प्रचण्ड जिताऊ अभियानमा राष्ट्रिय कलाकारहरु दिन रातै चितवनमा निरन्तर सास्कृतिक प्रचारमा

चितवन
चितवन क्षेत्र न-३ का प्रतिनिधि सदस्य उम्मेदवार,पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट प्रतिनिधि सभा सदस्यमा विजयी गराउन भन्दै दर्जन भन्दा बढि राष्ट्रिय कलाकार चितवन खनिएका छन् । चितवन क्षेत्र न- ३ मा ‘प्रचण्ड जिताऔं साँस्कृतिक अभियान’ नै सञ्चालन गरेर बसेको कलाकारको टोलिले दैनिक साँस्कृतिक प्रस्तुति दिँदै प्रचण्डका लागि भोट मागिरहेका छन् ।
चितवनका चोक र बजारमा हरेक दिन ८-१० वटा कार्यक्रम गर्दै कलाकारहरुले प्रचण्डको चुनावी प्रचारलाई तीब्र बनाएका छन् । मंसिर ८ देखि सञ्चालन भएको साँस्कृतिक अभियानले चितवनको चुनावी माहुल प्रचण्डको पक्षमा तान्न मद्दत गरेको कलाकारहरुले बताएका छन् ।
सदावहार गायक भनेर चिनिने लोक तथा दोहोरी कलाकार बद्री पंगेनी प्रचण्डको साथमा सुरु मै चितवन पुगेका थिए । चितवनको चुनावी सभामा उनले ‘देश बनाउने जिम्मा प्रचण्ड कै हातमा छ’ भन्दै गित गाउँदा हजाराैं दर्शकले साथ दिएका थिए । थुप्रै चुनावी गीत बजारमा ल्याई सकेका गायक पंगेनी डेढ हप्तादेखि प्रचण्डको चुनावी अभियानमा व्यस्त छन् ।
उनको ‘सहि पनि वामपन्थी, मै पनि वामपन्थी’ बोलको गीतले चुनावी बजार तताएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा ‘मै पनि एमाले, सै पनि एमाले’ गीत पंगेनीले गाएका थिए ।
त्यस्तै लोक तथा दोहोरी गायक विष्णु खत्री पनि प्रचण्डको चुनावी अभियान अन्तरगत चितवनका मतदातासँग भोट माग्न व्यस्त छन् । चुनावी सभाहरुमा प्रचण्ड पुत्र स्व. प्रकाश दाहाललार्इ सम्झँदै खत्रीले ‘देश बनाउन लडेको हो भूल गरेको हैन, सम्झि सम्झि नरोउ आमा म मरेको छैन’ बोलको गीत गाउँदा उपस्थित दर्शकका आँखा रसाएका थिए । मञ्चमा रहेका प्रचण्ड र प्रकाश की अामा सीता समेत भावुक भएकी छिन।
हाँस्य कलाकार सुरविर पण्डित पनि यतिबेला प्रचण्ड जिताउन भन्दै चितवन पुगेका छन् । प्रचण्डलाई जिताउन आफ्ना हाँस्य व्यङंय प्रस्तुति मार्फत मतदातासँग उनले भोट मागिरहेका छन् ।
त्यस्तै युवा गायक नविन खड्काले पनि प्रचण्डको चुनावी अभियानलाई भरपुर साथ दिइरहेका छन् । ‘सबै सबै जनतालाई अधिकार दिदैं, गाउँ नगरमा सिंहदरबारमा ल्याए उनले सिधै, यसकारण प्रचण्डलाइ भोट दिनु है, गोलाकारभित्रको हसिया हथौडा मै’ भन्ने गीतले चितवनका मतदातालाई उत्साहि बनाएको प्रचण्ड जिताऔं साँस्कृतिक अभियानका संयोजक सुदिप सुवेदीले बताएका छन । खड्काको उक्त गीतमा हजारौ दर्शकले मनोरञ्जन लिइ रहेका छन।
संगितकार चेतन सोपकोटा पनि सुरु देखि नै प्रचण्डको चुनावी क्षेत्रमा पुगेर आफ्ना प्रस्तुति मार्फत भोट माग्न व्यस्त छन् । ‘जनता भन्छन् केहि गरे प्रचण्डले गर्छ’ भन्ने उनको गीतमा दैनिक हजारौँ दर्शक नाच्ने गरेका छन् ।
लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेल पनि प्रचण्ड विना कुनै हालतमा मुलुक समृद्ध बन्दैन भन्दै मतदातासँग भोट माग्न व्यस्त छन् । उनले हाँस्य प्रस्तुति सँगै प्रचण्डलार्इ भोट माग्दै आएका छन् । त्यस्तै द्वन्द् निर्देशक राजेन्द्र खड्गी पनि यतिबेला चितवनमा भोट माग्न आइ पुगेका छन् । उनले मन्तव्य मार्फत प्रचण्ड जिताउनु पर्ने भन्दै मतदाताहरुसँग मत मागिरहेका छन् । उनको साथमा नेपाली फिल्मी क्षेत्रका क्यामेरा म्यान राजेश घिमिरे पनि प्रचण्ड जिताऔँ अभियानमा सक्रिय बनेका छन् ।
हास्य कलाकार सुबोध गौतमको क्यारिकेचरले पनि यतिबेला चितवन तताएको छ । राजनीतिक दलका शीर्ष नेताको आवाज जस्ताको तस्तै नक्कल गर्न सक्ने गौतमले नेताहरुकै आवाजमा प्रचण्डलाई भोट मागिरहेका छन् । त्यस्तै गायक डिजराज पौडेलले ‘तिमि आउने बाटोमा फुल रोपि दिए तर तिमि आइनौं’ बोलको गीत गाउँदै मतदाता फकाउने गरेका छन् ।
‘विकासको लागि निकासको राम्रो नि प्रचण्ड, हाम्रो नि प्रचण्ड’ नामक गीतमा सन्तोस गुरुङ, नुमा घलेले जोडदार नृत्य प्रस्तुत गर्दै आएका छन् । उनीहरुको नृत्य हजाराैं दर्शकको मुख्य आकर्षण बन्ने गरेको छ ।
प्रचण्ड जिताउने अभियानका साथ भोट माग्न चितवन अएका कलाकार मौन अवधिसम्म बस्ने अभियानका संयोजक सुवेदीले जानकारी दिएका छन । उनका अनुसार मंसिर ८ गतेदेखि निरन्तर चलेको अभियान सो अवधीसम्म चल्नेछ । हरेक दिन प्रचण्ड विना पनि कार्यक्रम भइरहेको छ । हरेक साँझ तीन चोकमा कार्यक्रम गर्ने गरेको सुवेदीले जनाएका छन।










