प्रधानमन्त्रीले सरुवाको चेतावनी दिएपछि एसएसपी रवीन्द्र धानुकले काटे सिलवाल विरुद्ध पक्राउ पूर्जी


काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा पूर्वडिआईजी एवं एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी भएको रहस्य खुलेको छ।
कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको आरोपमा सर्वोच्चमा मुद्दा खेपिरहेका सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले मंगलबार प्रहरी परिसर ललितपुरलाई पत्र काटेको थियो।
सिलवालविरुद्ध पक्राउ पूर्जी जारी गर्नुअघि काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकले प्रधानमन्त्री देउवालाई मंगलबार बेलुुका ४ बजे बालुवाटारमा भेटेका थिए।
स्रोतका अनुसार त्यसअघि प्रधानमन्त्री देउवाले ‘नवराज सिलवाललाई थुन्नु’ आइजीपी प्रकाश अर्याल र मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत् एसएसपी धानुकलाई निर्देशन दिएका थिए।
तर, धानुकले सिलवाललाई थुन्न नमिल्ने बताएपछि देउवाले मंगलबार बालुवाटार डाँकेका थिए।
प्रधानमन्त्रीसँगको भेटमा पनि धानुकले सिलवलालाई थुन्न नमिल्ने बताएका थिए।
तर, प्रधानमन्त्री देउवाले सिलवाललाई जसरी पनि थुन्नुपर्ने र आफ्नो आदेश नमाउने काठमाडौं प्रहरी प्रमुखमा एसएपी प्रद्युम्न कार्कीलाई ल्याउने चेतावनी दिएपछि धानुक पक्राउ पूर्जी जारी गर्न सहमत भएका थिए।
देउवाको यसअघिको प्रधानमन्त्रीकालमा धानुक उनका सुरक्षा अधिकृत थिए। फेरि प्रधानमन्त्री बनेपछि देउवाको चाहानामा नै धानुक काठमाडौं प्रहरी प्रमुख बनेका हुन्।
देउवाले यसअघि सिलवाललाई कसरी थुन्न सकिन्छ भनेर सुदूरपश्चिमबाट एआइजी बनेका जयबहादुर चन्द र हेमन्त पालसँग छलफल गरेका थिए।










