प्रदेश ६ को पहिलो प्रदेश सभा सुर्खेतमा आज

सुर्खेत , वीरेन्द्रनगरमा आइतबार दिउँसो १ बजे बस्दै छ । सिँचाइ डिभिजन कार्यालयको भवनमा तयार गरिएको प्रदेश सभा हलमा पहिलो बैठक बस्नेछ । त्यसका लागि भवन सिँगारिएको छ । भवनको मूल गेटमै स्वागतद्वारा निर्माण गरिएको छ । बैठकका लागि सबै तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
सामान्य स्वागत
प्रदेश सभाको पहिलोे अधिवेशनमा सहभागी हुन आउने सांसदलाई खादा लगाएर सामान्य रूपमै स्वागत गर्ने तयारी छ । प्रदेश सभा सचिवालयका अनुसार स्वागतगेटभन्दा भित्र मूल ढोकाअगाडि उपस्थिति पुस्तिका राखिनेछ । त्यसमा हस्ताक्षर गरेपछि सांसदहरूलाई प्रदेश सभाहलभित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । मूल ढोकादेखि सभाहलको ढोकासम्म रातो कार्पेट बिछ्याइएको छ । सभाहल छिर्ने ढोकामा सुरक्षा जाँच गरिनेछ ।
यस्तो छ बस्ने व्यवस्था
सभाहलमा बैठक सुरु भएलगत्तै राष्ट्रिय गान बजाइनेछ । त्यसपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ । त्यसलगत्तै सहिदप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिनेछ । त्यसपछि मात्रै बैठकको काम–कारबाही अगाडि बढ्नेछ ।
सभाहलको अगाडिको बीच भागमा सभामुखको आसनमा हिमबहादुर शाही बस्नेछन् । ज्येष्ठ सदस्यको हैसियतमा उनले बैठक सञ्चालन गर्नेछन् । प्रदेश सभा सचिव कृष्णहरि खड्काका अनुसार सभामुखको दायाँतिर सचिव बस्नेछन् र केही पर छेउतिर पोडियम हुनेछ । सभामुखको बायाँतिर कार्यव्यवस्था समितिका तीनजना सदस्य बस्ने व्यवस्था गरिएको सचिव खड्काले बताए।
उनका अनुसार प्रदेश सभा सदस्य बस्ने हलको दायाँतिर नेकपा ९एमाले०का सदस्यका लागि छुट्याइएको छ । बीच भागमा नेकपा ९माओवादी केन्द्र०का सांसद बस्नेछन् भने बायाँतिर नेपाली कांग्रेस र त्यसपछि अन्य दलका सांसद बस्नेछन् । त्यस्तै, सभाहलको सबैभन्दा पछाडि प्राविधिक टोली, सञ्चारकर्मी र दर्शक बस्ने व्यवस्था गरिएको छ । सञ्चारकर्मी र दर्शक करिब १० जना मात्रै हुनेछन् ।
कर्णाली झल्किने तस्बिर
सभाहललाई कर्णाली क्षेत्र चिनाउने तस्बिरहरूले सजाइएको छ । मुगुको राराताल, कालिकोटको खलंगा, डोल्पालगायत पर्यटकीय र ऐतिहासिक क्षेत्रका तस्बिर राखिएका छन् ।
दर्शकका लागि प्रत्यक्ष प्रसारण
प्रदेश सभाको पहिलो अधिवेशन भएकोले दर्शकको भिड हुने अनुमान गरी प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छ । सचिवालयको प्रांगणभित्रकै खुला स्थानमा पाल टाँगेर प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाएको जनाइएको छ । तर, त्यहाँ पनि सबैले अवसर पाउनेछैनन्, विशेष पासको व्यवस्था गरिएको छ ।
२० जना मर्यादापालक
बैठक सञ्चालनका लागि २० जना मर्यादापालकको पनि व्यवस्था गरिएको छ । त्यसमध्ये १० जना महिला हुनेछन् । सामान्यतः सांसद संख्याभन्दा आधा संख्यामा मर्यादापालक राख्ने प्रचलनअनुसार २० जना हुनेछन् । तथापि, ४० जना प्रहरीलाई मर्यादापालक तालिम दिइएको छ ।
एम्बुलेन्स तयार
प्रदेश सभा बैठकमा सहभागी सदस्य वा अन्य दर्शकलाई स्वास्थ्य समस्या देखिए तत्काल उपचारको व्यवस्था गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव सुरेश प्रधानका अनुसार प्राथमिक उपचारसहित एम्बुलेन्सको व्यवस्था गरिएको छ ।
अझै पुगेनन् कर्मचारी
प्रदेश सभा सचिवालयका लागि २७ जना कर्मचारीको व्यवस्था गरिएको थियो । तर, पहिलो बैठक सञ्चालन हुन लाग्दा पनि कर्मचारी आएका छैनन् । आश्चार्य त सचिवालयका लागि खटिएका कर्मचारीको नाम र संख्यासमेत यकिन छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव प्रधानले कर्मचारीको सूची प्राप्त नभएको बताए ।
कर्मचारीको अभावकै कारण प्रदेश प्रमुख कार्यालयका सचिव भरत ढुंगानासँग चार र सचिवालयको कामका लागि सिँचाइ डिभिजन कार्यालयका नौजना कर्मचारी खटाइएको छ । संघीय संसद् सचिवालयबाट सहसचिव कृष्णहरि खड्कासहित आएका चारजना कर्मचारी रातदिन सचिवालयको व्यवस्थापनमा खटिएका थिए ।
पहिलो बैठकमा कुन दलका को बोल्द
एमाले र कांग्रेसले प्रदेश ६ को पहिलो बैठकमा बोल्ने प्रतिनिधि चयन गरेका छन् । शनिबार दलहरूबीच भएको छलफलपछि नाम तय भएका हुन् । एमालेबाट यामलाल कँडेल र कांग्रेसबाट जीवनबहादुर शाहीले बोल्नेछन् भने माओवादीबाट तय भइसकेको छैन ।
माओवादी नेताहरू नरेश भण्डारी र महेन्द्रबहादुर शाही काठमाडौंबाट शनिबार साँझ मात्रै वीरेन्द्रनगर पुगेकाले छलफल हुन नसकेको जनाइएको छ । माओवादीका प्रदेश सभा सदस्य सीता नेपालीका अनुसार आइतबार बिहान दलको तर्फबाट बोल्ने प्रतिनिधि छान्ने र प्रदेश सभा सदस्यले पालना गर्नुपर्ने नीति—नियमबारेमा छलफल हुनेछ ।
पहिलो बैठकमा बोल्ने दलका प्रतिनिधिले शुभकामना तथा बधाई सन्देशसहित प्रदेशको समग्र विकासका बारेमा धारणा राख्नेछन् ।
यस्तो छ पहिलो बैठकको कार्यसूची
प्रदेश सभा प्रमुखको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने स् प्रदेश सभा प्रमुख दुर्गाकेशर खनालले प्रदेश ६ को पहिलो अधिवेशन बोलाएको पत्र पढेर सुनाउने कार्यसूची छ । सचिव खड्काले दिएको जानकारीअनुसार प्रदेश प्रमुख खनालले पठाएको पत्र पढेर सुनाएपछि सभाको अन्य काम–कारबाही अगाडि बढ्नेछ ।
चार दलका चारजना सदस्यले बोल्ने स् प्रदेश सभा ६ मा प्रतिनिधित्व गर्ने एमाले, माओवादी, कांग्रेस र राप्रपाका चारजना प्रतिनिधिले बोल्ने कार्यक्रम छ । दलहरूको आन्तरिक सहमतिमै बोल्ने सांसदहरूको टुंगो लगाइनेछ ।
प्रदेश सभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि पारित गर्ने स् प्रदेश सभा सञ्चालनका लागि कार्यविधि तयार नभएकाले अन्तरिम कार्यविधि तयार गरिएको छ । संघीय संसद् सचिवालयको सहयोगमा तयार भएको मस्यौदामा दलहरूले सहमति जनाइसकेकाले पहिलो बैठकमा प्रदेश सभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि पेस भई पारित हुने सचिव खड्काले बताए ।
सभामुखको निर्वाचन गर्ने दोस्रो बैठक २९ माघमा स् प्रदेश सभाको पहिलो बैठकले सभामुख निर्वाचित गर्ने मिति तय गरी दोस्रो बैठक बोलाउनेछ । सर्वदलीय बैठकमा भएको सहमतिअनुसार २९ माघमा प्रदेश सभाको दोस्रो बैठक बोलाउने र सोही दिन सभामुखको निर्वाचन हुनेछ ।
सांसदलाई डेरा खोज्न हैरान स् कोही आफन्तकोमा, कोही होटेलमा
प्रदेश सभाको २१ माघमा बस्ने पहिलो बैठकका लागि प्रदेश ६ का सांसद अस्थायी राजधानी वीरेन्द्रनगर पुगेका छन् । तर, उनीहरूलाई बसोवासका लागि भने सकस भएको छ । कालिकोटबाट प्रदेश सभा सदस्य महेन्द्रबहादुर शाहीले भने, ‘कोठा खोज्दै छु । पहिलो बैठकलगायतका अन्य धेरै काम भएकाले अहिले होटेलमै बसेको छु ।’
प्रदेश सभा बैठकका लागि सुर्खेतबाहेकका जिल्लाबाट वीरेन्द्रनगर पुगेका अधिकांश सांसद होटेलमै बसिरहेका छन् । उनीहरूले कोठा भाडामा लिन समस्या भएको बताए । कोठा पाउनै मुस्किल भएपछि कतिपयले आफन्तलाई खटाएका छन् भने कसैले कार्यकर्तालाई ।
हुम्लाबाट प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले कोठा नपाएपछि होटलमै बसेर काम गरिरहेको बताए । उनले नयाँ पत्रिकासँग भने, ‘कोठा त खोज्नै पर्नेछ, अहिलेसम्म पाएको छैन ।’
जुम्लाबाट प्रदेश सभा सदस्य नरेश भण्डारी केही दिनदेखि होटलमै बसेका छन् । उनले भने, ‘कोठा खोजीमा छु । अन्य कामले खोज्न पाएको छैन, अब छिट्टै खोज्ने तयारीमा छु ।’
जाजरकोटबाट प्रदेश सभा सदस्य कृष्णा शाहले मुस्किलले कोठा पाएको बताइन् । आफन्त र चिनेजानेका मान्छेहरूको सहयोगमा तीनवटा कोठा पाएको उनले भनिन्, ‘काठमाडौंमा कोठा खोज्न सजिलो थियो, सुर्खेतमा गाह्रो भयो ।’ उनले वीरेन्द्रनगरको न्युरोडमा पाएको कोठाको अन्य व्यवस्थापनमा लागेकी छन् ।
आइपुगे सबै सांसद
२१ माघमा हुने प्रदेश सभाको पहिलो बैठकका लागि सबैजसो सांसद शनिबार वीरेन्द्रनगर पुगेका छन् । एमाले र कांग्रेसका सांसद यसअघि नै पुगेका थिए । माओवादी केन्द्रका मुख्यमन्त्रीको चर्चामा रहेकासहित अन्य सांसद शनिबार वीरेन्द्रनगर पुगेका हुन् ।
आफन्तको सहारा
शनिबार मात्रै डोल्पाबाट वीरेन्द्रनगर पुगेका प्रदेश सभा सदस्य वीरबहादुर शाहीले अहिले कोठा खोज्ने समय नभएको बताए । ‘अहिले साथीकोमै बस्ने योजनामा छु,’ उनले नयाँ पत्रिकासँग भने, ‘पहिलो बैठक सकिएपछि कोठा खोज्छु । आफन्त र साथीभाइलाई कोठा खोज्न आग्रह गरेको छु ।’
दैलेखबाट प्रदेश सभा सदस्य धर्मराज रेग्मी पनि आफन्तकोमै बसेका छन् । उनले भने, ‘अहिले आफन्तकोमा बसेको छु । नेता र कार्यकर्तासँग भेटघाट गर्नुपर्दा चिया खाने बहाना बनाएर होटेल जान्छु ।’ मन्त्रिमण्डल विस्तारपछि मात्रै कोठा खोज्ने उनको योजना छ । उनी अन्य सांसदका लागि कोठा खोज्न सघाइरहेका छन् । चिनजानका धेरै भएकाले अन्य सांसदलाई कोठा खोज्न खटाइरहेको उनले बताए ।










