बढ्दो चिसो र सितलहरका कारण मौरी मर्न थाले पछि सर्लाहीका मौरी किसानहरु चिन्तीत

 बढ्दो चिसो र सितलहरका कारण मौरी मर्न थाले पछि सर्लाहीका मौरी किसानहरु चिन्तीत बनेका छन् । विगत ३ साता यता सर्लाही सहित तराईमा बढेको अत्यधिक चिसो र सितलहरका कारण मौरीहरु घारमै मर्ने भए पछि मौरी किसान चिन्तित बनेका हुन । सर्लाहीमा करीब ३ सय ५० मौरी पालक किसान रहेका छन् । अघिल्ला वर्षहरुमा यो अवधिमा करीब ५÷७ पटक मह उत्पादन गरेको भए पनि यस पटक भने अत्याधिक चिसोका कारण मौरी चरणका लागि ननिस्किनु र घारमा भएका मौरीहरु समेत चिसोका कारण मरेका कारण उनीहरुले एक पटक पनि मह निकाल्न नपाएको लालबन्दी २ मा रहेको विनाम्जे कृषि सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण बम्जनले दुखेसो पोख्नु भयो । रामकृष्ण मात्र हैन सर्लाही नेत्रगंजकै अर्का मौरी किसान दुर्गा बहादुर खड्का समेत चिसोका कारण मौरी मरेको र मह उत्पादनमा कमी आएकोमा आफुहरुले लगाएको लगानी डुब्ने स्थितीमा पुगेको बताउनु हुन्छ । अन्य कृषि व्यवसायको विमा हुने गरेको तर मौरी व्यवसायको विमा कम्पनीहरुले विमा नगरि दिने भएको कारण आफुहरु थप मारमा परेको भन्दै यस तर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्ने नेपाल मौरी पालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले बताउनु भयो । सर्लाही मौरी उत्पादनको दृष्टिले बढी मह उत्पादन गर्ने जिल्ला मध्ये एक हो । यहाँ वार्षिक ४० देखि ५० टन मह उत्पादन हुँदै आएको छ । तर सरकारको बेवास्ता, वालीनालीमा विषादीको अत्याधिक प्रयोग, वन विनास र मौरी पालन व्यवसायीले पाउने अनुदान समेत कर्मचारी तन्त्रका कारण वास्तविक मौरी किसानले नपाएको कारण मौरी व्यवसायीहरुको व्यवसाय नै धरासायी भएको मौरी पालन किसान महासंघका केन्द्रीय लेखा समिति संयोजक रविकुमार कडरियाले बताउनु भयो ।




सम्बन्धित समाचार


error: Content is protected !!