सशस्त्र प्रहरी वलमा थप पांच एआईजीको दरवन्दि थपिंदै

काठमाडौं– सशस्त्र प्रहरी वलमा पांच जना एआईजीको दरबन्दी थप हुने भएको छ । गृहमन्त्रालय स्रोतकोअनुसार विहिवार वस्ने मन्त्रिपरिषदको बैठकले सशस्त्रमा पांच जना एआईजीको दरबन्दी स्विकृती गर्दैछ ।
गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका सहसचिव नारायण प्रसाद शर्मा दुवाडिको संयोजकत्वमा गठित अध्ययन समितिले पांच एआईजीको दरवन्दि थप्न सिफारिस गरेको हो । समितिले बुधबार गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।
मुख्यसचिव लोक दर्शन रेग्मीले गृह सचिव मोहनकृष्ण सापकोटालाई एआईजी सिफारिसका लागी समिति गठन गर्न निर्देशन दिएका थिए । गृहले गठन गरेको समितिमा अर्थ र गृह मन्त्रालयका एक एक जना उपसचिव तथा सशस्त्र प्रहरी वलको तर्फबाट डिआईजी चिरञ्जिबी अधिकारी र सशस्त्रकै कर्मचारी प्रशासन शाखाका डिएसपी भुपेन्द्र केसि सदस्य थिए ।
नेपाली सेना र प्रहरीले प्रत्येक प्रदेशमा विशिष्ट श्रेणीको दरबन्दी खटाएको भन्दै सशस्त्रले पनि क्षेत्रमा एआईजी खटाउने भन्दै दरबन्दी थपको लागी लविङ गर्दै आएको थियो । दरबन्दी थपको लागी एआईजीको लाइनमा रहेका डिआईजीहरु लविङमा थिए ।
डिआईजीहरु जानकिराज भट्टराई, निराक्रमबिक्रम शाह, सुवोध अधिकारी र खडानन्द चौधरी एआईजी बढुवाको लाइनमा छन् । दरवन्दि थप नभए डिआईजीको पांच वर्षे सेवा अवधिका कारण आगामी चैत ११ गते उनिहरु सवैले अनिवार्य अवकास पाउने निश्चित छ ।
हाल सशस्त्रमा ६ जना एआईजीको दरबन्दी छ । पांच एआईजीको दरबन्दी थप भएपछि सशस्त्रमा एआईजीको संख्या ११ पुग्ने भएको छ । दरवन्दी थप भएपछि सशस्त्रको एआईजीलाई प्रदेशमा खटाउने तयारी छ ।










