, हाम्रै नेताले बिगारेका हुन् । पार्टीलाई थप हार्न नदिन म दलको नेता उठ्छु ।’
एमालेले प्रदेश २ मा प्रत्यक्षतर्फ १४ सिट जितेको भने समानुपातिकतर्फ ७ सिट पाएको छ । प्रतिनिसभामा भने २ सिटमात्र जितेको छ ।
मण्डलमाथि स्थानीय तहको चुनावमा टिकट वितरणमा आर्थिक चलखेल गरेको आरोप लागेको छ । मण्डललाई रघुवीर महासेठको समर्थन छ भने महतोलाई अन्य मधेशी नेताको समर्थन छ ।
एमाले स्रोतका अनुसार चु्नाव हुँदा मण्डल पराजित हुन सक्छन् ।
प्रदेशसभामा सदस्यहरु कम्तिमा १३ जना महतो पक्षमा रहेको उनी निकट स्रोतले जनाएको छ ।
यता प्रदेश २ को प्रदेशसभामा चौथो शक्तिका रुपमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा धनुषाका रामसरोज यादवको सम्भावना रहेको कांग्रेस स्रोतले जनाएको छ । त्यस्तै माओवादीबाट महोत्तरीका भरत साह, धनुषाका रामचन्द्र मण्डल र सिरहाका रामकुमार यादव प्रतिस्पर्धी छन् । माओवादी प्रदेश २ मा पाँचौ शक्ति हो ।
-onlinekhabar










