सुन्तलाले दम्दालाका किसानको जीवनशैली वदलियो

जाजरकोट ः — दस वर्षअघिसम्म कुशे गाउँपालिका ५, दम्दालाका किसानलाई घरखर्च चलाउनै धौधौ पथ्र्याे । स्थानीयवासी घर खर्चका लागि भारत पुगेर मजदुरी गर्न बाध्य थिए । गाउँमा व्यावसायिक सुन्तला खेती सुरु भएपछि दम्दालावासीको आर्थिक अवस्थामा सोचेभन्दा बढी परिवर्तन आएको छ । पाखोबारीमा फलेको अन्नले छाक टार्नै धौधौ भएपछि उनीहरू सुन्तला खेतीमा लागेका हुन् । यहाँका किसानले सुन्तलाबाटै यो वर्ष ३ करोड बढी आम्दानी गरे ।
शक्तिबहादुर वली, कर्णबहादुर थापा, डिल्लीबहादुर थापा, वीरबहादुर मल्ल, शिव मल्ल, मानबहादुर थापा, शेरबहादुर मल्ल, शान्तबहादुर मल्ल, सर्जन थापालगायत ८५ कृषकका बगैंचामा फलेका सुन्तलाबाट उक्त आम्दानी भएको हो । व्यावसायिक सुन्तला खेतीले दम्दालावासीको जीवनस्तर उकासेको छ । सुन्तलाबाटै वलीले यस वर्ष १० लाखभन्दा आम्दानी गरे । १५ मेट्रिक टन सुन्तलाबाट उक्त कमाइ भएको उहाँले बताउनुभयो । बगैंचामा ३ हजार बिरुवाले फल दिएको र एउटै रूखबाट ५ सय दानासम्म फलेको उहाँले वताउनुभयो । सिँचाइबिनाको पाखोबारीको अन्न उत्पादनले छाक टार्न धौधौ भएपछि सुन्तलामा लागेको वलीले बताउनुभयो ।
व्यावसायिक सुन्तला खेतीमा लागेका दम्दालाका किसानले वार्षिक २ देखि १० लाखसम्म आम्दानी गर्छन् । स्थानीयको आर्थिक अवस्था विगतभन्दा सयौं गुना सुधार भएको उहाँको भनाइ छ । ‘सुन्तलाखेती हाम्रो गाउँको आर्थिक स्रोत मात्र होइन, परिचय पनि बनेको छ,’ उहाँले भन्नुभयो , ‘हरेक परिवारसँग कम्तीमा ३ सय बोट फल्न थालेका सुन्तला छन् । सिँचाइ सुविधा नभएको पाखोबारीमा सुन्तला देख्दा भाग्य नै फलेको जस्तो लाग्छ । विगतमा आयआर्जनका लागि मजदुरी गर्न भारत धाउनुको विकल्प थिएन ।’
दम्दाला गाउँ सुन्तलाको पकेट क्षेत्र मानिएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. श्रीराम घिमिरेले बताउनुभयो । दम्दाला गाउँमा ५ सय मेट्रिक टन सुन्तला फलेको डा. घिमिरे बताउँनुहुन्छ । गत वर्षभन्दा १० प्रतिशतले उत्पादन घटेको उहाँले बताउनुभयो । बिरुवा बुढो हुँदा र विभिन्न रोगका कारण उत्पादन घटेको उहाँले बताउनुभयो । किसानलाई तालिम, औषधि, प्रविधि, आर्थिक अनुदानलगायत उपलब्ध गराएर व्यावसायिक सुन्तला खेतीमा आकर्षण बढाएको उनको भनाइ छ । दम्दालाको ४५ हेक्टर जमिनमा सुन्तला लगाएको उहाँले जनाउनुभयो ।
सुन्तलाबाट मनग्ये आम्दानी हुने भएपछि यहाँका किसान यसतर्फ बढी नै आकर्षित भएको घिमिरे बताउँछन् । किसानले बगैंचामै प्रतिकिलोको ७० रुयैयाँसम्म सुन्तला बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । दम्दालाका सुन्तला किसानलाई बजारसम्म र्पुयाउन भने कठिन छ । यातायात, कोल्ड स्टोर र उत्पादित सुन्तला जिल्ला खपत नहुँदा समस्या भएको हो । बगैंचाबाट निकालेका सुन्तला बिक्री गर्न कठिन भएको प्रगतिशील युवा कृषि सहकारी ढिमेका अध्यक्ष जगत खडकाले बताउनुभयो । जिल्लामै खपत हुन नसकेपछि छिन्चु, कोहलपुर, नेपालगन्ज र सुर्खेतका बजार निर्यात भईरहेको छ ।










